उफ् ! घरबेटी बा
घरबेटी हुँ भनेर कति जताउनु हुन्छ ?
घरभाँडा बस्नेलाई कति सताउनु हुन्छ ?
कोठा बाहिर चप्पलको चाङ घरी घरी हेर्नु हुन्छ ।
इन्टरनेटको पासवर्ड पनि कति चोटि फेर्नु हुन्छ ?
बाथरूममा पानी पनि खटाई खटाई दिनु हुन्छ ।
हिजो ,आज , भोलि क्रमश: घटाइ घटाइ दिनु हुन्छ ।
महानगर आधा महिना आउँदैन फोहोर लिन
हजुर भने सोध्नु हुन्छ कोठा बाहिर फोहोर किन ?
दिन रातै डरै डरमा साँचो ठोकी बस्नु हुन्छ
तर पनि मिले सम्म घरभाँडा कस्नु हुन्छ ।
यत्रो घर छ बूढा बुढी दुई मात्र हुनुहुन्छ ।
अस्ट्रलिया, अमेरिका सम्झि सम्झि रुनु हुन्छ ।
तपाईंका सन्तान पनि उता घरभाँडामै होलान्
तपाईं जस्तै घरबेटी परे हामी रोए जस्तै रोलान्
उफ् ! घरबेटी बा
कैले तरकारी डढाए भन्नु हुन्छ , कैले खुर्सानी डढाए भन्नु हुन्छ
कैले रात भरि किताब हेरेर बिजुलीको बिल बढाए भन्नु हुन्छ ।
कहिले पाहुना बटुले भन्नु हुन्छ
कहिले दस दुनियाँ हुले भन्नु हुन्छ ।
उफ् ! घरबेटी बा
एक पटक सोच्नुस् त
हामी नभए तपाईं झन् कति एक्लो हुनु हुन्थ्यो ?
अस्ट्रेलिया, अमेरिका सम्झि अझै कत्ति रुनुहुन्थ्यो ?