कस्तो अचम्म!
आज बीच चोकमा
चित्रगुप्तसँग अनायासै जम्काभेट भयो
उनले मेरो हात समाए
सडक कुनामा पुर्याए
र, कानमा फुस्फुसाउँदै सोधे
मनुज स्वर्ग जान्छौ?
म अवाक् भएँ
म जस्तो सग्लो, हट्टा-कट्टा, निरोगी मान्छे
नमरी कसरी स्वर्ग जाउँ?
मैले अनुनय गरे
महाराज मैले अरु केही गर्न नसके पनि
मेरा काँधमा डाँडाको घाम जस्ता बाआमाको
सयपत्रीको कोपिला झैं
फक्रन खोज्दै गरेका नानीहरूको
गुराँसै शिरमा सजाउने रहर पालेकी प्यारीको
दायित्व गाँसिएको छ
मेरा आफ्नै सपनाको फेहरिस्तबाट
एक-दुई सपना पनि त पूरा गर्नु छ
मैले हात जोड्दै बिन्ती गरे
प्रभु मलाई ज्यान बक्स होस्
मलाई अहिल्यै स्वर्ग देख्नु छैन
मेरो डर छेरुवा अनुहार हेरेर
मुस्कुराउँदै उनले भने
‘स्वर्गको टुर’ सकिएपछि
म तिमीलाई पृथ्वी मै छोडिदिउँला
म ज्ञानी बालक झैं उनको पछिपछि लागे
स्वर्ग त बडा गज्जबको रहेछ
हिजो
दर्जीका दलानमा खुट्टै नहालेकाहरू
कामीका करेसामा पाइलो नटेकेकाहरू
सार्कीसँगै साँध जोडिएर नि सामिप्यता नभएकाहरू
चमारलाई ‘चल्ने’ नमान्नेहरू
रंग, वर्ण, जातभातसँगै ‘माथिमुनि’ देख्नेहरू
एउटै मालाका फूल झैं भएछन्
हिजो
पुलपुलेसामा
स्कुल-कलेजमा
चोक-हस्पिटलमा
चौकी-ब्यारेकमा
उद्योग-कलकारखानामा
बम, बारुद र गोली पड्काउनेहरू
आज तिनै बारुदका छर्रा
र गोलीका खोका हटाउँदै
पुलपुलेसा, स्कुल, कलेज
चोक, चौकी, ब्यारेक, हस्पिटल
उद्योग, कलकारखाना र बाटा बनाउन
नि:स्वार्थ भावमा कम्मर कसेर लागेका रहेछन्
पेशाकर्मी कस्तो व्यवसायिक भएछन्
न त नेता झैं लाग्ने
घूसखोर कर्मचारी भेटियो
न ठेकेदार झैं लाग्ने
कामचोर शिक्षक देखियो
न त ‘यमराज’ कै रूप लाग्ने
नक्कली डाक्टर र पाइलट पाइयो
न चोर झैं लाग्ने पुलिस भेटिए
न बलात्कारी सेना देखिए
न पैसामा बिक्ने काला कोटधारी देखिए
न आँखामा धूलो छर्ने ठेकेदार भेटिए
न त धर्मका व्यापारी देखिए
न त अज्ञानी अगुवा भेटिए
न त टायरको मुस्लो देखियो
न त रेलिङ भाँचेको भेटियो
न त बन्दकर्ता देखिए
न सिण्डिकेटवाला भेटिए
न त बाटोमा फोहोर देखियो
न त खोलामा ढल भेटियो
न त बोक्सी भन्नेहरू देखिए
न त दाइजो माग्नेहरू भेटिए
एउटा कुनामा नेताहरूको हुल देखियो
हिजो
जातजात टुक्राउन राजनीति गर्नेहरू
क्षेत्रक्षेत्र फुटाउन राजनीति गर्नेहरू
आज जात र क्षेत्र जोड्ने भएछन्
ओहो, कस्तो मीठो आश्चर्य!
हिजो धर्मधर्म लडाउन राजनीति गर्नेहरू
आज राजनीतिको धर्म बुज्ने भएछन्
स्वर्ग नआउनु जो आइसकेपछि
महाराज ‘इन्द्र’को दर्शन गर्नै पर्यो
खोइ त महाराज ‘इन्द्र’
मुस्कुराउँदै चित्रगुप्त बोले
महाराज त आफूले पकाइखाइ गरेको भाँडा माझेर
तल्ला गाउँको कुलो खन्न गइबक्स्यो
ओहो! स्वर्ग त कस्तो रमाइलो रहेछ
मलाई स्वर्गबाट फर्कन मनै थिएन
बिहानीको अलार्म बजिहाल्यो