‘विक्रम’ मेजर गर्ज्यो। विक्रम अगाडि बढेर उभियो । मेजर एकाएक त्यो केटीनेर पुगेर त्यसको हातमा पिस्तोल थमाइदियो र त्यसको हात उठाइदिएर विक्रमतिर निशाना साँधिदियो र कड्क्योः ‘ट्रिगर दबा, अनि तँ बचिस्, नत्र आज म तँलाई गोली ठोक्छु, यी कायरहरुलाई पालेर केही फाइदा छैन।’
औंसी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो। ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो।
बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमसेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको थिएन।
मरेको भतिजको अनुहार झल्झली आइरहेको थियो। साथमा ऊ मारिएपछि घर जाँदा आफ्नो खुट्टामा छाँद हालेर रोएकी उसकी युवती विधवाको अनुहारले पिछा छोड्नै मानिरहेको थिएन।
मेजरले कोल्टे फेर्यो। घोप्टो पर्यो। तर कुनै तरिकाबाट निदा आएन। ऊ जस्तोसुकै भयानक युद्धको बीचमा पनि आफ्नो अन्तस्करणलाई डग्न नदिने मान्छे आज भने भित्रभित्रै काँपिरहेको थियो।
आक्रोश, क्षोभ, पश्चाताप, बदलाभाव आदिले एकैचोटि उसको मथिंगल खल्बलाइदिएका थिए।
भोलिपल्ट भाइटीकाको दिन थियो। अघिल्ला वर्षमा झैं यसपालि पनि दसैं तिहारका लागि गरिएको युद्धविराम कायम थियो र देशभरका सैनिक र प्रहरीहरू विरल चैनको निद्रा सुतिरहेका थिए। तर मेजर जबराका लागि भने अघिल्लो सालदेखि हरेक तिहार अभिशाप भएर आउने गरेका थिए।
देश युद्धमा फसिसकेपछि सबैले विरोध गर्दागर्दै पनि उसले एकमात्र भतिजलाई सैनिकमा भर्ना हुन चार वर्ष अघि आश्वस्त पारेको थियो। तर अघिल्लो वर्षको तिहार मनाएर घरबाट फर्कंदै गर्दा उसलाई विद्रोहीहरूले आक्रमण गरेर निर्ममतापूर्वक मारेका थिए।
भाग्यले भनौं वा दुर्भाग्यले, केही दिनअघि मात्र तिहारकै मुखमा कताबाट हुत्तिएर एउटी दुश्मन फौजकी केटी यो ब्यारेकमा आइलागेकी थिई।
सादा पोशाकका मानिसले महिनौंअघि पक्रेकी भनिएकी यो केटी खै कुन काकतालीले हो यो ब्यारेकमा तिहारको मुखमै पुगेकी थिई। देख्नासाथ मेजर जबराको रगत उम्लेर आएको थियो तर खै किन हो त्यसको भाग्य फैसला गर्न हिच्किचाएको थियो र त्यसको भाग्य के हुने हो कसैले अनुमान लगाउन सकेका थिएनन्।
खै कुन घडीमा हो मेजरलाई निद्रा लागेछ। बिहान ब्युँझँदा छर्लंग उज्यालो भएको थियो। हिउँदको घामका कलिला किरणहरू जताततै पोखिइरहेका थिए। दिन साविकभन्दा बढी उज्यालो लागिरहेको थियो। ओसेपमा अझै पनि शीत चुहिरहेको थियो तर पारीपट्टि दक्षिण फर्केको पाखामा खरको शीत सुकिसकेको थियो। गोरेटोको छेउमा लगाएका केतुकीका पातहरू टल्किरहेका थिए।
वर्षाभरि घाँस काटेपछि खरबारीमा छाडिएका गाइबस्तुहरू चर्न बाटोबाट झरिरहेका थिए।
तर वातावरणमा व्याप्त शालीनता र शान्तिले मेजरको मन छुन सकिरहेको थिएन। मनमा हिजो रातिको विषाद गएको त थिएन नै, साथै घाम चढ्दै आएसँगै उसको मनमा अरु अन्धकार फैलिँदै गएको थियो। भतिजको अनुहारले जति गिज्याएझैं लाग्थ्यो, उति रगत उम्लेर आउँथ्यो।
मेजरका राताराता आँखा देखेर बिहानैदेखि ब्यारेकमा सबैको मन त्राहिमाम भएको थियो। मेजरले फेरि बिहानै अरु केही गिलास स्यालको रक्सी विनासितन स्वाट्ट पारेर रगत चुहेलाजस्ता राता आँखा बनाएर निस्केपछि त सबैले आज आइपर्ने रडाकोको राम्रैसित सुइँको पाए।
रौद्र रूप ग्रहण गरेको मेजर एकाएक गर्जेर सबैलाई चौरमा भेला हुन आदेश दियो। सामान्यतः दशैं र तिहारमा घर जान नपाएका सबैजना जवान र अफिसरहरू भेला भएर शुभकामना आदानप्रदान गर्ने साविक चलन नै थियो तर आजको असामान्य अवस्था देखेर सबै चिन्तित थिए।
चौरमा सबै भेला हुनासाथ मेजर कड्क्योः ‘आज खास तरिकाले तिहार मनाइँदैछ। आजको दिन ती .... .... अधिकारवादीहरूले कालो दिनको रूपमा मनाउनेछन्। ती कुकुर्नीका छाउराहरूले काठमाडौंमा के भन्छन् मलाई मतलब छैन।’
मेजर जबरा एक छिन हिच्किचायो। आँखा मिच्यो अनि फेरि अघि फर्कियो। आँखा झनै राता देखिए र अनुहार अझ अँध्यारो देखियो। ऊ फेरि एकाएक गर्ज्यो : ‘त्यो ===की छोरी ===लाई यहाँ ल्या।’
एकै छिनमा एउटा ख्याउटे शरीर भएकी, पातलो कुर्ता लगाएकी अन्दाजी १८ वा १९ वर्षकी केटीलाई लुगलुग कमाउँदै भित्रबाट ल्याइयो। त्यसको अनुहार सपाट थियो र त्यो त्रस्त भन्दा पनि धेरै दयनीय देखिन्थ्यो। शरीर खिरिलो र कमजोर देखिन्थ्यो। छालाको देखिने भागमा निलडामहरू देखिन्थे।
सायद केटीलाई अब के हुँदैछ भन्ने आभास भयो क्यारे, अनुहारको भाव एकाएक गाढा किसिमको भय र लाचारीमा बदलियो। त्यो केटीलाई हेरेर कथामा पढिने कुनै पनि क्रान्तिकारी केटीको छनक मिल्दैनथ्यो। या त उसलाई पार्टीमा स्कुलिङ पुगेको थिएन, या त एक महिनाको यातनाले गलाइसकेको थियो।
‘विक्रम’, एकाएक मेजर गर्ज्यो। ‘यसलाई ठोक्’ भन्दै जवानको हातमा आफ्नो पेस्तोल थम्याइदियो र आफ्नै सुरमा बर्बराउन थाल्यो।
सैनिक जवान विक्रम अघि बढ्यो र पेस्तोल लियो। तर निशाना साँध्न उसका हातहरू मानेनन्।
घरमा उसकी त्यही उमेरकी बहिनी छ जो अहिले उसलाई सम्झेर आँसु बगाउँदैछ। आउन्न भनेर उसले खबर त पठाएकै थियो तर अघिल्लो वर्ष पनि त्यो खबर हुँदाहुँदै पनि कतै अकस्मात् आइपुग्छ कि भनेर दिनभर बाटो हेरेकी रे। बहिनीको मन न हो, युद्धविराम भएकै छ कतै दाइ झुक्याएर आइपुग्ला कि भनेर सबै तयारी गरेकी रे।
उसले कल्पनामै गोली चलायो र त्यो केटीको निधारबाट रगतको भेल छुटेको देख्यो। त्यही निधारमा जुनमा त्यो दिन उसले टीका लगाइदिन्थ्यो।
बहिनीले आफूलाई लामो ठाडो टीका लगाइदिएपछि उसले बहिनीलाई गोलो टीका लगाइदिन्थ्यो तर एक वर्ष जिद्दीपूर्वक उसले पनि बहिनीलाई ठाडै टीका लगाइदिएर बहिनीका साथीहरूले जिस्काएका थिए।
टीका र मालामा सजिएर दाजु बहिनी गाउँभर देउसी खेलेको सम्झेर ऊ त अर्कै संसारमा पो पुग्यो। हात कपाउँदै उसले खस्नै लागेको पेस्तोल मेजरलाई थम्यायो र शिर लत्राउँदै पछि हट्यो।
मेजरले हुँकार छोड्योः ‘तँ कुकुर्नीका बच्चालाई के गर्नुपर्छ, मलाई थाहा छ।’ भीडमा सन्नाटा छायो। सबैको शिर निहुरेको देखिन्थ्यो। केटीको कपाइ बढेर गएको थियो र त्यो अचानोमाथि घाँटी राखेको निर्मम पाठोजस्तै दयनीय देखिएकी थिई। त्यसका आँखामा समेत त्याग, शहादत, बहादुरीजस्ता भाव भेट्न असम्भव थियो।
मेजरले जति त्यसलाई हेर्थ्यो, त्यति आफ्नो खुट्टामा छाँद हालेर रोएकी आफ्नी भतिज बुहारीको अनुहार आउँथ्यो र प्रतिशोधको भाव उर्लेर आउँथ्यो। मेजर फेरि भित्र गएर बचेखुचेको स्यालको रक्सी सिनित्त पारेर आयो। उसका आँखामा अब आगो सजिलै देख्न सकिन्थ्यो।
‘भीम’, अचानक मेजर गर्ज्यो। ‘इन्सब्अर्डिनेशनको मूल्य तँलाई थाहा छ। अहिले यसलाई सिध्या अनि आज तिहार मनाउने माहोल बन्छ। यो ... की बच्चा ... को अनुहार हेरेर मलाई तिहार मनाउनु छैन।’
मेजरले पेस्तोल अघि बढायो। हवल्दार भीम आएर पेस्तोल लियो। सरासर केटीको अघि पुगेर निशाना साँध्यो र ट्रिगरमा औंला पुर्यायो। उसका दिदी बहिनी पनि थिएनन् र तिहारले सानैदेखि उसलाई एउटा पीडा दिँदै आएको थियो। युद्धमा पनि ऊ बहादुरीपूर्वक लड्दै आएको थियो र निकट भविष्यमा हुने बढुवाको सूचीमा उसको नाममाथि थियो।
आज आदेशको अवज्ञा गरेर आफ्नो भविष्य धरापमा पार्ने उसको मनसाय थिएन ।
तर एकाएक भीमले महशुस गर्यो उसले अहिले त त्यो केटीको अनुहार गौरपूर्वक हेरेकै थिएन। निशाना साँध्न जब उसले केटीको अनुहार हेर्यो, ऊ पानी पानी भयो। त्यसमा न विद्रोह भाव थियो न वैरभाव। खाली भयले आक्रान्त एउटा स्त्री अनुहार थियो।
अघिल्लो वर्षमात्र एउटा युद्धको क्रममा ऊ घाइते भएर विद्रोहीहरूको अपहरणमा परेको थियो। युद्धपश्चात जंगलमा पुगेपछि सबै जम्मा भएर उसको भाग्य निर्धारण गर्ने बेला उसको पनि हालत यस्तै थियो। गिरेको नुर लिएर विद्रोही कमाण्डरको अघि उभिँदा उसले सोचेको थियो अब जीवनको आखिर क्षण नै यही हो।
तर विद्रोहीहरूको आश्चर्यजनक उदारताका कारण उसले ज्यान बक्सिस पाएको थियो र आजसम्म यस धर्तीमा उसको अस्तित्व थियो। अन्ततः उसका औंलाले पनि ट्रिगर दबाउन सकेन र ऊ पनि लाचार भएर फर्कियो।
उता मेजर जबराको पारो बढ्दै गयो र ऊ उन्मत्त भएर गज्र्योः ‘तिमी ...का छोराहरूले यसलाई बचाउँछु भन्ने सोचेको? अब एउटा ...का छोरालाई भन्छु, त्यसले पनि मानेन भने मलाई थाहा छ के गर्नुपर्छ। कोही छ आमाको दूध खाएर बढेको भने अगाडि आइज, तँलाई अबको लटमा प्रोमोसन गरिनँ भने मेरो नाक काटिदिनु।’
भीडमा अझै सघन सन्नाटा फैलियो। आज त्यो केटीको इहलीला सकिने हो भन्ने सबैलाई निश्चित थियो तर आफ्नो हातमा उसको रगत लिन कोही तयार थिएन। धेरैलाई लागेको थियो, अरु कसैले त्यो काम सिद्धाइहाले पनि हुने।
सबैका मगजमा आआफ्ना दिदी बहिनीहरू थिए र केहीबेरमा घर जान नसके पनि कम्तीमा त्यहीँबाट उनीहरूलाई फोन गर्नुपर्ने थियो। आजको दिनमा विना भिडन्त मार्नु, त्यो पनि एउटी केटी। भर्ती हुनासाथ तालिम लिँदा मानव अधिकारसम्बन्धी अध्यायमा ठीक यस्तो किसिमको हत्या नगर्नू भनेर दोहोर्याएर तेहेर्याएर भनिएको थियो।
तर सशस्त्र युद्ध सुरू भएपछि त ती सिद्धान्त कता गए कता। यहाँको नीति निर्माता, न्यायदाता र त्यसको कार्यान्वयनकर्ता सबै कमाण्डर हुन्थ्यो। उसको आज्ञा नै सबैका लागि देववाणी हुन्थ्यो।
घाम चढेर डाँडादेखि आकाशमा पुग्यो र दिन न्यानो हुँदै गयो तर ब्यारेकको गलफत्तीले कुनै निकास पाएन र त्यहाँ तनाव भैरह्यो। कागहरू चर्को चर्को कराउँदै यता र उता उड्दै रहे।
मेजर असमञ्जसमा पर्यो। उसले जीवनमा यति ठूलो अपमान कहिल्यै खप्नु परेको थिएन। तिहारकै मौकामा मारिएको उसको भतिजको हत्याको उचित बदला हुने ठानेर नै उसले त्यस केटीमाथिको कारवाहीका लागि त्यो दिन र त्यो साइत जुराएको थियो।
साथै यो कारवाहीको स्कोरले उसको आफ्नो बढुवाको दिन अगाडि सर्ने पनि निश्चितजस्तै थियो। उसले चाह्यो भने आदेश अवज्ञा गर्ने सबका सबलाई कोर्ट मार्शल गरेर जागिरबाटै चट् गरिदिन सक्थ्यो तर पछिल्लो पटक सेनाको जागिरका लागि आउने युवाको संख्या घटेको मात्र नभएर युद्धको ताप खप्न नसकेर जागिरै छाड्ने केटाहरूको संख्या पनि बढेकाले केटाहरूमाथि जुलुम गर्दा “विचार पुर्याउनु” भन्ने माथिको आदेश थियो।
धेरै बेरको सन्नाटा पछि मेजरले फेरि डर लाग्दो गरी सबैलाई हेर्यो र एक एक गर्दै सबैको नाम लिएर बोलायो र फेरि चुनौती दियोः ‘जागिरको माया कसलाई छ?’ न कोही बोल्यो, न कोही अघि नै बढ्यो न त कसैले हात नै उठायो, सबैका शिर झुकेका झुक्यै भए। सबै सोच्दै थिए, यो कष्टकर क्षणबाट कसरी पार पाउने हो।
‘विक्रम’ मेजर गर्ज्यो। विक्रम अगाडि बढेर उभियो। मेजर एकाएक त्यो केटीनेर पुगेर त्यसको हातमा पेस्तोल थमाइदियो र त्यसको हात उठाइदिएर विक्रमतिर निशाना साँधिदियो र कड्क्योः ‘ट्रिगर दबा, अनि तँ बचिस्, नत्र आज म तँलाई गोली ठोक्छु, यी कायरहरूलाई पालेर केही फाइदा छैन।’
पहिल्यैदेखि पिल पिल गरिराखेको केटीका आँखाबाट आँसुको भेल छुट्यो, त्यो हिक्का छाडेर रुन थाली। आखिर ऊ पनि त क्रान्तिमा होमिनु अघि आजको दिनमा आफ्ना दाजुभाइलाई टीका लगाएरै हुर्केकी त हो।
हात झटकारेर ट्रिगरबाट हटाएपछि त्यो बच्चाजस्तै कोकोहोलो मच्चाएर रुन थाली। त्यसको रोदन वरिपरिका चार गाउँको आकाश चिरिने गरी फैलियो। पछि उभिएका जवानहरूका समेत आँखा रसाए। त्यत्तिकैमा व्यारेकको मूल गेटमा होहल्ला र त्यस्तै रोदन सुनियो। व्यारेकको जवानले रेडियोबाट भन्दै थियो कुनै बहुला आएर गेटमा धर्ना दिएको छ। मेजरको खै कुन जङ चल्यो, त्यसलाई घिसार्दै भित्र ल्याउने आदेश दियो।
एकै छिनमा एउटा महिनौको भोकोजस्तो लाग्ने मगन्ते भेषको एउटा मानिस ल्याइपुर्याइयो। कलेंटी परेका नीला ओठ, पहेंला दाँत, मैलो न मैलो सेतो कमिज, एउटा पातलो पाइन्ट र थोत्रा चप्पल भरेको त्यो मानिस जाडोले काम्दै थियो र हेर्दै ज्वरोले ग्रस्त भएजस्तो देखिन्थ्यो। ओढारभित्र छिरेका आँखाले उसले वरिपरि नियाल्दै गर्दा सबैचाहिँ अघिसम्मको अप्रिय विषयबाट सबैको ध्यान मोडिएकोमा आफूमाथिको बोझ केही हल्का भएको महशुस गरिरहेका थिए।
नयाँ परिस्थितिमा अक्क न बक्क भएजस्तो भएर रुन छाडेकी केटीचाहिँ अब एक्कासी मुर्छित हुन पुगी। ढल्नुअघि त्यसले भनेको एक शब्दले सबैको ध्यान खिच्योः “दा======जु=======”
मगन्तेजस्तो मानिस पनि एकैचोटि सपनाबाट ब्युँझेझैं भयो र केटीतिर दौड्योः “सरला====== मेरी बहिनी========”
एकैछिनमा त्यो मानिस बहिनीलाई बेवारिस छाडेर मेजरको पाउमा लम्पसार पर्योः “हजुर मेरो प्रभु हो। हजुरको दया नभएको भए आज भाइ टीकाको दिन मैले कसरी बहिनी भट्टाउँथें? यल्ले लहैलहैमा लागेर गु खाएकै हो। स्कुल गएकी बहिनी एक दिन अचानक गायब भई र छ महिनापछि बन्दुक बोकेका मान्छे आएर तिम्री बहिनी देशका लागि लड्दालड्दै पक्राउ परी भनेर गए। आज उसलाई खोज्दाखोज्दै मेरो यो हाल भयो।’
आगन्तुक अब भुइँमा टुक्रुक्क बसेर भगवानलाई धन्यवाद दिँदै बर्बराउन थाल्यो। बहिनी चाहिँ बिस्तारै उठेर बसी र अपलक दाजुलाई हेर्न थाली।
ब्यारेकको माहोल एकाएक बदलियो। वास्तविक जीवनमा यस्तो नाटक कमैले देखेका थिए। अब सबैको ध्यान मेजरतिर थियो। अन्ततः मेजर उठ्यो र दबेको स्वरमा भन्यो ‘तुरुन्त यी दुईको भाइ टीकाको व्यवस्था गर्नू। साथै देउसीखेल्ने पनि तयारी गर्नू। म एकछिन आराम गर्छु।’
मेजर कोठामा छिर्नु मात्र के थियो जवानहरू जोड जोडले एक अर्कालाई अंकमाल गर्न थाले र महिनौंदेखिको विरक्त र परित्यक्त आगन्तुकले पनि महिनौंपछि मानव जातको न्यानो अँगालोको सुविधा पायो।
केही घण्टामा ब्यारेकको चौरमा अभुतपूर्व दृश्य देखियो। कसैले दिएको हरियो ज्याकेटमा सजिएको आगन्तुकलाई उसकी बहिनीले काँप्दा हातले टीका लगाइदिँदै थिई। एकै छिनमा दृश्य परिवर्तन भयो। सबै जना मच्ची मच्ची देउसी खेलिरहेका थिए र मेजरचाहिँ सकीनसकी भट्याइरहेको थियो।
विक्रम र भीम खासगरी बढी खुसी दखिन्थे। वास्तवमा वर्षौंदेखि यति रमाइलो तिहार कसैको भएकै थिएन। नाचेर लखतरान भएपछि मेजरले विक्रम र भीमलाई एकतिर बोलाएर भन्योः ‘आज तिमी दुईजनाले मलाई बचायौ।’
उसको कुरा सुनेझैं नजिकैको रूखमा भएका दुइटा डांग्रे चराहरू हाँसे झैं किक्याऊँ किक्याऊँ गर्दै भुरुरु उडे। हिउँदको दिन त्यति राम्ररी खुलेको मलाई पनि थाहा छैन।(सेतोपाटी आर्काइभबाट)