आरुका गुलाबी झुप्पाहरूमा
बकाइनाका टुप्पाहरूमा
हल्लिँदै, बत्तिँदै, आकासिँदै
आयौ वसन्त फेरि तिमी ।
गुराँसका लालीमा
मयलका डालीमा
हाँस्दै, खेल्दै, रमाउँदै
आयौ वसन्त फेरि तिमी ।
तिमी आउने बाटाहरूमा
आँखा ओछ्याएकी म
फुरुङ्ङ पर्दै तिम्लाई अँगाल्छु
झुम्छु, चुम्छु, लहराउँछु
तिमीमै हराउँछु ।
मदहोस तिमी !
रंगीन म !
अघिल्ला वर्षहरूझैं
गर्भिणी हुन्छु
खुसीले सगरमाथा छुन्छु ।
जेठको घाम ओढेर
गर्भसितकी मलाई छोडेर
जान्छौ तिमी दूर देश
म अनेक दुःख कष्ट सहेर
वर्षेनी सन्तान जन्माउँछु ।
वसन्त, देखेका छौ ?
हरेक वर्ष जन्मिएका
सन्तानका ताँती लागे
थाहा छ तिम्लाई ?
म कतिकति कविताकी
आमा बनें ।
मैले यिनलाई
मायाले सिँचे
स्याहारें !
तिमीबिना
हाँस्न सिकाएँ !
बाँच्न सिकाएँ ।
यिनकै भविष्यका लागि
कहाँ पुगिनँ,
के मात्र सहिनँ ।
कयौं गिद्दे नजरहरूले कोपिएर
सयौं तिखा आँखाहरूले
पटकपटक घोचिएर
बलात्कृत मेरा कविताहरूलाई
कसैले गुटमुटाएर
‘फोहोर मलाई’मा हाल्दिए ।
कसैले च्यातेर,
बीच सडकमा फाल्दिए ।
भन्छन् !
मेरा कविताहरू
बोल्न जान्दैनन् रे
मन खोल्नै जान्दैनन् रे
शक्तिहीन मेरा कविताहरू
अर्थहीन मेरा कविताहरू !
कठै !
मेरा अपाहिज सन्तानलाई
अँगालेर धेरैबेर रोएकी छु
आँसुले हृदय धोएकी छु ।
त्यसैले वसन्त !
जन्माउँदिन म सन्तान
बन्दिनँ म कविताकी आमा
थाकिसकें
गलिसकें ।
भो वसन्त, अब मलाई
आमा नबनाऊ
वसन्त !
यसपालि तिमी आउँदा
बन्ध्याकरण गरेर आऊ
विन्ती !
बन्ध्याकरण गरेर आऊ ।