म आँसु बगाएर खुसीमा रमाउन जाँदैछु
लाखमा बेचेर जीवन हजार कमाउन जाँदैछु
संघर्ष गर्दागर्दै खोइ कहाँ साटिए खुसीहरू
बाबा म तिम्रो ओठको मुस्कान फर्काउन जाँदैछु
गाह्रो छ तिमीलाई पनि मैले बुझेको छु
एउटालाई नपन्छाउँदै आइहाल्छ अर्को
कस्लाई के भनेर भाका सारेका छौ मैले सुनेको छु
लाउनु छ ती सबको मुखमा बोल्न नसक्ने गरी बुझो
त्यसैले त बाबा जवानी साटेर धन किन्न जाँदैछु
किस्तामा पैसा तिर्दै जोडेको दस धूर माटो
आफ्नो नाममा पास गर्न लागेको तिम्रो सिंगो जवानी
आज त्यस्कै एक छेउबाट पाँच धूरको कित्ताकाट गर्दा
तिम्रो मनमा कति प्लट बने मैले गनेको छु
प्रत्येक प्लट जोडेर सिंगो कित्ता बनाउन
बचेको एक कित्तालाई नयाँ साहूकोमा राख्दै छु
त्यसैले त बाबा तिम्रो जवानीलाई तिम्रै बनाउन जाँदैछु
कति रहर नउम्रिँदै मरे तिम्रा कति रहर उमारेर मार्यौ
कति दु:ख जमरा झैं ढाक्यौ कतिलाई थाहा नपाउँदै सार्यौ
बाँसको फेदमा बाँस नै उम्रन्छ दु:ख बढेर सुख कहाँ हुन्छ!
यो सबै बुझेर नै त होला तिमीले आफ्नै मन दह्रो पार्यौ
तिम्रा रहरलाई बढाएर सुखको छहारी दिन
थाकेका हात पाउमा नयाँ ऊर्जा भर्न
म पसिना बेची खुसी किन्न जाँदै छु
त्यसैले त बाबा म तिम्रो मुस्कान फर्काउन जाँदैछु ।
म आँसु बगाएर खुसीमा रमाउन जाँदैछु
लाखमा बेचेर जीवन हजार कमाउन जाँदैछु
संघर्ष गर्दा गर्दै खोइ कहाँ साटिए खुसीहरू
बाबा म तिम्रो ओठको मुस्कान फर्काउन जाँदैछु