अदृश्य तिमी, अनुपम अनुभूति
सुस्तरी सुस्तरी मन मुटुमा छायौ
जिन्दगीको अनमोल अंश ठान्थें
माया तिमी बाँच्नुको सार बन्यौ।
मभित्रै ढुक्ढुकाउँदै छौ प्यारा तिमी
सम्बन्ध गहिरो, हर स्पर्श मीठो
नयाँ सपना,नौलो नै छ गन्तव्य
नवीन यात्राको रोमाञ्चित यो पाटो।
कस्तो यो जादूको संसार बनायौ
नदेखी,नछोइ म अनुभव गर्दैछु
शब्द-शब्द साटिन अझै कुर्नुपर्ला
तर अद्भूत सञ्चारले तिमीसँग जोडिँदैछु।
पिरतीको उडानमा तिमी एक आयाम
खुसीको सम्पूर्ण परिभाषाको आहन
साँझको शितल जुनजस्तै उज्वल
अबका हर हाँसोको तिमी एक्लो मुहान।
वर्षाको त्यो पहिलो थोपा जस्तै
प्रतीक्षा तिम्रो शुभ आगमनको
अतितका सबै पल छायामा पार्दै
स्वागत न्यानो नव पालुवाको।