म खोजिरहेछु आफैँभित्र एउटा बुद्ध
म सोधिरहेछु आफ्नै मन मष्तिकलाई
मभित्र छ कि छैन एउटा बुद्ध?
सारा सुख सुविधा त्याग्न सक्ने त्यो त्याग शक्तिलाई
अंगाल्न सक्ने शक्ति छ कि छैन मभित्र?
रीसका अंगारहरुले जलाउँदा मलाई भित्र-भित्रै
हिउँ बनेर चिस्याउने त्यो शक्ति छ कि छैन मभित्र?
निभ्न खोज्दा आफ्नै ह्रृदयका ज्ञानका ज्योति
त्यो ज्योतिलाई बाल्न सक्ने शक्ति छ कि छैन मभित्र?
फगत हाड र छाला भित्र थुप्रिएका मासुका डल्लाहरू
मेरा वरिपरि बुनिएका ती मायाका जालहरुलाई
तोडेर हिड्न सक्ने त्यो शक्ति छ कि छैन मभित्र?
म गर्दैछु प्रश्न आज आफैँलाई
आफ्नै ह्रृदयलाई नढाटिकन जवाफ दिन सक्ने
त्यो सत्यता छ कि छैन मभित्र?
खोजे त भेटिएलान् यहाँ बुद्ध पनि
तर मैले मभित्र एउटा बुद्ध भेट्छु कि भेट्दिन?
उम्केला कसरी बाजको त्यो पञ्जाबाट?
निरही त्यो स्यानो कुखुराको चल्ला
उम्केला कसरी बाघको त्यो पञ्जाबाट?
निरही त्यो हरिणको बच्चा
पढाउँछु कि पढाउँदिन मैले मभित्रको बुद्धलाई?
शान्तिका ती पाठहरू
चितामा सेलाउनुभन्दा अगाडि नै
सेलाउँछन कि सेलाउँदैनन् मभित्रका अहंकारहरू?
जस्ले रोकिरहेछ मभित्रको बुद्धलाई भेट्नलाई
काँडाहरू पन्छयाउँदै जाँदा
हातमा आनि पाउभरी बिझाउँने ती काँडाहरुलाई झेल्न सक्ने
त्यो सहनशक्ति छ कि छैन मभित्र?
मैले खोजेको मभित्रको एउटा बुद्धसँग
घायल भई छटपटाउँदा मानव ह्रृदयहरू
मल्हम लगाउने शक्ति छ कि छैन मसँग?
कोर्दै छु म मभित्रका सरल रेखाहरू
जस्लाई जोडेर म बनाउन चाहन्छु एउटा बुद्ध
जस्मा भर्नेछु म सेता टक्कर फूलका रङ्गहरू
जहाँ उड्ने छन् पखेटा फिजाएर सेता परेवाहरू
झुसिल्किराबाट भर्खरै पुतली बनेर उडेकी
त्यो सेतो पुतली फेरि नाच्नेछे सेतै गुलाफका फूलहरुसँग
ऐनामा स्पष्ट देखिएको आफ्नै अनुहारसँग
म सक्छु कि सक्दिन भन्न खोज्दैछु म एउटा बुद्ध
जस्लाई भेटनु छ मैले आफैँ भित्र
एउटा उज्याल्येा दियो बनेर
जो बल्दा बल्दै रितिन्छ
फेरि पनि कुनै गुनासो गर्दैन
त्यही उज्यालो बत्ती बनेर आफैँलाई जलाउन सक्ने
त्यो इच्छाशक्ति छ कि छैन मभित्र?