दिनको करिब सवा ४ बजेको थियो होला। फुङ्ङ उडेको अनुहार जहाँ कुनै आशाको धर्सो छैन, कुनै कुराप्रतिको मोह छैन। अनि १६ दिन नकाटेका रुवाजस्ता सेता दारी। त्यसमाथि चारै दिशा फर्केका नसमेटिएका लामा लामा सेता कपाल।
लाग्छ हात खुट्टाका नङले पनि ठेलमठेल गर्दै मलाई काट भनेर अनुरोध गरिरहेका छन्। यस्तै शारीरिक भागभंगिमा सहित शर्मा सर घरको गेटमा उभिएर अमिलो डकार मुखमा आउँदा जस्तो झुसिलो अनुभुतिका साथ १२ आना जग्गालाई समेटी बलियो पर्खालभित्र बनाइएको सुन्दर घरलाई माथिबाट नियाले।
आफ्ना आँखा तेस्रो, दोस्रो, पहिलो र भुँई तला हुँदै करिब एक महिना अगाडि किनेको हुन्डाइ भेनुको नयाँ कार अनि दुवोको गार्डेन, त्यसको छेउमा रहेको आराम चियर र आफू विभिन्न देश जाँदा ल्याएका नयाँ-नयाँ फूल सबै-सबैमा विस्तारै डुलाए। ती कनै कुराप्रति पनि उनको मोह नभएको उनको अनुहारमा प्रष्ट झल्किन्थ्यो।
घरको दायाँतर्फ गेटको नजिकै रहेको तुलसीको मोठमा जब उनको आँखा पुग्यो, अनि उनी कलेटी परेका ओठ थरथराउँदै सुक्कसुक्क रुन थाले। विजुली चम्किदा जस्तै आमा.....भन्दै एकै निमेशमा तुलसीको मोठमा पुगे। दुवै घुँडा टेकेर थचक्क बस्दै मोठमा रहेको सालिग्रामलाई चरप्प समाते। ठूलो आँधीहुरी आउँदा भुँइको धुलोमैलोलाई जोडले हावाले हुँडले जस्तै उनका विगतहरु एकैचोटी स्मृति मन्डलमा हुँडलिन पुगे। लाग्थ्यो उनका स्मृतिहरु ठेलमठेल गर्दै अभिव्यक्त भएका छन्।
केही आँसु बनेर।
केही चरप्प कसिएका दाँत, थरथर काँपेका ओँठ र फतक्क गलेको शरीर बनेर।
त केही भासिएको स्वरमा निस्किएको आमा शब्द बनेर।
शर्मा सरले आमालाई मुक्तिनाथ लैजाँदा उतैबाट आमाको रोजाइमा किनेर ल्याएको सालिग्राम थियो त्यो। आमाले भन्नु भएको थियो- सालिग्राम विष्णु भगवानको प्रतिक हो। सालिग्रामलाई घरमा राखेर पूजा गर्नाले शान्ति, श्रीवृद्धि र पारिवारिक सुख प्राप्त हुन्छ।
आमाप्रतिको विश्वास र सालिग्रामप्रतिको रोशलाई सुकसुके आवाजमा राख्दै भने- खै त आमा, सालिग्रमले मलाई न्याय गरेको? कि मैले हजुर खसेपछि सालिग्रामलाई खुसी गराउने गरी पुजा गर्न जानिन?
लामो साससहितको केही क्षणको मौनतापछि अघिल्लो वर्ष आमाको मृत शरीर घाट लान अगाडि राखिएको तुलसीको मोठको छेउको ठाउँलाई पनि विस्तारै सुम्सुमाए। निधारले त्यो भूमिलाई स्पर्श गरे। अनि सुस्तरी उठेर गेटतिर लागे।
अनि अन्तिम पटक घरतर्फ फर्के। आँखा ‘शर्मा निवास' लेखिएको अक्षरमा पुग्यो।
यही घर हो जसलाई सम्झिँदा मात्रै पनि सुरक्षित महशुस हुन्थ्यो। तर आज........
घर केवल शरीर जोगाउने ओत मात्र होइन। आढेस लाग्ने भित्तो मात्र होइन। पाइताला अड्याउने भुँइ मात्र पनि होइन। घर त त्यो हो, जहाँ हृदय खुसीसाथ बसेको हुन्छ। जहाँ आड-भरोसा, आधार-विश्वास र अपनत्व र प्रेम छैन, त्यो त घर नामको प्रेक्षालय हुँदो रहेछ।
टोलकै सुन्दर घरको पहिचान बनाएको यो घर आज मलाई कंक्रिटको कुरुप थुप्रोजस्तो लाग्दैछ। जहाँ कुनै आत्मियता छैन। भरोसा छैन। मन बुझ्ने मनहरु छैनन्।
आजबाट घरसँग जोडिएको अस्तित्व मेटेर जाँदैछु। यस घरले दिएको स्थायी ठेगानाको पहिचान अलग्याएर जाँदैछु। जहाँ पुग्छु, त्यही नै मेरो ठेगाना हुनेछ। अस्थायी जिन्दगीको अस्थायी ठेगाना।
दाहिनेतर्फको सटको बाउलाले गालादेखि च्यापुसम्म कटकटिएको आँशु पुछे। केही पुछियो। त्योभन्दा धेरै त्यतै लतपतियो।
विस्तारै गेटबाट हात हटाए। अज्ञात यात्रातर्फको पहिलो पाइला अघि सारे। थाहा छैन उनको पैतालालाई वैराग्यले धकेलेको छ वा एक्लोपनाले तानेको।
तेस्रो पाइलाको टेकाइसँगै खुट्टामा लुटपुटिन रोजी आयो। रोजी त्यही हो, जसलाई शर्मा सरले घरको सुरक्षा र शोखका लगि तीन वर्षदेखि पालेका थिए।
(सुस्तरी निहुरिदै)
रोजी तँ अब मेरो पछि नलाग। तैले लगाएको गुन मलाई अपार भएको छ। म ऋणी छु। तँ धन्य छस्।
रोजीले अस्वीकृत भावमा शर्मा सरको दुवै घोडाको बीचमा टाउको छिरायो।
शर्मा सरले रोजीको टाउको सुम्सुमाउँदै भने- 'साँच्चै रोजी हेपाहा र उपेक्षित पारामा मैले कयौंपटक मानिसलाई कुकुर भनेको छु। आज मलाई अफसोच् छ। कुकुर शब्दलाई अन्याय गरेकोमा। गलत प्रयोग गरेकोमा।'
शर्मा सरले आफ्नो मुख रोजीको मुख नजिकै पुर्याउँदै रोजीका निन्याउरा आँखामा आँसु कटकटिएका आफ्ना आँखा जुधाउँदै भने, 'तँसँग कस्तो हृदय छ रोजी?'
'मेरो खुसी, कष्ट र रिसाएको अवस्थालाई अनुहारबाट बुझ्न सक्छस्। स्वामी भक्ति, बफादारिता, इमान्दारिता र निष्ठामा कतै खोट लगाउने ठाउँ छैन। मालिक जुनसुकै भुगोल, वर्ण र आर्थिक अवस्थाका भए पनि तैले प्रवाह गर्दैनस्। गर्छस् त केवल मायाको बदला माया। तँसँग त्योभन्दा अर्को कुनै न शर्त छ न स्वार्थ।
तर मानव दनियाँ त शर्त र स्वार्थभन्दा माथि रहेनछ रोजी।'
(केही क्षणको मौनता....)
रोजीको टाउकोलाई आफ्नो काँधतिर लपेट्दै आफ्नो हातले उसलाई सुमसुमाउँदै भने- 'हो रोजी। तँ र मबीच शब्दको सहज संवाद सम्भव छैन। तर मेरा भोगाई र अुनुभूतिप्रति तैले आत्मीय भावले साथ दिएको छस्। न तेरो अनुहारमा अभिनय देख्छु। न मनमा खोट।
कर्म–धर्मको चक्रले पुर्नजन्म पाइएछ भने तेरो सेवा गर्न पाउँ। आज मलाई बिदा दे।'
यति भन्दै रोजीलाई घरको गेटभित्र लगाउँदै आफू अगाडि बढे। उनी दुई पाइला अगाडि बढेका मात्रै थिए। तर रोजी उनीभन्दा अगाडि पुग्यो पुच्छर हल्लायो। अटेरी बन्यो र अस्वीकृति जनायो।
रोजीले यस्तै अस्वीकृति १४ दिन अगाडि उनी हस्पिटल जाने क्रमका पनि गरेको थियो। उनले आफू गएको एम्बुलेन्समा उसलाई पनि सँगै नलगी धरै पाएनन्। त्यही रोजी थियो जसले अस्पताल र वडाको क्वारेन्टाइनमा उनी बिरामीका रुपमा रहँदा बिरामी कुरुवाको रुपमा परिवारिक सदस्यको काम गरेको थियो।
भला उसले मानवीय संवाद र कर्म गर्न सकेन। तर उसले उनको निचोरिएको मन बुझेको थियो। साँगुरिएको विश्वास बुझेको थियो। सम्बन्धको चोट बुझेको थियो।
शर्मा सर अवाक भए..
लाग्थ्यो, मटु कलेजो सोहोरिएर मुखतिर आएको छ। श्वास थुनिएको छ बोल्न वाक्य आउँदैन।
भासिएको सुकसुकाहाट साँसे आवाजमा रोजी भन्दै ढल्दै गरेको रुख जस्तै अर्ध शरीरको बोझ रोजीमाथि पारे।
रोजी सम्बन्ध के हो?
(केही क्षणको मौनता पछि)
'नातोले होइन रहेछ रोजी, सम्बन्ध कसिने र नासिने। अनभूतिमा मेल छैन भने सम्बन्धको जरा कहाँ फस्टाउँदो रहेछ र? सानै हावाले पनि गर्ल्याम्म ढल्दो रहेछ।
सम्बन्धको लागि मान्छे खोज्नेहरुले मान्छेको लागि सम्बन्ध भन्ने कहाँ बुझ्दा रहेछन र? सामाजिक साँस्कृतिक सम्बन्धहरु त केवल औपचारिक आवादी मात्रै हुँदो रहेछ। यदि त्यहाँ सहृदयता छैन भने सम्बन्धलाई माया र मनको जस्तो, धर्ती र गगनको जस्तो, जुन र किरणको जस्तो बनाउन मन नै चाहिदो रहेछ। सम्बन्धलाई हराभरा बनाउन मन बुझ्ने मन चाहिदो रहेछ रोजी।
देख्दा राम्रो देखिने सुवासबिनाको प्लाष्टिकको फुलजस्तो सम्बन्ध छोडेर जाँदैछु।
तँ बुझ्नेछस्। अब मलाई जान दे।'
रोजीले कुँइकुँइ आवाज, कान, आँखा र अनुहारमार्फत अस्वीकृति झल्कायो।
शर्मा सरभन्दा दुई कदम अगाडि आफैँ बढ्यो। मेरो पछाडि आउनुस् है भन्ने भावमा पुलुक्क पछाडि हेर्यो।
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा जाँदा कुकुरले साथ दिएको थियो। दुनियाँको सबैभन्दा पहिलो अन्तरिक्ष यात्री कुकुर नै थियो।
यति मात्र होइन। कुकुर मालिकप्रति बफादार भएका कैयौं उदाहरणहरु छन्। हालै ब्राजिलको फ्लारियानपोलिस सहरस्थित रुथ कारडोसो नामक अस्पताल बाहिर एउटा कुकुर पछिल्लो १२ महिनादेखि कुरेर बसिरहेको कुकुरको कथा निकै कारुणिक र मन छुने किसिमको छ।
आठ महिनाअघि उक्त अस्पतालमा उसका मालिकलाई आकस्मिक रुपमा एम्बुलेन्समा हालेर ल्याउँदा पछि लागेर आएको कुकुरले आफ्नो मालिकको मृत्यू भएको र अन्त्यष्टि समेत गरिसकिएको पत्तै पाएन। उसले मालिकभित्र छन् र एक दिन फर्किन्छन् भन्दै कुरी बस्दाबस्दै १ वर्ष हाराहारीको समय बितिसकेको छ। र पनि ऊ अझैँ त्यही अस्पतालकै प्रांगणमा मालिककै प्रतिक्षामा छ। अस्पतालमा कुनै बिरामी होस् वा सामान्य मानिस, बाहिर आउँदा उ पछि लागेर मालिक हुन् कि भनेर नजिकै पुग्छ।
तर मालिक नभएको ठहर गरेपछि खिन्न बनेर पुरानै ठाउँमा पुगेर कुरेर बसिरहन्छ। जसको इमान्दारिता देखेर हस्पिटलका कर्मचारीहरु र यो कथा थाहा पाएका सबै भाव विह्वल बनिरहेका छन्।
यी सबै कुरा बादलमा हावाले छिट्छिटो भिन्नभिन्न तस्बिर बनाए जसरी शर्मा सरको मनस्थितिमा एक पछि अर्को गर्दै आए।
रोजीले आफ्ना खुसीसँग सम्झौता गरेको छ। आफ्ना चाहनाहरुलाई कुल्चेको छ। अज्ञात भविष्यलाई सहर्ष स्वीकारेको छ। साँच्चै भन्ने हो भने मलाई आँट भरेको छ। भरोसा बनेको छ।
तन र मनको थकान सहितका शर्मा सरका कदमहरु अगाडि बढे।
रोजीलाई लिएर सदाका लागि घर छोडे। शर्मा सर भन्दै थिए, 'रोजी मैले तलाई शोखका लागि पालेको थिए। तर आज तँ मेरो संसारको सबैभन्दा प्रिय साथी भइस्।'
रोजीले शर्मा सरको स्वीकारोक्ति बुझेको भावमा पुच्छर हल्लायो। खुसी प्रदर्शन गर्यो।
मौनता र हतासासँगै दुवै सानोठिमी चोकमा आइपुगे। अब त चिनेकाले नदेख्लान्। चिनेकाले देखेर सचिवज्यू लकडाउनको बेला कता हिड्नु भो भनेर सोधेको प्रश्नको सामना गर्न नपर्ला।
दुईतिर जान मिल्ने चोक भएर होला सायद रोजीले अलमलको भावमा मलाई हेर्यो। म झनै अलमल थिएँ। जाने कता? पुग्ने कहाँ? वर्षौदेखि हजारौं पटक हिँडेको बाटो आज कहिल्यै नहिँडेको जस्तो बिरानो लाग्दै छ।
सायद मानसिक शुन्यता र गन्तव्यहीनताले यस्तो बनाएको होला।
जानु त थियो नै। मनले पश्चिमतिर तान्यो। अनि सोझियौं पेप्सीकोला तर्फको बाटो।
ठेकीको दहीमा गढेर बाहिर निस्कन आलसतालस गरेको मुसो जस्तो शर्मा सरले किन घर छोडे? भन्ने प्रश्नको उत्तरले अभिव्यक्तिको ठाउँ खोजिरहेको थियो।
कसलाई दिउँ स्पष्टीकरण? कोसँग कहुँ मनको व्यथा?
पोखिन मन लागेको छ। रित्तिन मन लागेको छ। अनुभूतका कलेटीहरु सुकिलो हुने गरी पखाल्न मन लागेको छ। भित्रैसम्म खकालिने गरी डाँको छोडेर रुन मन लागेको छ।
(केही क्षणको मौनता)
'हो, मैले बताउनै पर्छ।
होइन भने शर्मा सर अबुझ् हो भन्लान्। स्वार्थी हो भन्लान्। गृहस्थीसँग हार्यो भन्लान्। मलाई खलपात्र बनाएर कथा लेख्लान्।'
सडकको विस्तार गर्दैगर्दा काम रोकिएको अवस्था थियो। सडकमा खाल्डाखुडी थिए। बाटोमा घरि वारि घरि पारि गर्दै शर्मा सर र रोजी अघि-पछि अघि-पछि गर्दै हिँड्दैछन्।
काठमाण्डौं–भक्तपुर जोड्ने मनोहरा पुलको बीचमा पुगेर चारै तिर हेर्छन्। कान डम्म हुन्छ। छाति ढुक्क फुल्ने गरी गहिरो सास फेर्छन्।
(केही क्षणको मौनता)
'हो, यो हावालाई सुनाउँछु। यो माटोलाई सुनाउँछु। यहाँका घरहरुलाई सुनाउँछु। यो पुललाई सुनाउँछु।
मलाई स्पर्श गरेको हावाले उनीहरुलाई पनि स्पर्श गर्नेछ। मलाई नियालेको माटोले उनीहरुलाई पनि नियाल्ने छ। मलाई सुन्ने घरका यी भित्ताहरुले उनीहरुलाई पनि सुन्नेछ। दुई जिल्ला जोड्ने यो पुलले उनीहरुका सवालसँग मेरो जवाफलाई जोड्नेछ।
सुन ए हावा। सुन ए माटो। सुन ए घरहरु। सुन ए पुल ......
मानव सभ्यतालाई चुनौती दिएको कोरोना संकटको संवेदनशीलतालाई मैले पनि बुझेको थिएँ। इटाली र स्पेनका दर्दनाक भोगाइहरुले मलाई पनि दुखाएको थियो। आफ्नालाई बचाएरै आफू बाँच्छु भन्ने मैले पनि सोँचेको थिएँ। हैन भने प्रत्येक परिवारका सदस्यलाई अलगअलग सेनिटाइजरको व्यवस्था म आफैँ किन नै गर्थें र?
अघिल्लो दिन मलाई रुघा लाग्यो। भोलि पल्टबाट भान्छो छुट्याइयो। ज्वरो ९९ फरेनहाइटभन्दा माथि कहिल्यै पुगेन। आधाआधा घन्टामा ज्वरो नापेकै थिएँ। पर्सिबाट बसाई छुट्टाएँ। नछुट्याउँ नै कसरी? नत्र भने सम्बन्ध छुट्याउनेसम्मका पारिवारिक प्रस्ताव घन्टाघन्टामा आउँथे। स्टोरको कुनामा रहेको फालिएको सोफामा सुत्न थालेँ। त्यतै बस्न थालें।
मैले वीर अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर जो मेरा स्कुले जीवनका साथी थिए, उनलाई दिनमा २/३ पटक फोन गरेर परामर्श गरेको र उनले मौसमी रुघाखोकी रहेकोले आत्तिन पर्दैन भनेको कुरा पटकपटक श्रीमती, छोरा र बुहारीलाई भनेको थिएँ।
साथी भन्दै थियो। घरै बस्नु, तातो खानु। यस्तो बेला साधारण समस्या लिएर अस्पताल आउनु ठिक होइन। झनै संक्रमणको डर हुन्छ। भाउजुको माया र छोराबुहारीको हेरचाहले तेरो रुघा दुई दिनमा चैट।
साथीको कुरा र आफ्नो भोगाइबीचको तुलनाले होला मेरो तन, मन र मनस्थिती चाम्रिएको थियो, दाम्रिएको थियो, टिम्मुर जस्तै।
मौसमी रुघाखोकीको समस्या हो मेरो भनेर पटकपटक भन्दा फाँसीको कारबाही घोषित भैसकेको अपराधीको रोदनजस्तो हावामा उडाइन्थ्यो। मलाई गिज्याउने शैलीमा तीनै जनाका ओठहरु पसांगिन्थे।
बोलीले लछारिएको थिएँ, पछारिएको थिएँ, निलडाम भएको थिएँ। मन मर्नुको अर्थ बुझ्दै थिएँ।
सात वर्षकी नातिनी बाबा भन्दै छतमा आउँदा चिलले चल्ला टिपे जस्तो तल लगियो।
लाग्थ्यो मैले टाढैबाट हेर्दा रोग सर्छ। टाढैबाट बोल्दा रोग सर्छ। मेरो दृष्टिमा कोरोना छ। मेरो बोलीमा कोरोना छ। महामारी छ।
घरको कौसीबाट मेरी जीवन सँगिनी शोभाले पल्लो घरको बहिनीसँग गरेको संवाद सुन्न पुगेछु। उनी भन्दै थिइन्- हामीले त घरमा नै रोग पालेका छौं। पलपलमा मरेर बाँचेका छौँ। के गर्नु र खै? बुद्धिमा बिर्को लागेपछि। अरुले बाँचुन् भन्ने नसोंचेपछि।
कसलाई के भाको? किन यसरी बसेको? यसरी त भएन नि। यस्तैयस्तै सवालहरुमा शोभाले श्रद्धा र आत्मियता बिनाका निम्छरा शब्दहरुबाट मलाई अपराधी करार गरिन्।
छिमेकी बहिनीले सल्लाह र त्योभन्दा बढी रोश प्रकट गरेको शैलीमा भन्दै थिइन्- 'यस्तै हो भने प्रहरी लगाएर पनि घर राख्न हुँदैन।'
लाग्थ्यो शोभा र मबीच श्रीमान् श्रीमतीको सम्बन्ध होइन, वषौंदेखिको दुश्मनी छ।
दुश्मन कमजोर हुँदा उसलाई थिच्न सजिलो हुन्छ, किच्न सजिलो हुन्छ।
हो, उनले पलपलमा थिचेकी थिइन्, मेरो आत्मबललाई, मेरो विवेकलाई, मेरो अनुभवलाई, मेरो संयमतालाई, मेरो गरिमालाई, मेरो पहिचानलाई।
परिवारलाई सबैभन्दा ठूलो धन ठानेको थिएँ। सुख बाँड्ने अनि दुख बिसाउने चौतारी मानेको थिएँ। मिठो साथ र निस्वार्थ मायाको फुलवारी ठानेको थिएँ। विश्वास, सुरक्षा, सन्तुष्टि र खुसीको आधार मानेको थिएँ।
तर होइन रहेछ।
मेरो पारिवारिक मूल्य त केवल मेरो सामर्थ र सहजतामा रहेछ। जीवनमा खुशीको प्याला पिउने त धेरै भेटिए, तर दुःखको आँशु बिल्कुलै एक्लै रित्याउनु पर्ने रहेछ।
यहाँ त संस्कार, समाज, परिवार र इज्जतको डरले र त्योभन्दा बढी स्वार्थले माया गरिदो रहेछ। माया पनि के भन्नु। मायाको नाटक गरिदो रहेछ।
श्रीमान् श्रीमतीको नाता अन्य नाता सम्बन्धभन्दा बढी विश्वासिलो, सहृदयी, आत्मीय र अटुट नाता सम्झेको थिएँ। तर अफसोच्.....
कठिन घडीमा पो निस्वार्थ प्रेमको आयतन नापिदो रहेछ।
मन मोरेर आयो। वैराग्य जागेर आयो। दिनको छक्काल उज्यालोमा पनि औंसीको रात जस्तो चकमन्न अंध्यारो देख्न थाले।
यो परिवार नामको नातोसँग आड–भरोसाको, माया–विश्वासको र सम्मान र सुरक्षाको कुनै अंश भेटिन।
नर्वेबाट 'लिडरसिप इन क्राइसिस' शीर्षकमा गरेको विद्यावारिधिको ज्ञान डगमगायो। विशिष्ट श्रेणी सहितको तीस वर्षे जागिरे जीवनको अनुभव धरमरायो। आमा र बाले सिकाउनु भएको घर व्यवहार सञ्चालनको दीक्षा लरखरायो।
जीवनमा आफ्नो बर्कतले दिएका परीक्षाहरुमा सधै प्रथम भए, तर आज यो मोडमा जीवनको परीक्षाले मलाई ढल्मल्यायो। साँच्चै आत्मविश्वासले शुली चढे जस्तो भो।
मनले निधो गरेँ। उही डाक्टर साथीलाई भने। एम्बुलेन्स पठाइदिएँ। म र रोजी अस्पताल गयौं। तीन दिनको अस्पतालको आइसोलेसन बसाइपछि पिसिआरले कोरोना नेगेटिभ देखायो।
मनको फरक डाहले होला अस्पतालको कमजोर व्यवस्थापन, डाक्टरको असाधारण व्यवहारले पनि कत्ति चित्त दुखेन। हुन त दुख्ने ठाउँनै कहाँ थियो र। मन र मस्तिष्क पुरै पक्षघात भैसकेको थियो।
तेस्रो दिन बिहान नातिनीको फोन आयो। कहाँ हुनुहुन्छ? भन्ने प्रश्नको उत्तरसँगै फोन काटियो। त्यसै दिन अस्पतालवाट डिस्चार्ज भए। डाक्टरको सल्लाह थियो, ११ दिन होम क्वरेन्टाइनमा बस्नुपर्ने।
होम भन्ने शब्दले नै मलाई चिटचिटाहट बनाएको थियो। मनले सोंचे मेरा कारणले कोही पनि असुरक्षित हुनु हुँदैन। अनि लागेँ नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा। उतै बसेँ बाँकी दिन। साथमा थियो फाटेको मन अनि रोजी।
आज अस्पतालका लागि घर छोडेको चौधौं दिन हो। सायद नातिनीसंगको संवादको आधारमा लोकाचारको फरिया ओडेर शर्मा परिवार मलाई लिन अस्पताल गए होलान्। म र रोजी, आमा र बाको फोटो लिन घर पुगेर सदाका लागि घर छोडेर हिड्यौं।'
शर्मा सरले यति कुरा हावा, माटो, घर र पुललाई सुनाउँदा उनका स्मृतिहरु कराङकुरुङ चरा आकाशमा उढ्दा लय मिले जस्तै सिलसिलेवार थिए। न अनुहारमा अभिनय थियो। न मनमा खोट।
आँसुको मैजारो गरेजस्तो भलभली आँसु बग्यो। केही पुसे। धेरै त्यतै लतपतियो।
रोजी अघिअघि हिड्दै थियो। उभन्दा कमजोड कुकुर बाटोमा देख्दा आफैँ तगडा बनेर शर्मा सरलाई सुरक्षा दिएको भान दिन्थ्यो। आफूभन्दा बलियो मान्यो भने शर्मा सरको पछाडि सुरक्षित हुन खोज्थ्यो।
(पेप्सीकोला हुँदै जडिबुटी चोकमा पुगे)
जडिबुटी चोकको गुरुङ टेरिस क्याफेमा उनको आँखा पुग्यो। यता आउँदा प्राय शोभा म्याडम र उनी यही क्याफेमा खाजा खान्थे। विगतलाई गिजोल्थे। वर्तमानलाई सुस्ताउँथे। भविष्यको योजना बनाउँथे। कहिलेकाही त विवाहको पचासौं वर्षगाठमा यहींको केक लानु पर्छ भन्दै लहडिन्थे।
शर्मा सरले शोभा मेमलाई सम्झे। त्योभन्दा बढी सम्बन्धलाई सम्झे।
लोग्ने स्वास्नीको सम्बन्ध संस्कारको प्रचलन र अस्तित्वको निरन्तरता मात्र होइन भावनाको, प्रेमको र मुटुको सम्बन्ध पनि हो। वैवाहिक जीवन निर्भरताको सम्बन्ध होइन साझेदारीको सम्बन्ध हो।
साझेदारी त्यतिखेरसम्म रहन सक्छ। जबसम्म एउटै उद्देश्यले एउटै दिशामा हिड्न सकिन्छ। मनभेद नै भएसी कहाँ सहयात्रा सम्भव छ र।
सम्बन्धहरुको आयु नातोले होइन, व्यवहारले निर्धारण गर्दोरहेछ। दुखको बेलाको व्यवहार नै सम्बन्धको मिठास मापनको आधार हुँदो रहेछ।
एक चिम्टी सिन्दुर, एउटा लर्को तिलरी र एक थान विवाह दर्ता प्रमाणपत्रले कहाँ सम्बन्धको मियो बलियो हुन्छ र। यदि सम्बन्ध प्रति इमान्दारीता छैन भने।
प्राकृतिक, कानुनी र सृष्टि संचालनको नाता रहला तर एक लयमा दाम्पत्य जीवन चल्दैन। प्रेमको पराकाष्ट श्रद्धा हो।
'तिम्रो र मेरो बीचको सम्बन्धमा विवाहरुपी सामाजिक कार्यले दिएको नाता मात्र रहेछ। प्रेम रहेनछ शोभा।
बा र आमाको सम्बन्धको विषयमा कुरा गर्दै बाले भन्नुभाको थियो, तेरी आमा बाहिर देखिँदा रुखो देखिए पनि भित्री व्यवहारमा मायाँलु छ। मर्का पर्दा कहिल्यै मर्म काट्दिन। शोभा तिमी त ठिक उल्टी पो रहेछौ।
शोभा तिमी आफैँले भनेकी थियौ- मलाई लाग्ने साधारण रुघाखोकीदेखि पाठेघरको क्यान्सर उपचारले भन्दा हजुरको मायालु व्यवहारले निको भएको हो।
खै त शोभा, तिमीले त मर्म काट्यौ ?
शोभा तिमी त छायाँजस्ती रहेछौ। जो उज्यालोमा मात्रै बन्छ। तर जति उज्यालोपन घट्दै जान्छ। छायाँ हराउन सुरु गर्छ। अन्धकार रातमा छायाँ कतै पनि हुँदैन।
छायाँ साथमा हुँदा म भ्रममा रहेछु। मैले हिजोसम्म हामी भन्थे। आज एक वचन भएर जाँदैछु। सम्बन्ध विच्छेदको औपचारिकता आवश्यक रहेन। अब जहाँ म बाहेक सारा कुरा तिमीलाई छोडेर जाँदैछु।'
जडीबुटी चोकमा रहेका पुलिसका लकडाउनको बेला कता हिडेको भन्ने प्रश्नबाट जोगिन घरको नजिकनजिकबाट कोटेश्वरतर्फ लाग्दै थिए।
(छोरा शोभितलाई सम्झे)
'बाबु, मैले त तँलाई मेरा अप्ठ्याराहरुमा काम लाग्ने जिउदो बीमा सम्झेको थिएँ। तर तँ त केवल मेरो मरणपछि बीमा रकम दावी गर्ने हकवाला मात्र रहेछस्।
तँसंग मेरो धेरै आश थिएन। त्यसैले गुनासा पनि छैनन्। शोभाको कमजोर शरीर ढल्न सक्छ। बुढेसकालको आश गल्न सक्छ। एक्लोपनाले मन जल्न सक्छ। ख्याल गरेस् बावु आमाको।'
शर्मा सर बेहोसी जस्ता देखिन्थे। एक्कासी परिवारका सबैलाई सम्झे। शरीर थरथरी कापेको थियो। मनमा गाँठैगाँठा परेजस्तो र पुरानो धुलाम्य मूर्तीजस्तो देखिन्थे।
बरबराउँदै थिए...
'मितिहरुका अगाडि मैले छोएका ठाउँहरु पुछ्न कुनै बाँकी राखेनौ। तिमीहरुले नदेख्दा मैले छोएका छतका रेलिङहरु, छतको मन्दिरको ढोकाको चौकस, मैले टेकेको छत र भर्याङ, तुलसीको मठको सालिग्राम सबै-सबै पुछ्नु। सयौँ वर्ष बाच्नु।
तिमीहरुलाई आफ्नै नजरबाट कहिल्यै गिर्न नपरोस्...
(लेखक कावासोती नगरपालिकाका शाखा अधिकृत हुन्।)