कविता
कसैको पाइला पछ्याउँदै
केही नहुँदा अब त केही हुन्छ कि भन्दै
तँ सम्म आइपुगेको थिएँ म पनि
जीवन जिउने आधार खोज्दै
समृद्धि को सपना बुन्दै
तर तँ त पापी रहेछस सहर
तँ सारै जाली रहेछस
तैले विश्वास निल्दो रहेछस
नाता भुल्दो रहेछस
सहज हुन्जेल मात्रै आफ्नो भन्दो रहेछस
असहज भएपछि चिन्दैन रहेछस
आशा देखाएर राखिस दुई चार दिन
गोजी खाली भएपछि धकेल्दो रहेछस
तँ सारै पापी रहेछस सहर
तँ सारै जाली रहेछस ।।।
हुन त मेरो एक भोट तँ लाई काम दिएन
म सँगको नाता तँ लाई आफ्नाे भएन
तेरो र मेरो देश एउटै हो तँ लाई थाहै भएन
अझ भनौं म सँग तेरो कुनै नातै रहेन
तर, तँ सहर हुन लाई
मेरो परिश्रमको पनि त देन थियो
तँ लाई सिँगार्न मेरा हत्केलामा चिरा अनि
तेरो खाल्डो पुर्न पैतालामा डोब थियो
म जस्ताको पसिनाले भिजेर भएको सहर तँ
मलाई नै आज नचिन्ने भइछस
संकट मा आफ्नो भन्न नजान्दो रहेछस
अभावमा मानो भर्न नसक्दो रहेछस
तँ मात्रै बोक्रो रहेछस सहर
तँ भित्र खोक्रो रहेछस
म आफैं भरिँदा आफ्नो भन्दो रहेछस
खाली हुँदा तँ झन खाली हुँदो रहेछस
तँ सारै पापी रहेछस सहर
तँ सारै जाली रहेछस !!!
हुन त तँ माथि विश्वास गर्नु मेरै भ्रम हो
पटक पटक भरोसा गर्नु मेरै गल्ती हो
न दसैं मा पाँच दिन पाल्न सक्या थिस
न ओछ्यान पर्दा तातो पानी खुवाउन सक्या थिस
तर पनि मैले अफ्नो ठानी रहेँ
जति धकेले पनि फर्किरहेँ
तर अब कुनै नाता सम्झेर म फर्कन्नँ
म र मेरो गाउँ नहुँदा
तँ कसरी सहर रहन्छस र, तेरो को हुन्छ
त्यो नबुझाइ फर्कन्नँ
संरचनाको सहर तँ लाई संस्कार नसिकाइ फर्कन्नँ
भरी गोजी को नाता मात्रै जान्ने तँ लाई
मानवताको नाता नबुझाइ फर्कन्नँ
किनकी त सारै स्वार्थी रहेछस सहर
त सारै मतलबी रहेछस
केही हुँदा मात्रै आफ्नो भन्दो रहेछस
केही नहुँदा जबर्जस्त धकेल्दो रहेछस
त सारै पापी रहेछस सहर
त सारै जाली रहेछस !!!