चुहाइ धारा पसिनाका
खनी खोरिया, फुटाइ बाँझो
अनिदै कुरेर रात रातभर कुलो
फलाएथें एक मुठी अन्न
त्यही अन्नले पालेथें एउटा सानो परिवार
कोपिला फक्रेझैं फक्रेथे छोराहरू
खन्थे बारी, हिल्याउँथे खेत
रोप्थे धान, बोक्थे बिटा
अहो, क्या स्वर्ग थियो खड्गप्रसाद
हो त्यो स्वर्ग नै थियो ।
एक दिन,
एक दिन
आए अपराधी राक्षसहरू
लगे फूलजस्तो मेरो छोरालाई
शरीर थङ्थिलो हुने गरी कुटे
हाडहरू पटपटी भाँचिने गरी कुटे
अनि हात बाँधेर लडाए भुइँमा
र असहाय मेरो छोरालाई हाने गोली
ड्याङ ड्याङ
खड्गप्रसाद,
तिनले छोरालाई मात्रै मारेनन्,
आधा मलाई मारे, आधा बुढीलाई मारे
रक्तपिपासुहरूलाई के पुग्थ्यो,
गोठका गाइभैंसीलाई दाम्लैमा भोकभोकै मारे
आधा ज्यान बचाएर भाग्यौं गाउँबाट
भोको पेट, खाली खुट्टा, खानु न खुट्नु
कति डाम्यो चिसोले, कति हान्यो स्याँठले
रगत बग्यो चर्चरी फुटेका पाइतालाबाट
स्याप्प सुके गाला र पेट
जिंरिंग भए दारी र कपाल
फुस्स गएको भए पनि त हुन्थ्यो नि यो ज्यान,
गएन खड्गप्रसाद ।
त्यही आधा ज्यान लिएर, न्यायको झिनो आश लिएर
पुग्यौं तिम्रा दरबारका गेटसम्म
कठै, हामीलाई के छिर्न दिन्थ्यौ र
उठाएर पुर्यायौ मानसिक अस्पतालमा
गुमेको थियो हाम्रो सिंगो छोरो
गुमेका थिए हामी दुवैका आधा ज्यानहरू
तर तिमीले भन्यौ हाम्रो मानसिक सन्तुलन गुम्यो
यो कस्तो न्याय हो खड्गप्रसाद ।
अधमरो शरीरमा आधा ज्यान लिएर
खाना नखाइ लड्यौं न्यायका लागि
दिवंगत पुत्रको आत्माको शान्तिका लागि
सरकार आए, सरकार गए
पार्टी आए, पार्टी गए
तर खै, आएन न्याय, आएन उज्यालो
यस्तैमा एक दिन फुस्स मेरो ज्यान गयो खड्गप्रसाद
त्यही दिनदेखि बन्द छु यो कठ्यांग्रिने धातुको बाकसमा
अहो, कति कठोर, कति निर्मम यो बाकस
न कोल्टे फर्कन मिल्छ, न स्वास लिन मिल्छ
तर नि खड्गप्रसाद
हिउँ जमेको यो बाकसभन्दा कठोर भयौ तिमीहरू
कठै गंगामागा
पसिना र रगतका धारा बगाइ
बनाइथी सानो सुखी संसार
जब कसाइहरूले भताभुंग पारे त्यो
न्यायका लागि कति लडि त्यो
कतिपल्ट छिर्के हानेर लडायौ त्यसलाई
कतिपल्ट आश्वासनको ललिपप खुवायौ त्यसलाई
उसका आँखाले निद बिर्से, आन्द्राले खाना बिर्से
तै पनि लडिरही गंगामाया
सुन्दैछु खड्गप्रसाद
छोराको र मेरो पूरै, अनि गंगामायाको आधा ज्यानले नपुगेर
अहिले लिँदै छौ रे अर्को सत्याग्रहीको ज्यान
हुँकार छाड्दैछौ रे दम्भको
सत्याग्रहीसित नजर लडाएर जुध्न नसकेपछि
चटके शिखण्डीहरूलाई खटाएका छौ रे,
सत्याग्रहको प्रतिकार गर्न
कान खोलेर सुन खड्गप्रसाद
भोकै बस्दैमा सत्याग्रह हुने भए,
संसारमा लाखौं सत्याग्रही हुन्थे
तिम्रो चटके शासनमा,
सत्याग्रहको चटक गर्न पनि छाडेनौ खड्गप्रसाद
अलिकति लोकको लाज मान,
अलिकति जीवनको क्षणभंगुरता चिन
पाखण्डी पवनपुत्रहरूको भीडबाट
अलि पर गएर एकान्तमा सोच खड्गप्रसाद
नेपालजस्तो सानो देशलाई,
के एउटा सत्याग्रही मारेको कलंक कम छ
र मार्न उद्यत छौ अर्को सत्याग्रहीलाई
तिम्रो शासनमा नि खड्गप्रसाद,
यो चिसो हिउँ भरिएको बाकसभन्दा
निसास लाग्दो छ सिंगो देश
जहाँ निहत्था मारिन्छन्
हत्यारा पुरस्कृत हुन्छन् ।
बाकसभित्रबाट हेरिरहेछु खड्गप्रसाद
भित्रन्छ तिम्रा दरबारमा,
अपराधीहरूको कालो धन वैदेशिक लगानी बनेर
चोरेको धन, लुटेको धन, खोसेको धन
त्यसैले चल्छ तिम्रो मोजमस्ती
त्यही धन पचाएर चिसो डकार डकार्नेहरू
मग्न छन् हामीलाई पागल सावित गर्न
ध्यान देऊ खड्गप्रसाद
जब हुन्छ नि अचाक्ली, टुट्छन् मान्छेका धैर्यका बाँध
आवाजविहीनहरू बोल्न थाल्छन्, दृष्टिविहीनहरू देख्न थाल्छन्
याद गर खड्गप्रसाद,
जे झुक्दैन नि, त्यो पिटिक्क भाँचिन्छ एक दिन,
फेरि कहिल्यै काम नलाग्ने गरी
फेरि सत्याग्रहीलाई मारेर त हेर
मजस्ता बरफको बाकसमा बन्द मानिस पनि
सडकमा निस्केनन् भने म पनि हेरौंला ।
होसियार, खड्गप्रसाद।
यो पनि :
मैना–मदन संवाद