आज, तिमी आउने दिन
बर्षेनी पर्खन्थें म
तिम्रो आउने समय
तिम्रै पखाईमा हुन्थेँ
सरसफाईमा हुन्थेँ ।
तर, यसपाली
मैले तिम्रो स्वागतका लागि
दैलामा जोर बत्ति बालिन
अहँ,
बनाइनँ आँगनमा रंगीन रंगोलीहरु
अनि झुण्ड्याइनँ
झिमिक् झिमिक् आँखा झिम्क्याउने
राता, पहेंला, नीला बत्तिका झुण्डहरू
लामा लर्कनहरू ।
थाहा छ मलाई,
तिम्लाई अँध्यारो मन पर्दैन ।
उज्यालो मन पर्छ
झलमल्ल उज्यालो ।
त्यसैले त तिमी
उज्यालाहरूलाई
उज्यालो थपिरहन्छ्यौं ।
यतिवेला
सम्झँदै छु ती अँध्यारा घरहरू
अँध्यारै होलान् !
रतन्धोले थलिएका
दूरदराजका वस्तिहरू
छाम्दै होलान् घरका भित्ताहरू ।
जान्दछु माता
तिमी ति निष्पट्ट,
चकमन्न वस्तिहरूमा पस्दिनौ
ति अँध्यारा सन्दुषहरूमा बस्दिनौ
तिमी त
उज्यालो खोज्छ्यौं
मात्र उज्यालो रोज्छ्यौ ।
माता !
तिमी कसरी बन्न सक्छ्यौ
पक्षपाति !!
हेर त अँध्याराहरू
अँध्यारैमा जन्मिन्छन्, अँध्यारैमा मर्छन् ।
किन देख्दिनौं,
अँध्यारामा हुर्किएका उज्याला मनहरूलाई !
बटुकोमा अलिकति तेल हुँदो हो त
मसमसि घस्ने थिइन् होला
एउटी आमाले अबोध शिशुलाई ।
कसरी बालुन् तिनले,
तिम्रो नाउँमा दियोहरू !
अलिकति रंग हुँदो हो त
रंग्याउने थिए आफ्ना सपनाहरू
आफ्नै जीवन ।
कसरी रंग्याउन् तिम्रा लागि
आँगनहरू !
कठै एक मुठि पिठो हुँदो हो त
खानी थिई होला सानी लक्ष्मीले
मीठो खोले ।
कसरी बनाउन् तिन्ले
तिम्रा पैतालाका सेता डोबहरू !
माता !
तिमी हिँड्ने कोरिडोरमा
उक्लने भ¥याङमा
तिम्रा पैतालाका छाप बनाएर
तिम्लाई भित्र्याइन मैले ।
यदि
मेरो बसमा हुँदो हो त
तिम्रा पैतालाका छापहरू
छाप्दै, छाप्दै, छाप्दै, छाप्दै
कालीकोट, जाजरकोट,
हुम्ला, जुम्लाका
अँध्यारा वस्तिवस्तिमा
दैलादैलामा पुग्नेथिएँ ।
देखाउने थिएँ तिम्लाई
त्यहाँका अँध्याराहरू
अँध्यारोमा फूलेका सुन्दर फूलहरु
जो तिम्लाई नदेखि
नभेटि ओइलाउँछन् ।
माते ! विन्ती
तिमी सहरबजारका
सेफहरुमा मात्र होइन,
विकट गाउँका
कट्कटिएका थैलीहरूमा
पसांगिएका सन्दुसहरूमा पुग
जो बर्षौंदेखि तिम्लाई पर्खिरहेछन् ।
माता !
तिमी जान्दछ्यौ होला
तिमीले युगौं पहिले
भाला रोपेर मारेको महिषाशुर
कसरी व्युँतियो कुन्नि !
हिजोआज
हाम्रा छोरीचेली माथि
भाला रोप्दैछ ।
तिमीले छातीमा टेकेका चण्डमुण्डहरू
हाम्रै छोरीहरूका छाती कोपर्दै छन् ।
हिजोआज
समय राम्रो छैन माता
बरू तिमी सखारै आऊ
चाँडै आऊ ।
दिउसै त एक्लै हिँड्न गाह्रो छ
त्यसैले तिमी एक्लै नआऊ
बरू साथमा नारायण लिएर आऊ
तिमी एक्लै नआऊ ।