कविता
सँगै बस्ने साथ
आज छुटेका छन्
मनभरी हजारौं प्रश्नहरू उठेका छन्
किनकी म पनि एक नर्स
अनि बिरामी भेट्नु मेरो दैनिकी
मलाई भेट्दा अहो भाग्य भन्नेहरू आज
मेरो नजिक पर्न छाडेका छन्
बाटो एकै पर्ला भनि
वल्लो–पल्लो गोरेटो लागेका छन्
हो म हुँ नर्स
र रोग भएकाहरूलाई हेर्नु
मेरो जिम्मेवारी
त्यसो त म जस्ता अति जोखिम भएकाहरू
घरमै बस्नु भनेका छन्
तर मेरो लागि अर्को विकल्प छैन
के हो व्यक्तिगत जीवन मेरो लागि
मेरो हातमा भएन
म मरे पनि यति भित्रै मर्नु पर्छ
नलडे सम्म मैले बिरामीको सेवा गर्नुपर्छ
त्यसैले त म पनि एक नर्स
आफ्नै हो भन्नेहरू सँगै हुन्छु भन्नेहरू
पर पुगेर,
टुलु–टुलु हेर्दै बसेका छन्
कुनै पश्चाताप छैन मलाई
म नर्स हुनुमा, मेरै इच्छा थियो
अनि आफन्त भन्नेहरू
सायद मेरो भाग्य थियो
भन्छन् दुःखमा मान्छे चिन्नु पर्छ
सुख त भ्रम हो
पीडा मा हाँस्नु पर्छ
खुसी सबै क्षणिक हो
हुन त मेरो पुर्खाहरू
साहसी थिए अरे
मेरै वंशमा धेरैले
विरगती पाए अरे
आफ्नो मात्र होइन
संसारको युद्धमा
वीर योद्धा बनेका छन्
त्यसैले त वीर गोर्खाली भन्ने सम्बोधन पाएका छन्
अनि,
अनि आज म त्यस्तै युद्ध लड्दैछु
फरक यत्ति मात्र छ
औषधि मेरो हातमा
हतियार को रूप
अनि शत्रु अदृष्य
मलाई कसरी वाण लाग्छ
कहाँ बाट निशाना म बन्छु
थाहा छैन,
गन्तव्य कहाँ सम्म हो ?
थाहा छैन
तै पनि,
मैले लड्नु छ यो लडाइँ,
मृत्यु परन्त लड्नुछ
किनकी म नर्स
उपचारमा रहेका बिरामी,
मेरो परिवार