टिन टिन टिन बज्छ घन्टी मेरो बन्द ढोकाको
म सुन्छु, सुनिरहन्छु 
 मेरो बन्द ढोका 
 खोलिनै पर्छ भन्ने छैन 
 खोल्नुपर्छ नै भन्ने छैन 
 
 बाँसको तगारो 
 काँडाको झ्याङ 
 ढुंगाको पर्खाल 
 बढेमानको फलामे गेट 
 अनि सानो कुनै कुनामा रहेको घन्टी 
 यही भन्छन् 
 ढोका खोलिनै पर्छ भन्ने छैन 
 खोल्नुपर्छ नै भन्ने छैन 
 
 ढोका, मन र मस्तिष्क खोलिन्छन् त्यत्तिखेर 
 जब म चाहन्छु 
 र खोलिन्छन् तब 
 जब घन्टीको आवाज मनको बाटो मष्तिष्कमा पुग्छ 
 अनिमात्र हात र खुट्टा ढोका खोल्न हुन्छन् तयार 
 
 बुझ्नु भो हैन त? 
 कि घन्टी बजाउँदैमा यहाँले 
 मैले खोल्ने छैन मेरा बन्द ढोका, मन र मष्तिष्क!