कविता
सधैं ट्याक्सी हाक्ने ऊ
आज आफैंलाई हाँकेर पुर्याएछ अस्पताल
हन हन ज्वरो सास फेर्न गाह्रो
बन्द सबै एक्लै डेरामा थियो बेहाल
जाँदा जाँदै उसले सम्झिएथ्यो
आफ्नो मायालु श्रीमतीलाई
फेरि सानो हाँसी रहने काखे छोरो
अनि हुर्के खेलेको धरतीलाई
ठ्याक्क बाह्र वर्ष भएछ छोडी आएको
यही साल त पक्कै जान्छु भन्दाभन्दै
यस्तै यस्तै सोच्दा सोच्दै अस्पतालमा
बल्ल तल्ल थेगिएर पालो गन्दा गन्दै
कोभिड-१९ ले गलिएको ऊ
अब त बाँच्छु भन्ने आशा पलायो
घण्टौं पाइला अघि सार्दा सार्दै
बल्ल बल्ल काउन्टरमा बोलायो
लाँदै थियो एक पछि अर्कोलाई भित्र
तर उसको मात्र मुटुलाई चर्कायो
एक मात्र आश डाक्टरको थियो
सिकिस्त छैन भनि अस्पतालले फर्कायो
रूँदा रूँदा विचरा बेसहारा भयो
औषधि गरी बिसेक हुने इच्छा थियो
यति विशाल देश यत्रा यत्रा अस्पताल
भुइँमा थ्याच्च बसी लामो सुस्केरा लियो
पत्रिकामा छापियो फोटो सहित खबर
एउटा अर्को नेपाली कोरोनाले मर्यो
रोकिएन आँसु झरिरह्यो फोटोमा
श्रीमती मुर्छा परिन् छोरो बेस्सरी रोयो
उपचार नपाएर मर्नु कस्तो मरण
सुन्दा पनि मन बिझाउने
अब कसरी भेट होला सधैंको बिछोड
बर! श्रीमतीले चित्त कसरी बुझाउने