कोठाभित्र म केही दिनदेखि एक्लै चेस खेल्दैछु। सेतो पनि मै हुँ। कालो पनि मै।
कालोले हार्यो भने भन्छु, 'अँध्यारोलाई हराइदिएँ मैले। यो संसारमा अँध्यारोमात्र नहुने हो भने मान्छे सधैंभन्दा सधैंभन्दा खुसी हुन्थ्यो।'
कालोले जित्यो भने भन्छु, 'अँध्यारोलाई जिताइदिएँ मैले। यो संसारमा अँध्यारोमात्र हुने हो भने मान्छे सधैंभन्दा सधैंभन्दा खुसी हुन्थ्यो।'
एक्लै खेल्दाको फाइदा के रहेछ भने, हारेका बेला 'हार्ने मान्छे म हैन' भन्दियो। जितेका बेला हतार हतार भन्यो 'त्यो म हुँ ! त्यो म हुँ !'
कहिलेकाहीँ जित्दाजित्दा अल्छी लाग्यो भने भन्यो, 'आज यसो गर्छु, हारिरहेको मलाई जित्न दिएर, जितिरहेको म हार्दिन्छु।'
खेलको दुवैपट्टी खेल्ने मान्छे एउटै हो भन्ने थाहा भएपछि हार्न खुब मज्जा आउँदो रहेछ।
युद्धको दुवैपट्टी लड्ने मान्छे एउटै हो भन्ने थाहा भएपछि संसार कस्तो हुन्थ्यो होला? सीमानाको दुवैपट्टी बस्ने मान्छे एउटै हो भन्ने थाहा पाएपछि देश कस्तो हुन्थ्यो होला? सम्बन्धको दुवैपट्टी बाँच्ने मान्छे एउटै हो भन्ने थाहा पाएपछि प्रेम कस्तो हुन्थ्यो होला? पैसाको दुवैपट्टी हुने मान्छे एउटै हो भन्ने थाहा पाएपछि समाज कस्तो हुन्थ्यो होला? मृत्युको दुवैपट्टी बाँच्ने मान्छे एउटै हो भन्ने थाहा पाएपछि जीवन कस्तो हुन्थ्यो होला?
कोठाभित्र म केही दिनदेखि एक्लै चेस खेल्दैछु। राजालाई कमजोर पार्न खुब मज्जा आउँदो रहेछ। हिजो साह्रै दुःख गरेर मैले एउटा राजालाई थुनेँ।सोचेँ, अब केही दिन म चेस खेल्दिनँ। कुनै पनि राजालाई अब पुन: शक्तिमा ल्याउन मन छैन। अब आफ्नो मालिक आफैं हुन्छु।
यसो सोचेँ, मान्छे आफ्नो मालिक आफैं हुने सबभन्दा सुन्दर ठाउँ निद्रा हो। अब सुत्छु। तर त्यत्तिकैमा मलाई भोक लागेजस्तो भयो। चेसको क्रान्तिमा राजालाई हराउँदा मेरो खुब पसिना बगेछ क्यार !
क्रान्तिमा शासकलाई हराइसकेपछि भोकसँगको क्रान्ति सुरू हुँदो रहेछ। अब म मध्यरातमा के पकाउनु? यो 'लकडाउन'मा मेरो 'लक'ले दुवै छाक भात कहिलेसम्म खान पाउला, थाहा छैन। यो तेस्रो छाकको विलासितातिर लाग्दिनँ म।
यो संसारमा गरिबहरू भोको हुनको मुख्य कारण धनीहरूभित्रको विलासिताको भोक हो।
हर्लिक्सको बट्टाको पिँधमा अलिकति धूलो बाँकी रहेछ। बिर्कोबाटै एक फाँको हालेँ, अनि सुतेँ।
जुँगामा हर्लिक्सको धूलो अड्किएको रहेछ। जुँगामा कमिला दौडेर रातभरि सुत्न दिएनन्।
बिहान उठेर कोठाको कुनामा रहेको बुरुस र मन्जनलाई अल्छी मान्दै मान्दै हेरेँ। खाटमै बसीबसी सोचेँ, त्यो मन्जनको बट्टाले आफ्नो टोपी आफैं खोलोस्! पिचिक्क मन्जन बाहिर निकालिदिओस्! त्यो ब्रसले आफ्नो थुतुनुलाई लगेर मन्जनमा दलोस्! हावाले उडाएर त्यो बुरुस मेरो मुखमा छिराइदिओस्! अनि म दाँत ङिच्च पार्दै, दल्दै भ्रष्ट कर्मचारीले जसरी लाज पचाएर भनूँ- 'पर्दैनथ्यो।'
तर त्यस्तो भएन। मेरो सोच असफल भयो। मलाई एउटा ज्ञानबोध भयो: सफल मान्छेहरू ‘काम’ गर्दा रहेछन्। असफलहरू ‘कामना’ गर्दा रहेछन्।
यो क्वारेन्टिन लम्बिने हो भने म यति ज्ञानी हुने रहेछु कि गायक कर्णदास खुसी हुने रहेछन्।
मेरो यस्तै हावा हावा कुरा सोचिराथेँ। अलि बढी नै हावा सोचेछु कि क्या हो, कोठाको झ्यालबाट हावाले नै हात छिरायो। काँधमा कोट्यायो। र मलाइ उडाउदै हावाले भन्यो- 'यस्तो सोच्यौ भने हरेश खान्छौ। आऊ, बाहिर हावा खान निस्क!'
मलाइ उडाएकोमा मभित्रको झापालीको अहममा चोट पुग्यो। मैले हावाको आँखामा आँखा जुधाएर भनेँ- 'हावा खान बाहिर किन निस्किनु? तिमी भित्रै आयौ। अब तिमीलाइ नै खान्छु नि। के खोज्छस् फोक्सो, हावा भनेको यही रहेछ।'
खत्रै जोक हानेँ भन्ठानेथेँ। तर हावा इत्ति पनि हाँसेन। बरू सोध्यो- 'के खायौ?'
म झसंग भएँ। केही बेरअघि आमाले फोनमा यही प्रश्न ठ्याक्कै यसरी नै सोध्नुभाथ्यो। आमाले गाउँमा फोनमा बोल्दाको त्यो हावा र मलाई अहिले प्रश्न सोध्ने यो हावा नातेदार नै पो हुन् कि !
साँच्चै सहरमा बस्ने यी हावाका आमाहरू कहाँ हुन्छन्? के सबैका आमा गाउँमै हुन्छन्? हुन त यो सहरकै आमा पनि गाउँमै त होलिन्।
म त टोलाएछु। हावाले मेरो काँधमा हात राखेर सोध्यो- के खायौ?
मैले भनेँ- भात अनि दालकारी।
हावा- दालकारी?
म- अँ, दाल र तरकारी फरक-फरक कुकरमा पकाउने अनि भाँडा माझ्ने न पर्याप्त पानी छ मसँग, न सुविधा छ, न जाँगर। त्यसैले एउटै कुकरमा भिजाएको दाल र काटेको तरकारी एकछिन भुट्छु। अनि रस हाल्छु। अनि एक्कैचोटिमा पाक्छ - दालकारी।
खत्रै कुरो पत्तो लाएँ भन्ठानेथेँ। तर हावा इत्ति पनि हाँसेन। मैले बुझेँ। यो हावालाई हावादारी कुरामा चासो रहेनछ। हावा उठेर जान खोज्यो। हावालाई लाग्यो होला, उसले भन्न खोजेको कुरा सुन्ने मन मसँग छैन। आफ्नो कुरा आफैं भएर आफूले जसरी सुनिदिने कोही नहुँदा खुब दुख्छ। म बुझ्छु।
मलाई हावाको मन दुखाउन मन लागेन। यसपालि मैले हावाको हृदयमा हृदय जुधाएर भनेँ, 'हावा, तिमीलाई जे भन्नुछ, भन। म तिमीबाट पनि बनेको हुँ। म तिमी नै हुँ।'
हावा- दिनरात यही कोठाभित्र देख्छु। कति भो कसैलाई नभेटेको?
म- भेट्नु भनेको के हो हावा? जो छ उसलाई भेट्नु कि जो पर्खिरहेछ उसलाई भेट्नु?
हावा- हँ? मैले बुझिनँ। यी दुइटामा के फरक छ र?
म- छोड्देऊ हावा। अहिले तिमी सानै छौ। बरु भन, तिमीले कसैलाई नभेटेको कति भो?
हावा- कसैलाई भनेको को हो यार? जसलाई म हुँदा भेट्छु ऊ? या जसलाई भेट्दा म हुन्छु ऊ?
म- हँ? मैले बुझिनँ। यी दुइटामा के फरक छ र?
हावा- छोड्देऊ। अहिले तिमी सानै छौ। बरू भन तिमी कहिलेदेखि यहाँ छौ? तिम्रो घर कहाँ हो? आफ्नो घर किन नग'को?
म- म कहिलेदेखि यहाँ छु थाहा छैन। तर अब म हुन्जेल यहीँ हुन्छु। अनि हावा, के भएपछि घर हुन्छ? बरू भन ,तिमी कहिलेदेखि यहाँ छौ?
हावा- म सुरूदेखि यहीँ छु।
म- तिम्रो घर कहाँ हो र?
हावा- मेरो घर यहीँ हो। यी घरहरू बन्नुभन्दा वर्षौंअघिदेखि मेरो घर यहीँ हो।
म- अनि तिमी कहाँ बस्छौ?
हावा- यी घरैघरहरूका बीचमा, उत्यहाँ अलिकति खाली ठाउँ छ नि, हो त्यहाँ बस्छु।
म- के गर्छौ त्यहाँ?
हावा- म पनि क्वारेन्टिनमै बसिरहेछु। दशकौंदेखि बसिरहेछु।
म- दशकौंदेखि? किन? त्यति वर्ष पहिला पनि कोरोना भाइरस आएको थियो र?
हावा- भाइरस आएको थिएन। मान्छे आएका थिए।
यति भनेर हावा निस्केर जान खोज्यो। मलाई पठाउन मन लागेन। मैले सोचेँ- आफ्नो भइसकेको हावालाई जान दिनुहुन्न..आफ्नो हावा भइसकेकोलाई जान दिनुहुन्न।
मैले हावाको हात समातेर भनेँ, 'भित्रै बस न। तिमी मसँग सुरक्षित छौ। तिमी बसेको त्यो खाली ठाउँ क्या फोहोर छ।'
हावा भन्छ, 'खाली ठाउँहरू आफैंमा कहिल्यै फोहोर हुन्नन्। जति खाली ठाउँ फोहोर छन् ती मान्छेहरू भरिएर भएका हुन्। मान्छे भरिँदै गरेपछि विस्तारै सबै खालीहरू फोहोर हुनेछन्। अनि म सबभन्दा असुरक्षित मान्छेसँगै छु। मान्छे मात्रैले मैले दिएवापत आजसम्म केहीराम्रो फिर्ता गरेनन्।'
हावालाई रोक्न सक्ने आँट बोकेर मेरो फोक्सोबाट कुनै हावा निस्केन।
मैले हारेर भनेँ, 'मलाई माफ गर, हावा। मैले तिमीलाई भित्र राख्न सकिनँ र म बाहिर निस्किन सक्दिनँ।'
हावा, 'ठीकै छ। तिमी भित्रै ठीक छौ। तिमीहरू चाहिनेभन्दा बढी बाहिर निस्कियौ। अब मान्छेहरू अलि समय बाहिर निस्केनन् भने खोलाको काखमा माछाहरू फेरि निस्कनेछन्। शिरुबारीमा स्यालहरू निस्कनेछन्। सहरका भित्ता फोरेर हरिया रूखहरू निस्कनेछन्। घरका हाँगाहरूमा चराहरू निस्कनेछन्। हिमालका छातीमा हिउँहरू निस्कनेछन्। अब मान्छेहरू अलि समय बाहिर निस्केनन् भने केटाकेटीहरूले देख्नसक्ने गरी आकाश बाहिर निस्कनेछ। आकाशमा ताराहरू निस्कनेछन्।
तिमीहरू धेरै बाहिर निस्किनाले न हामीलाई राम्रो रहन दियौ, न आफूलाई नै। सोच त ! तिमीहरू भित्र हुँदा कति राम्रा थियौ ! आमाको पेटभित्र कति राम्रा थियौ ! बाहिर आयौ अलिकति बिग्रिहाल्यौ। केटाकेटी हुन्जेल त तै पनि ठीकै थियौ, तर जब बालापनबाट बाहिर निस्कियौ, हेर त क्या कुरुप बन्यौ। अझ जब बाआमाबाट छुटेर स्कुल कलेज गयौ, त्यहाँ नराम्ररी बिग्रियौ।
मान्छे सबैभन्दा बढी त तब बिग्रियो जब आफूबाट बाहिर निस्कियो। तिमीहरू चाहिनेभन्दा बढी बाहिर निस्कियौ।अ ब आफ्नो घरभित्रै बस। अझ आफूभित्र बस।'
म मान्छे भएर हावाका कुरालाई जित्न सक्ने आँट बोकेर मेरो फोक्सोबाट कुनै हावा निस्केन।
मैले हारेर भनेँ- म हुनुपर्ने ठाउँमा हुन सकिनँ। तर म हावा भएको भए अहिले उडेर जाने थिएँ। तिमी किन यहीँ बसिरहेको? तिम्रा आफन्तहरू कहाँ छन्? तिमीले यो फोहोर ठाउँ किन नछोडेको?
हावा- जस्तो जे अप्ठ्यारो परे पनि, जस्तो रोग लागे पनि, म यो ठाउँ छोडेर जान सक्दिनँ।
म- किन?
हावा- मेरा आफन्तहरू यहीँ छन्।
म- कहाँ छन्? कस्तो छ उहाँहरूलाई?
हावा- सबै जिउँदै छन् तर वर्षौंदेखि चिहानमा थिचिएका छन्।
म- चिहान? कहाँ छन् ती चिहानहरू?
हावा- एउटा चिहान तिमी बसेको घरमुनि छ..।