को हुन् भगवान
को हुन् दानव
द्वापरयुगमा अवतरित कृष्ण वा
कलियुगमा अवतरित अलकायदा
किन??
गीताका पाना पानामा
देखिँदैन छाप
आइएस आइएस अतिवादीको?
कहाँ पाइन्छ धर्मात्मा र
कहाँ खसालिन्छ बम??
सिरियामा रसायनिक हतियार चलाउनेले
किन सुनेनन् वृन्दावनमा मुरलीको धून??
‘भगवत् कृपा हि केवलम्’
कुन भगवानको दयाले बाँचिरहेछन्
मानिसहरू बम र बारुदसँग
को हुन्??
चमत्कारीहरू
तान्त्रिकहरू
साधकहरू
ध्यानीहरु
ऋषि महर्षीहरू
योगीहरू
सन्त-महात्माहरू
एउटा भूगोल पक्षघात भएको
विस्फोट भएको, घाइते भएको
टुलुटुलु हेरिरहेछन्
के हो तत्व ज्ञान भनेको??
जस्ले आँशुलाई मुस्कानमा बदल्न सक्दैन!!
किन??
मौनताको लघुविस्राममा अडिरहेछन्
भगवानहरू, खुदाहरू ,गडहरू ,परमेश्वरहरू;
के तिनको मन पग्लिदैन??
‘यदा यदा हि धर्मस्य ग्लानिभर्वति भारत।
अभ्युत्थानमधमर्स्य तदात्मानं सृजाम्यहम्।’
के हो धर्मको परिभाषा??
द्वन्द्व ,युद्ध र गोलाबारुददेखि
भागेका शरणार्थीलाई
काडेबारले छेक्नु??
के यही हो धर्म??
एलेप्पो र दमास्कसमा
चिच्याइरहेका करोडौं आवाजहरूलाई नसुन्ने हामी;
घरमा बहिरो मूर्ति स्थापना गरेर
कहिलेदेखि आध्यात्मिक हुन पुग्यौं
जवाफ देउ मलाई??
रक्तस्नान गरेर
बिहान बिहान छापामा
दुःखद समाचार मन्त्रिएर
लासको चाङहरूमा चुपचाप
केही नसुनेझै गरी
केही नदेखेझै गरी
केही नबुझेझै गरी
हामी बुद्ध प्रतिमा जस्तै
ध्यानी बन्ने नाटक गरिरहेछौं
मानवीय संकटमा
यो भन्दा अर्को मिथ्या अहंकार
अर्को हुनै सक्दैन??
कुनै सहर
यसै जुनीमा नाटकीय जीवन भोग्दा भोग्दै
मरेपछि स्वर्ग जाने लालसामा
हामी तीर्थ धाइरहेछौं
के प्रेम र करुणाको टुकी लिएर
नाइटेंगलझै जान सक्दैनौ त्यता??
ठूला शक्ति राष्ट्रहरू
हिलो छ्यापाछ्याप गरिरहँदा
ए शान्तिभूमिका तिमी भिक्षू र आनीहरू
अन्तरचित्तमा स्थापना गरेर ध्यानस्थ बुद्धलाई
जप्दै ‘अप्प दीपो भव:’
सीमानाको पर्खाल नाघेर
के तिमी जान सक्दैनौ
सहयोगी भावको निर्वाण प्राप्त गर्न??
के हो युद्ध?
के हो विद्रोह?
के हो संघर्ष?
के हो पहिचान?
आउ सबै मिलि
अनिश्चितताको कालो बादल हटाएर
अञ्जुलीबाट सेतो परेवा उडाउ
आउ
तिमी मेरो गीता पढ
म तिम्रो कुरान पढ्छु
म तिम्रो बाइबल पढ्छु
अनि मानवता नै सर्वश्रेष्ठ धर्म हो
यही कुरा विश्वभरि पढाउँछु।।