कस्तो मुर्ख बा तिमी
मुर्खको लौरै रैछौ!
पटमुर्ख,
जाबो गरिब जनताका
छोराछोरीले नि
डाक्टर पढ्नी हो र ?
यस्ता वाहियात् कुरा
कसरी आयो तिम्रो दिमागमा!
देखेनौं तिम्ले?
तल्लाघरे साहिँलीको छोरो
दोबाटे काकाकी छोरी
डिल्ले दाईको माइलो छोरो
बाटागरे ठूलाबाकी बुहारी
हतार गर्दै कतार पुगिसके
यी सबैले डाक्टर बन्ने रंगीन
सपना देख्दैनन् बा
गरिबका छोराछोरी त
आफ्नो चुहिएको धुरी टाल्न
विदेशीका छाना छाउन जालान्
आफ्ना बाआमा अलपत्र पारेर
विदेशी बाआमाका र्याल पुछ्न जालान्
हुन्देउ तिमी उठ ।
तिम्लाई थाहा छैन र
ऊबेलाँ १७ हजार त मरे
तिमी जाबो बबुरो
मरेर के हुन्छ !
त्यसैले तिमी ढल्नि होइन
तिमी गल्नि होइन
उठ, तिमी उठ ।
जैरे जनताले सिटामोल नपाए के!
जीवनजल नखाए के!
पाठेघर खसेकी कालीकोटे आमाले
टुक्रुक्क बसेर आगो फुक्न नसके के!
पायल्स रोगी जाजरकोटे बाले
टुक्रक्क बसेर भैंसी दुहुन नसके के!
जान्दछौं नि तिमी
निर्मला पन्तको लासमाथि कुल्चँदै
रेशम चौधरीको बुई चढ्दै
टोलैटोल, पोलैपोल उक्लिँदैछ समृद्धि
त्यसैले हाम्रो पिर नगर बा
तिमी जुरुक्क उठ ।
तिम्ले त अर्कै झण्डा ओढेका छौ रे!
तिम्लाई अर्कैले बोकेका छन् रे!
सत्ताको पावरवाला चश्माले
के के देख्छ कुन्नि!
म त तिम्ले राष्ट्रिय झण्डा ओढेको देख्छु
गरिबलाई बोकेको देख्छु ।
हुन्देउ, भोकभोकै नसुत बा
उठ, तिमी उठ ।
भिर घाँटीमा स्थेटेथोस्कोप
लगाऊ सेतो कोट
चढ करोडौंका गाडी
अनि चहार अस्पताल, अस्पताल
बोलाउ बिरामीलाई
तिम्रा नाम टाँगिएका महँगा क्लिनकमा
डाक्टरको धर्म यही होइन र!
बा,
हामी गरिब,
उपचारको निम्ति
घरखेत बन्धकी राखौंला
सहयोगको याचना गर्दै
जतिसक्दो सेयर गरिदिनु भन्दै
सामाजिक सञ्जालका भित्तामा
नमस्कार गरेका फोटा टाँगौंला ।
उठ बा !
सँगै सपना देखौंला
सान्दाइ खाडी पुगेर मालिकका
गाडी पुछ्दै छन् रे
ल्याउलान् नि दुईचार पैसा !
अनि हामी पनि कुनै दिन
चरेशको थालमा मार्सीको भात
पस्केर खाउँला ।
त्यसैले
उठ डाक्टर बा, उठ ।