आइजा कोरोना
पटक्कै डर लाग्दैन तँसँग
अहँ !
बिल्कुलै लाग्दैन।
तँलाई के थाहा
पटक पटक
सयौं पटक
कयौं पटक
मरेर बाँचेको हुन्छ
गरिब !
बाको च्यातिएको कमिज
अनि
आमाको फरिया फेर्न
लालाबाला र जहान
खिस्स हाँसेको हेर्न
सके खरको छानो फेर्न
आफ्नो माटो भन्दा कोशौं पऽऽऽर
दुःखको भुमरीमा हेलिएका गरिबलाई
के तर्साउलास् कोरोना !
आइजा लखेट
अझै लखेट
खा !
मुटु, कलेजा र फोक्साहरू
जुन पहिल्यै अभावले खाइसकेको छ ।
चुइँचुइँ फुक्दा पनि
नबलेर चिसो चुल्हो
चाल्नोजस्तै बनिसकेको
आमाको फोक्सो
अनि छियाछिया
मुटु कलेजाहरू
जन्मँदै प्वाल परिसकेका फोक्साहरू
तँ के प्वाल पार्लास् कोरोना
पहिल्यैदेखि
हिँड्दैनथ्यो सजिलैसँग मुटुमा रगत
तँ के छेक्लास् रगतको बाटो
के खालास् रोगी कलेजाहरू ।
औल र कालाजारले
भत्भति पोल्दा
सिटामोल नपाएरै, नखाएरै
ज्वरो पचाएको निधार हो यो
पखाला लाग्दा
टाऽऽऽढाको पानी नपाएर
काकाकुल बनेको छाती यो
तैंले चिर्नुअघि नै
चर्चरी चिरिएका पैताला
हेर्न आइजा !
आँगनमा
ढोकामा
मझेरीमा
चुल्हामा
कराही, कसौंडी
थाल, बटुको
तैंले रित्याउनुअघि नै
रित्तै छन् ।
थाहा छ तँलाई !
हामी भुइँ मान्छेले
साना सपनाहरू
मुग्लानतिरै
मिल्काएर आयौं ।
पाऽऽऽरिबाट कयौं माइल
नांगा पैतालाले नापेर
घस्रँदै घस्रँदै घरतिर
घरैको माटो टेक्न
बल्लबल्ल उभिएका नलिहाडहरू
तँ के दुखाउलास् कोरोना
लखेट !
भोकसँग नडराएको मुटु
तँ नाथेसँग के डराउला !
जीवनमा,
तँजस्ता थुप्रै भाइरसले छोएर गए
हाम्रो गरिबी देखेर रोएर गए
तँ के रुवाउलास् खै !
देखिनस् !
जनयुद्धताका
गरिब, बलीको बोको बन्यो
बन्दुक भिर् भने !
भि¥यो !
बंकरमा छिराए
छिर्यो !
देशका लागि लड्नुपर्छ भने
लड्यो ! तर
कहल्यै उठ्न नसक्ने गरी !
रूप फेर्ने भाइरस र
रंग फेर्ने नेता
उस्तै लाग्छ हाम्लाई ।
सत्तामा उक्लने भाइरसहरूलाई
उकालिरहने काँध हो
त्यसैले डर लाग्दैन तँ सँग
जत्ति डर
रंग फेर्ने नेतासँग लाग्छ ।
हाम्रै काँधमाथि उभिएर
भाइरस सत्तामा चढ्यो
अचेल त्यै सत्ताको भाइरस
गरिब मारिरहन्छ
कोरोना, तँ के मार्लास् !
अस्ति भन्थे बडेबा
तँ नाथे !
बोसामा बेरिएको हुन्छस् रे !
आँखाको बाटो हुँदै
फोक्सो छुन्छस् रे !
त्यसैले,
तँलाई पगाल्न
टन्टलापुर घाममा
सडकैसडक परेड खेलेका
हामी ।
मनतातो पानीले पखालिन्छस् रे !
त्यसैले घाम र आकाशे पानीले पखाल्न
सत्ताले सडकमा ओरालेको
मजबुत मजदूर तँसँग डराउँदैन ।
त्यसैले आइजा कोरोना
मुग्लानदेखि सडकसम्मै
सडकदेखि घरसम्मै
पच्छ्याएरै आइजा
ठेला उठेका हत्केला हेर्न
बस्तीबस्तीमा आइजा ।
रंग नफेरिएको गरिब हेर्न
झुपडीमा आइजा ।
स्वागत छ कोरोना !