करोडौं सपनाहरुको विक्षिप्त लाशमा
‘दैवी न्याय’ र ‘सतिको श्राप’को संयुक्त इजलासमा
मेरो कब्ज आकाश,
र ‘सातु’को आश जेलचलान भो रे!
अब बिसे नगर्ची मुग्लान भो रे!
नाङ्गो बादशाहका तमाम पोशाकमा
मेरो छोराका लाख अनुत्तरित प्रश्नसामु
शब्द-शुन्य म!
अवाक्,
‘लगाम र लगाव’ बिनाका साहबहरुको अट्टहास बहाबले
भत्केको भित्तोको अस्तित्वले चेपिएर
कुप्रिएका हामी! दोब्रिएका हामी!
हामी, उही ‘भूपी’का ‘हामी’!
हजुरबाका 'बा'ले कोर्दिएका पहाडी मार्गका रुग्ण चित्र!
इज्जत लुटिएका प्रकृति-प्रदत्त हिमालको प्राणभित्र,
मुन्टो जोतेर उंघेको-उंघ्यै छौं दशकौं!
शिरमा निस्तेज आगो!
पैतालामुनी कहिल्यै जीर्णोद्धार नहुने सडक!
र दृष्टिहिन नजर बोकेर, खै के रुंघेको-रुंघ्यै छौं शताब्दीयौं!
हाय हाय!
पर्खालवारि बेबारिस ‘नन्दलाल’ या ‘कृष्णलाल अधिकारी’ का लाश
र लुटिएको ‘मकैको खेती’को सास!
अनि पर्खालपारि कृष्ण-मनका ‘अधिकारी’का दोहोरिँदा आश!
हे लोकतन्त्र, तेरो यो कत्रो अवेद्दय पर्खाल!
तेरा यी असंख्य बादशाहका चाल!
बाघचाल!
अनि म- कुम्भकर्ण!
कानुन नछिर्ने हवेली र सवारीको उर्दीले
हामी- वाकशुन्य पार्थिव तनका सम-वर्ण!
रणमा चिनिएको तर दैलामा छिनिएको,
मुर्कट्टा- भीम शरीर
पुच्छरमा झुन्डिएर पिनिएको- हाम्रो भिम शिर
सामुन्ने थुप्रै रक्तबिज बादशाहहरु!
क्रुर समयको यो लय,
टुलुटुलु स्तब्ध आँगन घेरिरहन्छ
शब्द, शान र स्वाभिमान गुमेको एकलव्य
पर्खालपारीको इजलास मन्चन हेरिरहन्छ
सिर्फ कोमामा भएकी आमा इशारा गर्छिन्-
हेर उ त्यो छेउको चोइटिएको रेखा
हेर उ त्यो बीचको उर्लिएको खहरे!
मेरै काली सेती खोला जस्तो छ,
अब फेरिबाट ‘मकैको खेती’ होला जस्तो छ!