आमा,
आज म चाँडै निदाउने छु
तिमी बेलैमा मेरो सपनीमा आऊ है
यो मन अघाउञ्जेल
तिमीसँग बात मार्नु छ आमा
रूनु छ डाँको छोडेर तिमीसँग
अनि,
मनको गरूङ्गो भारी बिसाउनु छ
आमा! तिमी सपनीमा आऊ है!
कस्तो होला यो आमा शब्द!
हेरन
हिजो बेल्का रोटी पकाउँदै थिएँ
तावाले हात डाम्दा
थाहा छ? मैले तिम्लाई सम्झिएँ,
ऐयाऽऽ माँ ।
भर्याङमा खुट्टो ठोसिँदा नि
तिम्लाई सम्झन्छु
ऐया ऽऽ माँ ।
थाकेर सुस्केरा हाल्दा नि
तिम्लाई नै सम्झन्छु
ऐयाऽऽ माँ ।
रूँदा, हाँस्दा, थाक्दा, दुख्दा
कहाँ होला
कतिखेर होला
तिम्लाई नसम्झेको ?
थाहा छ, जान्दछु आमा
यो धरामा टेक्नेजति
सबैले धर्ती छोड्नै पर्छ ।
तैपनि
कहिलेकाहिँ यो मन
पटक्कै बुझ्दैन ।
नियतिले झुक्यायो आमा
तिम्लाई, हामी सब्बैलाई
त्यो समय
न साट्न मिल्ने
न फेर्न मिल्ने
न उधारेर हेर्न मिल्ने !
आमा !
अस्ती भर्खर
माईत जाँदा
तगारोमा तिम्ले ओच्छ्याउने
मायालु आँखा थिएनन्
आइपुग्यौ ! भनेर मुसुक्क
मुस्काउने ओठ थिएनन
शीर निहुर्याउँदा
‘भाग्यमानी’ भनेर
उठ्ने आशीर्वादका
तिम्रा हात थिएनन्।
थिए त केवल
फिक्का आँगन
अँध्यारो पिँढी
सुनसान मझेरी
अनि,
चुपचाप बार्दली
उपल्लो तलो त
म उक्लिँदै उक्लिनँ ।
आमा,
भन्दा रैछन् नि !
बितिसकेका मान्छेलाई
सपनीमा देख्यो भने
नजाती हुन्छ रे !
कठै !
कसरी होला नजाती ?
मैले दशकौंदेखि
देखेका
चिनेका
जानेका
ब्यहोरेका
मेरा आत्मीय मान्छेलाई नदेखे
म सपनामा कसलाई देखूँ ?
मेरी आमालाई
नदेखे
नभेटे
म सपनामा कसलाई भेटूँ?
त्यसैले,
तिमी सपनीमा आऊ है ।
आमा,
तिमी जहाँ छौ
त्यहाँका हर चिजलाई
धैर्यताको पाठ पढाउँदै हौली
साहसको पहाड उक्लन
सिकाउँदै हौली
सागर झैं बन्नु
भन्दै हौली !
यो जीवनरुपी दियोमा
ऊर्जाको तेल थपिदिन
सपनीमै भए पनि
आई राख है !
आज त झन्
तिम्रो मुख हेर्ने दिन
कत्ति भो तिम्लाई नदेखेको
आमा,
बोल्छु तिमीसँग
मन खोल्छु तिमीसँग
तिमी बेलैमा आऊ है !
मेरा परेलीका ढोका
ढप्किन लागे
तिमी चाँडै भित्र छिर है
आमा,
तिमी सपनीमा आऊ है
आज साँच्चै आऊ है !