कविता
गुहार माग्दै बेमौसममा तिमी वर्षिन्थ्यौ
सेता सेता हिमाल तिमी त्यसै पग्लिन्थ्यौ
पीर परेर मुहार जहिल्यै कालो बनाउथ्यौ
तिम्रै शृष्टिद्वारा सृजित धुलो मैलोमा तिमी नै लटपटी रहन्थ्यौ
माछा तलाउ तल छटपटिरहन्थ्यो
धर्तीको अलि माथि ओजोन सतह मरिरहन्थ्यो,
तिम्रै कृत्रिम आविष्कार अनि भौतिक जीवन उज्यालो पार्दा पार्दै पृथ्वी अँधेरीमा रुमलिरहन्थ्यो
प्रदूषणमा जलेर प्राकृतिक छटामा वेदनाका भल बगिरहन्थे
सूक्ष्म देखि ठूला प्राणी तिम्रै बन्धन लीलाको किलामा घुमिरहन्थे
जन्जिरमा तिमीलाई बाँधेर मानव तिमीमा हाबी भए
मूर्ख मनुष्य ,तिमी माथि आफ्नो विजय चाहन्थिए
सयन भएन उसलाई कठोर पीडाको
त्यसैले प्रकृति सँगै डार्विन हजुरबुवा पनि जागे
रोग अनि प्रकृति सँग हार्नेलाई एक एक गरी छाँटे
छैन बन्धन कतै अहिले ,खुला छ आकाश
खुला छ धर्ती
स्वच्छ हावा, पानी
बेली चमेली लालीगुराँस
किरा फट्याङ्ग्रा जीव जन्तु
सबै खुलेका छन्, खुला प्रांगणमा खेलेका छन्
बन्द छन् त केवल मनुष्य
पुरिरहेकी छिन् प्रकृतिले आफ्नो घाउ
खोज्थ्यौ नि धेरै दाउ, चाल पायौ होइन बल्ल आफ्नो ठाउँ अनि भाउ
संस्कृति अनि परिवार भुलेका
पद प्रतिष्ठाकै होडमा दौडिएका
मीठो खान पल्किएका
आफैंलाई बिर्सिएका
निष्ठुरी हामी!!
थुनेर हामीलाई खुल्न सिकायौ,
हजुरामा बा सँगै भागवत सुन्दै हाम्रो संस्कार बढायौ,
परिवार सुखम् परम सुखम् भुझायौ
माया अनि सद्भाव नछोइकन बाँड्ने बनायौ
घिरौला,लौका ,गुन्द्रुक सिन्कीको महत्व बुझायौ
भोजन भन्दा भोक मीठोको रहस्य खुलायौ
परिवारबाट नै सामाजिक एकताको परिचय बुझायौ
दबिएका मनहरूलाई उत्खनन् गरायौ
घर घरबाट भरपुर विलक्षण प्रतिभा जन्मायौ
निस्सासिएकी ,निचोरिएकी तिमी
तिमीलाई बाँधेर खुलेका मनुष्य
आज तिमी खुलेर स्वयं बाँधिएका छन्
सायद यो जरुरी थियो
मानव जातिलाई पाठ पढाउनु थियो
मनुष्य तिमी केवल पाहुना शृष्टिको
राजा होइन प्रजा बनेर हिँड्न सिक
अलि अलि भए पनि झुक्न सिक
प्रकृतिले तिमीलाई जन्म दिएको
न कि तिमीले प्रकृतिलाई भनेर परीक्षा लिएको
उनी बाहिर खुल्दै छिन्
म पनि भित्रै खेल्दै खुल्दै छु
नखुलेका मन , मन लगाएर खोल्दै छु
अब त ,खुले मेरा आँखा
बन्धन मेरो खोलिदेऊ
मलाई पनि अंगाली देऊ
बिन्ती परीक्षा बन्द गरिदेऊ!!
बिन्ती परीक्षा बन्द गरिदेऊ !!!