प्रिय जुम्ला, एकाबिहानै तिमीमा पनि कोरोना देखियो रे भन्ने दु:खद् खबर सुन्दा हामी मर्माहित भएका छौं। एक्कासि यस्तो खबर सुन्दा मनमा कालो बादलले घेरेजस्तै भएको छ।
प्रिय जुम्ला, तिमीमा कोरोना देखियो रे भन्ने सुन्दा आँखाभरि टिलपिल आँसु भरिएको छ। एकै त तिमी एकदम टाढा दुर्गमको जहाँ ज्वरो आउँदा एक सिटामोल खान नपाएर हजारौं तिम्रा सन्तानले चट्ट तिमीलाई छोडेर गएको दिनहुँ पीडा सहँदै आएकी थियौं। फेरि पनि आज तिमीमा एक ठूलो बज्रपात पर्न थालेको छ। एक छाक खाना, नाना र सिटामोल नपाएर सन्तान गुमाउँदा गुमाउँदै तिमीमा फेरि डर लाग्दो कोरोनाले छोएको छ। तिम्रो कस्तो हालत भएको होला भन्ने म सोच्न पनि सक्दिनँ।
प्रिय जुम्ला, तिमीलाई कोरोना लाग्यो भन्दैमा नआत्तिनू, नडराउनू झन् होसियार हुनुपर्ने बेला आएको छ। तिमीले आफ्ना जुम्ली सन्तानलाई थोरै सम्झाइ, बुझाइ गर्यो भने अवश्य तिम्रा सन्तान तिमीसँगै हुनेछन्।
प्रिय जुम्ला, तिम्रा ती सन्तानलाई यतिमात्र सम्झाइबुझाइ गरी देऊ कि ‘हुलमुल नगर्नू ,हुलमुल भएको ठाउँमा नजानू, घरमै बसिराख्नू ,कहीँकतै नजानू, जानै पर्ने भयो भने पनि सुरक्षितका साथ मान्छेहरूबीच १ मिटर दूरीको कायम गर्नू,बारम्बार साबुन-पानीले अर्थात् सेनिटाइजरले हात खुट्टा धुनू, सफा गर्नू ,कोही नौलो मान्छेसँग नजिक नपर्नू, पर्नैपरे ३ फिटको दूरीमा कुराकानी गर्नू र बाध्यताले प्रदेश पसेका तिम्रा सन्तान तिमीलाई सम्झेर फर्की आउँदा तिम्ले क्वारेन्टाइनमा बस्नुपर्छ है भन्ने नियम पालना गर्न सिकाउनू।
प्रिय जुम्ला तिमीले यति मात्र तिम्रो प्यारा सन्तानलाई सम्झाइबुझाइ गर्न सक्यौ भने अकालमै तिम्रा सन्तानले तिमीलाई छोडेर जाने छैनन्। सदा तिम्रो साथमा तिमीसँगै रमाउने छन्।
प्रिय जुम्ला, म पनि तिमीदेखि निकै टाढा छु। यहाँ त झन् तिम्रो भन्दा बेहाल स्थिति छ कहीँ कतै नगएर घरभित्रै बस्न थालेको पनि लगभग तीन महिनाजति पुग्न लागि सकेछ।
तिमीसँग छुट्टिएको नि निकै वर्ष भइसकेछ। तिम्रो यादमा हामी परदेशी हरपल तड्पिरहेका छौं। तिमीलाई आपत पर्दा केही गर्नसक्ने तिम्रा सन्तानले आज तिमीसामु आउन पाएका छैनन्।
प्रिय जुम्ला, तिम्ले मन नदुखाउनू तिमीलाई चाहे जति गर्नसक्ने सहयोग हामी यतै टाढाबाट गर्नेछौं।
प्रिय जुम्ला, ती सुनौला दिन फेरि फर्केर आउने छन्, तिम्रा काखमा लुटपुटिन फेरि पनि हामी आइपुग्ने छौं। तातोपानीमा नुहाउने छौं , तिला नदीको चिसो पानी सँगै दानसाँघु गएर डुबुल्की हाल्ने छौं,वर्षौदेखिको प्यास मेटाउने छौं, अनि चन्दननाथ ,भैरवनाथ ,कनकासुन्दरी मन्दिरमा पुग्ने छौं। डाँफे लेखको चिसो हावा खाँदै कान्जेरुवा र पातारासी हिमाल हेर्नेछौं।
बिहानीपख चिमारा मालिका अनि ठाकुर ज्यूलाई स्पर्श गर्दै आएको घाममा लुकामारी खेल्ने छौं।
साँच्चै प्रिय जुम्ला, तिमीलाई धेरै सम्झेको छु भगवती,बाबिरामष्ट, मान्नेजन्य देवता सबैका दाहिने हुनेछन् जीवन सामान्य बन्नेछ।
प्रिय जुम्ला, तिमीले फलाका स्याउ, मार्सी धान,आरुबखडा मकै,जौ,कोदो आलु,आदि लटरम्म फलेका सबै खाने दिन आउनेछन्।
प्रिय जुम्ला, नआत्तिनू, नडराउनू तिमीसँगै बसेर दसैं, तिहार मनाउने दिन पनि आउनेछन् ,तिमीसँग रमाउँदै सुरमा सुर मिलाउँदै देउसिरे खेल्ने अनि भोज खाने दिन पनि आउने छन्।
प्रिय जुम्ला, आउँछौं हामी फर्केर तिम्रोसामु ढिलै भए पनि किन कुन्नि तिम्रो याद आइरहन्छ अचेल मेरो सपनी अनि विपनीभरि।
हाम्रो माया अजम्बरी जुनि- जुनिभरिलाई छ है प्रिय जुम्ला तिमीलाई।
समयले तिमीबाट हामीलाई धेरै टाढा पिराएको छ बिर्सेको छैन नै गृहजिल्ला तिमीलाई परिस्थितिले मात्र तिमीबाट टाढा बनाएको हो। के गर्नु तिमीसँगै बस्ने रहर त धेरै थियो हाम्रो सोचे जस्तो कहिले नहुने रहेछ।
प्रिय जुम्ला, आज तिमीलाई दु:ख परेको छ थाहा छ। आँसु नझारे है प्रिय जुम्ला हामी फर्केर आउने छौं। तिम्रो साथ दिने छौं।
तिमी कोरोनाको डरले नआत्तिएर बस है हामी फर्केर आउँदा फेरि पनि पहिलेको झैं हराभरा स्वस्थ, शान्त, अझै राम्रो बनाउने कोशिस गर्नेछौं हाम्रो प्रिय जुम्ला तिमीलाई।
उही तिम्रो परदेशी
बाल गोपाल देवकोटा