साँच्चै नै
तिमीले बिदा लियौ
यो मनले
स्वीकार्नै सकेन,
कहीँ कतै मेघ गर्जिए झैं
क्रोधले निमिट्यान्न अधरले
कम्पित स्वरमा
तिमीले बतायौ।
असारे झरी
बलेंसीबाट खसे झैं
म एक पटक
आफ्नै नजरबाट खसें,
पैताला भिजुन्जेलसम्म पनि
तिम्रो धरधरे
आवाज मै हराएँ।
एकपटक फर्किएर
आफ्नै मस्तिष्क हेरें
अन्तिम माफी
अस्वीकृत गर्ने मनहरू थिए,
ती तिम्रा मन हुन्
ती मेरा पनि मन नै थिए
मेरा मन अपमानित थिए
जहाँ तिमी थियौ।
साँच्चै नै
तिमी मरिसकेकी थियौ
यो मनले
अर्थी बोक्ने सहास गरेन,
धेरै पहिले नै
आस्थाको दागबत्ती दिएकै थिएँ
तर पनि आफूलाई रत्तिभर
कहिल्यै सोचिएन।
जीवन न हो
बितिहाल्ने निश्चित थियो
अभाव त
समय बित्ने
वा नबित्ने कुराको थियो,
मन अनि मस्तिष्कमा
कुरा खेल्ने निश्चित थियो
मनको कुरा सुनियो
मस्तिष्क त आफ्नो कहिल्यै थिएन।