उसका चक्रीय
उतार चढावहरूलाई
खराब सिद्ध गर्ने हतारमा
भाग लगाउन खोज्दैछ
उसको अति प्रिय आयतले
मान्छे हुनुको गुनाहको लागि
धर्तीहरू चिरिँदैछन् आजकल
बाहुल्यताको बहावहरू
कहीँ उसको कहीँ विरोधीको
अस्तित्व मेटाउने प्रयासमा
जरैसँग उखेल्न चाहँदैछन्
बेमेल हुन नसकेका बस्तीहरूमा
परिचित हस्तीका पारितोषिकहरूले
उसले अन्तर्मनबाट
मर्म पोख्यो
समाजले धर्म बनाएर
आत्मसात गर्यो
सिउँदोले
कपाल छुट्याएझैं उसको
बारम्बार भाग लाग्दैछन्
अखण्ड धर्तीका मजहवहरू
सिउँदो देखाउँदैनन्
बुर्काहरू कहिल्यै पनि
विभक्त जीवनका
टुक्राहरू छोप्नका लागि
धेरै पहिले ईदमा
शिरबाट खसेर गुन लगाउँदा
पर्नु पिर परेथ्यो सिङ्गो जूनलाई
अब न त्यो चाँदनी छ
न उसँग आफ्नो नूर
केवल विभाज्य भूगोल छ
मनभन्दा परका मनहरू छन्
बाँकी रहेका विद्रोहका
श्वासहरू छन्
स्वाभिमान कायम राख्ने
कपाल छैनन्
एक मुठ्ठी बाँकी छाडेर शिरमा
धर्म बचाउन सक्ने उसको
छन् त पहिचान जोडिएका लिवाजहरू
अनि विद्रोहका मुण्डित शिरहरू
श्वास पनि चलेकैछन् उसका तर
आवाज सुनिँदैन नमाजहरूमा
खाली मौन मान्छे छ, भूगोल छ
अनि बुर्काहरू मात्र बाँकी छन्
अविरल छोपिएका
सिउँदोहरू माथि