Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, भदौ २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

निरूको घर

रवि कुमार श्रेष्ठ

रवि कुमार श्रेष्ठ

‘छोरीको जन्म, हारेको कर्म’ नारायण गोपालको गीतले विश्वज्योति सिनेमा हल गुन्जिरहेको थियो।

चलचित्र ‘कान्छी’को यस गीतले हलभित्र सबैलाई भावुक बनाएको थियो। मेरो आँखाबाट साउने झरीझैं आँसु बगिरहेको थियो। मेरो छेउछाउका मानिसहरूको हालत मभन्दा कम थिएन। यो वि.सं. २०४२ सालतिरको कुरा हो।

म विराटनगरबाट आइएससीको दोस्रो वर्षमा अमृत साइन्स कलेजमा भर्ना भएको साल हो। यस गीतका हरेक शब्दले मेरो कलिलो मन–मस्तिष्कलाई छोयो। मेरो मन खुब रोयो। त्यस रात मेरो मनमा धेरै कुराहरू खेले। अनेक प्रश्नहरूले मेरो मनलाई चलाउन थाल्यो। के छोरीको जन्म हारेकै कर्म हो त ? सृष्टिलाई निरन्तरता दिएर यस प्राकृतिक संसारको अस्तित्व जोगाउने चाहिँ को हो त ? किन छोरीको जन्म हारेको कर्म भनेको होला ?

खासमा निरूको जीवनले मलाई त्यही कान्छी फिल्मको गीतको याद दिलायो। उनको नाम निरू श्रेष्ठ हो। उनी धरानको पुरानो बजारमा जन्मेकी थिइन्। उनको परिवारमा उनका आमा, बुबा, उनी र उनको भाइ थिए। निरू बाल्यकालदेखि नै ज्ञानी भए पनि अन्याय चाहिँ पटक्कै सहन नसक्ने उनको स्वभाव थियो।

‘छोरी, तिमी छोरी हौ। भाइसित धेरै मुखामुख नगर,’ आमा यसै भन्थिन्।

‘किन आमा !  भाइले चाहिँ जे भने नि हुने अनि मैले चाहिँ...।’

‘होइन, ऊ त छोरा मान्छे।’

‘अनि थाल, ग्लास र कचौराहरू पनि मैलेमात्र पखाल्ने ? भाइले नि ?’

‘बढ्ता कराउँछेस् । ऊ त छोरा मान्छे ।’

‘आमा, म पनि विराटनगरमा गएर फिल्म हेर्न जान्छु नि।’

‘खुट्टा भाँचिदिन्छु, तेरो, लुजा त छोरी भएर।’

‘अनि भाइलाई चाहिँ केही भन्नुहुन्न।’

‘तँलाई कतिपल्ट भन्ने, ऊ त छोरा पो।’

शारीरिक रूपले निरु सानैदेखि राम्री थिइन् । उनलाई स्कुलमा सबैले मन पराउँथे । उनी मिलनसार र अलि लजालु स्वभावकी थिइन् तर तर्कहीन कुराको खण्डन गर्न चाहिँ चुक्दैनथिन्। समय साथसाथै उनमा शारीरिक परिवर्तन देखा पर्न थाल्यो। उनको शरीर बान्की परेको र आकर्षक थियो अनि उनका आँखा ठुल्ठूला आकर्षक थिए। उनी दस कक्षामा पढ्दा आफ्नो परिवारसँग ठूली आमाको घर विराटनगरको तिनपैनीमा गएकी थिइन्। त्यहाँ निकै रमाइलो जमघट थियो। ठूलीमाको ज्वाइँ र अन्य दाजुभाइहरूका बीच उनी आकर्षणको केन्द्र भइन्। उनका भिनाजुले त उनको हात समातेर फोटो खिचाए। यो कुरा उनका बाआमाले रुचाएनन्। यसर्थ घरमा फर्केपछि बुवाआमाले उनलाई बेस्सरी गाली गरे ।

‘लाज लागेन नकचरी, भिनाजुको हात समात्न ?’

‘मैले कसैको हात समातेको छैन, आमा।’

‘बढ्ता आमासित मुख लाग्छेस्’, बुबाले हपारे।

‘अनि केटाहरूलाई हेर्ने बानी तेरो साह्रै नराम्रो’, आमाले थपिन् ।

उनलाई बाआमाको कुराले साह्रै नमज्जा लाग्यो । कमसेकम आमाबाले उनको चरित्रमाथि शङ्का गर्लान् जस्तोचाहिँ उनलाई लागेकै थिएन। बाआमाको त्यस्तो सोचले उनी छाँगाबाट खसेजस्तो महशुस गरिन् । उनलाई बाआमाको कुराले बेस्सरी रिस उठ्यो ।

‘आमा मलाई घरमा थुनिराख्नुस् । भिनाजु र दाइहरूले मलाई हेर्नहुने, उहाँहरूले मलाई जिस्काउन पाउने अनि मैले चाहिँ उहाँहरूसँग बोल्न पनि नपाउने । छोरी मान्छे भएकै कारण म कसैसँग बोल्न हाँस्न नपाउने ?के मेरो तनमा मन छैन ? के मेरो मनमा भावनाहरू छैनन् ? के म मूर्ति हुँ ?’

‘उनीहरू केटा हुन्, छोरी । तिमी केटी हौ । तिमी विवाह गरी अरूको घरमा जाने छोरी हौ । समाजले धेरै कुरा काट्लान् ।’ आमा अलि नरम भएर सम्झाउन थालिन् ।

ֹ‘के समाजमा छोरा र छोरी बराबर भनेको यही हो त आमा ?’

‘हामीलाई धेरै कुरा थाहा छैन । तिमीचाहिँ अलि सावधान हुनू ।’ बुवाले पनि अलि मलिन अनुहार लगाएर नरम र चिन्तित स्वरमा भने । 

समय साह्रै बलवान् र वेगवान् हुँदोरहेछ । हरेक कुरा समयसाथ परिवर्तन हुँदोरहेछ । यस परिवर्तनशील संसारमा मानिसको जीवनमा उथलपुथल आउनु अचम्म र अस्वाभाविक होइन । निरूको भाइको उनीभन्दा पहिला नै विवाह भयो ।  भाइको विवाह हेटौंडाकी केटीसँग भएको थियो । विवाहपछि भाइ हेटौंडा ससुरालीमै बस्न थाल्यो । निरूको लागि पनि धेरै ठाउँबाट विवाहको कुरा आउन थाल्यो । काठमाडौं बालाजुको निर्मल श्रेष्ठको कुरालाई उनका बाआमाले मन पराउन थाले । यही ताका निरू पनि काठमाडौं नयाँबजारमा डेरामा बसेर एउटा बैंकमा काम गर्न थालेकी थिइन् ।

एक दिन बालाजु बाइस धारानिर केटा र केटीलाई भेट गराउने निधो भयो ।

त्यसपछि निरू र निर्मलको  बाइस धारामा भेट भयो। केटाले त पहिलो भेटमै निरूलाई खुब मन परायो । यता निरूले सोच्न र निर्णय लिन थोरै दिनको समय मागिन्, जुन कुरा उनको बाआमालाई उचित नै लाग्यो । फेसबुकमा केटाले रिक्वेस्ट पठायो र दुबैजना यसैमा ‘च्याट’ गर्न थाले । एकदिन केटाले मेसेन्जरमा एउटा छोटो कविता पठायो–

          ‘तिमीमा मेरो खोज सकिएको झै लाग्छ

          तिमी मलाई भित्रैदेखि आफ्नैझै लाग्छ ।

          मदहोसी तिम्रो नयनमा हराउन मन लाग्छ 

          तिमीसँग कहीँ टाढा डुल्न मन लाग्छ ।

          यो सहरको कोलाहलदेखि पर जान मन लाग्छ

          तिमी पाए मलाई संसार नै बिर्सन मन लाग्छ ।’

निर्मलको यो प्रेमको कविताले निरूको युवा हृदयमा प्रेमका आँकुराहरू पलाउन थाले । उनलाई निर्मलले पहिलोपल्ट हेरेको याद आयो । ऊ ३१ वर्षे सुन्दर केटो थियो । निर्मलसँगको विवाहको कुराले अब निरू रोमाञ्चित हुन थालेकी थिइन्; उनी कल्पनामा हराउन थालेकी थिइन् । निर्मल आफ्ना बाआमासित बस्छन् तर उनको आफ्नै घर छैन भन्ने कुरा पनि निरूलाई थाहा भए ता पनि निर्मलको हृदयमा घर खोजेकी थिइन् । उनले निर्मलको मनमा बास पाउन खोजेकी थिइन् । उनी जहिले पनि अन्य केटीहरूभन्दा फरक सोच्थिन् । जब उनको आमा, ठूलीआमा, सानीमाहरूले कुनै केटीको पैसावाला वा २–४ वटा घर भएको कुरा गर्थे उनलाई मन पर्देनथ्यो । निर्मलको घर छैन त के भयो मन कोमल छ र उनलाई धेरै माया गर्छ भन्ने उनले सोच्थिन् । अनि सहमतिमै निरूको विवाह निर्मलसँग पशुपतिको वनकालीमा भयो ।

विवाहपश्चात् उनीहरू बाआमासित बालाजु बाइपासको फ्लाटमा बस्न थाले । निरूको ससुरा एउटा निजी बैंकमा कार्यरत थिए । निर्मलको दिदी उमाको पनि घर थिएन । उमा पनि एक हप्तादेखि बाआमासँगै बसेकी थिइन् । निरूलाई पछि थाहा भयो कि उमा दिदीका कारण दिदी र भिनाजुलाई सासुससुराले घरबाट निकालिदिएका रहेछन्। निरुलाई निर्मल र उसको परिवारका बारेमा बिस्तारै सबै कुरा थाहा हँदै गयो । निर्मलका धेरै नातागोताहरू रहेछन् । धेरैजसो आफन्तहरूसित उनीहरूको सम्बन्ध चिसिएको रहेछ । निर्मल सानै हुदा उनीहरूको धेरै सम्पति थियो रे । उनका बुबाआमाले सारा सम्पत्ति मोजमस्तीमा सिध्याएर कङ्गाल भएका रहेछन् ।

बिस्तारै–बिस्तारै निरूलाई आभाष हुन थाल्यो कि उनको विवाह गलत मानिससँग भयो। उनले परिवारका सबै सदस्यहरूको बोली निकै तीतो र कडा पाइन् । उनीहरू साह्रै घमण्डी र पाखण्डी लाग्न थाले । उनलाई विवाहको कुरा मिलाउने आफन्त पर्ने लमीदेखि साह्रै रिस उठ्न थाल्यो । रिसाएर पनि के नै गर्न सक्थिन् र ! जे नहुनु थियो त्यो भइसक्यो।

उनले सुनेकी थिइन् कि लमीको कुरामा पूरै विश्वास नगर्नू भनेर । तर आज आफैं यसरी फस्दा उनलाई साह्रै नमज्जा लागेको थियो । लमीले निर्मल एमए पढिरहेको भनेका थिए तर यथार्थमा उनले एसएलसी.मात्र गरेका रहेछन् । लमीले केटाको राम्रो कमाइ र काठमाडौंमा घरघडेरी छ भनेका थिए, तर उनको कमाइ त निरूको कमाइको आधा पनि रहेनछ । अनि घरघडेरीको त नामोनिसान नै थिएन । निरू विराटनगरको महेन्द्र मोरङ कलेजबाट एमबीएस पूरा गरी काठमाडौंको नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत थिइन् ।

यथार्थको धरातलमा पाइला टेकेपछि निरूलाई मानसिक पीडा हुन थाल्यो । माछाजस्तो अरूको छलकपटको जालोमा परेकाले उनलाई जिन्दगीदेखि नै विरक्त लाग्नु स्वभाविक थियो। आफ्नो सुमधुर सपना समयको हुरीले उडाएको भान हुन थाल्यो । तर, उनले जिन्दगीलाई एक सम्झौताको रूपमा लिने निर्णय गरिन् । उनले आफूलाई एक पढेलेखेकी साहसी नारीको रूपमा प्रस्तुत गर्न थालिन् । उनले बारम्बार आफू आमाजू, सासू र ससुराको अगाडि अपमानित भएको महशुस गरिन् ।

एक बिहान निरूलाई साह्रै टाउको दुख्यो। उनी ओछ्यानमा पल्टिरहेकी थिइन् ।

‘ए निरू पूजा गरी चिया चाँडै बसाल ।’ सासुको चर्को स्वर सुनियो ।

‘मुमा आज मलाई साह्रै सञ्चो भएन ।’

‘सासुको कुरा नटेर्ने, तँलाई पख् ।’ छेउको कोठाबाट आमाजू चिच्याइन्।

‘दिदी, निरूलाई साँच्चै सञ्चो छैन भन्या । तपाईँले नै आज पूजाआजा गरेर चिया पकाए भइहाल्यो नि !’ निर्मलको स्वर सुनियो ।

‘तेरीमा जोइटिङ्ग्रे ! तँलाई लाज छैन । बढ्ता कराउँछस् ?’आमा, बुवा र दिदीले एकैसाथ उसको सातो लिए ।

यतिबेला उनलाई निर्मल साह्रै राम्रो लागेको थियो तर उनको निर्मलप्रतिको सोच चाँडै परिवर्तन भयो । वास्तवमा ऊ बा, आमा र दिदी तीनै जनासँग खुब डराउँथ्यो ।

एक साँझ निरूलाई उनको हाकिमले गाडीमा घरसम्म छोड्न ल्याए । भोलिपल्ट घोषणा गरिएको राजनीतिक आन्दोलनले गर्दा गाडीहरू अकस्मात बन्द भएको थियो। तसर्थ उनको हाकिमले उनलाई घरसम्म पुर्‍याउन मद्दत गरेको थियो । ठीक त्यसैबेला झ्यालबाट हेरिरहेको निर्मलले उनलाई देख्यो । आफ्नी श्रीमती परपुरुषको गाडीमा आएको उसलाई मन परेन ।

‘तँ कोसित आएकी ?’ निर्मल कड्कियो ।

‘मेरो हाकिमसित,’ निरूको जवाफ थियो।

‘त्यसो भए तँ त्यसैसित जा ।’

‘अलि मुख समालेर बोल्नुस् हजुर । बोल्न पाएँ भनेर जे मनमा लाग्यो त्यही नबोल्नुस्।’

‘‘किन आएकी त त्योसित ?’

‘गाडीहरू सब अकस्मात बन्द भयो । केही साधन नपाएपछि कसरी आउनु नि ? बाहिरै बस्नु भएन । साँझ परिसकेको थियो अनि सरले यहाँसम्म ल्याइदिनुभयो । तपाइले चाहिँ अन्य केटीहरूलाई मोटरसाइकलमा राख्न हुने, मचाहिँ अप्ठेरो परेको बेलामा आफ्नै अफिसको सरको गाडीमा आउनु नहुने?’

‘ए तँ मेरो भाइसित बढी बोल्छेस्,’ आमाजू कोठाबाट निस्किँदै कराइन्। बुवा र मुमा आमाजूको अगाडि निर्मल बोल्न नसक्ने रहेछन्।

‘हजुरको भाइले जे भन्दा नि हुने, मैले चाहिँ हजुरको भाइलाई केही भन्न नहुने ?’

‘पोथी बासेको राम्रो होइन है,’ सासू कराइन्।

‘अनि हजुर र दिदी को हो नि ?’ निर"को स्वर सुनियो ।

‘ए जोइटिङ्ग्रे के हेरेर बसेको ? तेरो स्वास्नीलाई माइत पुर्‍याइदे,’ उमा दिदी जोडले कराइन्।

‘खुट्टा सही भए जुत्ता हजार पाइन्छ’, सासूको अमिलो स्वर सुनियो ।

त्यो दिन निरू साँझभरि रोइरहिन् र आफ्नो कर्मलाई धिक्कारी रहिन्। कसैले उनलाई खाना खान पनि बोलाएनन् । न त उनलाई नरोऊ भनेर कोही सम्झाउन नै आए । त्यतिबेला उनलाई उनको बाआमाको साह्रै सम्झना आयो । राति निर्मलसँग पनि उनको फेरि भनाभन भयो ।

‘यो घर मेरो हो । मैले जे भन्छु तैँले मान्नुपर्छ’, निर्मलले बेस्सरी थर्कायो।

‘अनि म को हो नि ? के मेरो भनाइको केही अर्थ छैन ? मेरा भावनाहरू छैनन् ? यस घरमा मेरो कुनै अधिकार छैन ? मैले सत्य बोल्दा असत्य लाग्ने ? अनि हजुरले चाहिँ जे बोले नि मैले सत्य ठान्नुपर्ने ?’

‘तिमी आइमाइ हौ । तिम्रो कर्तव्य मेरो आज्ञापालन गर्नु हो । मेरो कुरा मन पर्दैन भने तिमी जान सक्छ्यौ, स्वतन्त्र छौ।’

‘के भनेको ? म कहाँ जाने र ?’

‘यो संसार ठूलो छ । तिमी जहाँ पनि जान सक्छौ तर यस घरलाई छोडेर।’

निर्मलका हरेक शब्दले निरूको हृदय छियाछिया भयो । उनले सासू, ससुरा र उमा दिदीको कुरा सहन थालिसकेकी थिइन् । तर निर्मलको रुखो अमानवीय व्यवहार र कटुवचनले उनले  जिन्दगीको धार परिवर्तन गर्ने सोचिन्। निर्मल रक्सी पिएर मस्त सुतिरहेको थियो । निरू रातभर सुत्न सकिनन् । बिहान सबेरै आफ्ना सामानहरू झोलामा राखी कसैलाई नसोधी मन दह्रो पारी घर छोडिन् । उनी निस्कँदा सबै सुतिरहेका थिए । उनी धरान जाने बसको टिकट काटी बसमा चढिन् ।

साँझ ६ बजे निरू माइती पुगिन् । छोरीलाई एक्लै देखेर आमाले सोधिन्, ‘एक्लै आएकी ? ज्वाइँ खोइ त ?’ थकाइले गलेर आएकी निरू केही नबोली सिधै आफू पहिला सुत्ने कोठामा गएर पल्टिइन् । एकछिनमा बुवा आउनुभयो । बुवाले पनि त्यही प्रश्न दोहोर्‍याउनु भयो । निरू क्वाँक्वाँ रुन थालिन् ।

‘के भो छोरी तिमीलाई ?’, बाआमाले एकैसाथ सोधे ।

‘म हजुरहरूको को हो ? म मर्दामर्दा बाँचेर आएकी मलाई के भयो भनेर एकपल्ट नसोध्ने ? अनि जसले मलाई घरबाट निकालिदियो उसको बारेमा मात्रै सोध्ने ? के म हजुरहरूकी छोरी होइन ?’

त्यस रात आमाछोरी खुब रोए । उनले आफ्नो व्यथा बाआमालाई पोखिन् । यसरी उनी माइतीमा बसेको १५–१६ दिन भएको थियो । एकदिन आमाले भन्नुभयो, ‘छोरी, अब तिमी कहिले फर्किने ?’

‘कता आमा ? त्यो घर त निर्मलको हो जुन मैले छाडिसकेँ । उसले मलाई निकालिदिइसक्यो।’

֯त्यसो भन्नु हुँदैन छोरी। विवाहपछि आइमाईको ठाउँ श्रीमानको घरमा हुन्छ । माइतमा धेरै बसे समाजले कुरा काट्लान् अनि हामीलाई समाजमा बस्न गाह्रो हुन्छ ।’

निरूले सोचेकी थिइन् अब आमाबुवालाई हेरेर बस्छु भनेर। उनको भाइले पनि घर छोडेर ससुरालीमै बस्न थालेको थियो तर आमाबुबा त आफ्नो र छोरीको जिन्दगी होइन, समाजले के भन्ला भन्नेबारे सोच्न थालेका थिए । निरूको मनमा अनेक कुराहरू खेल्न थाले। के एउटा अबला नारीको जीवन यस्तै हो त ? श्रीमानको भरमा मात्र बाँच्नुपर्ने ? श्रीमानले पनि उसको घरबाट गलहत्याइदिए बाआमाको घरमा पनि ठाउँ नपाउने ?

निरूलाई अब जीवनको सबैभन्दा कठिन निर्णय लिनु थियो। उनी आफू बाआमाको बोझ भएँ कि भन्ने भान हुन थाल्यो। अनि निर्मलको घर त कल्पना नै गर्न छोडिसकेकी थिइन् । निरूले आफ्नो जीवनको कठिन निर्णय लिनु अघि बाआमालाई एउटा प्रश्न गरिन् ।

‘मेरो घर कुन हो ?’ हजुरहरूले भन्नुपर्‍यो । निरूको त्यो प्रश्नले बाआमा निरुत्तर भए। अब निरूले एउटा अठोट गरिन्– अब आफ्नो जिन्दगी नयाँ चरणबाट सुरू गर्ने र आफ्नो छुट्टै पहिचान बनाउने, पेटमा हुर्किरहेको बच्चालाई जन्म दिई अलग्गै ‘घर’ बनाइ हुर्काउने ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १७:२४
सिफारिस
त्यसपछि प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भने- देश सफल होस्, जनता बँचुन्
त्यसपछि प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भने- देश सफल होस्, जनता बँचुन्
पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएकी सुशीला कार्की
पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएकी सुशीला कार्की
'संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो'
'संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो'
सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटनको सिफारिस गर्न तयार भइन् कार्की
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटनको सिफारिस गर्न तयार भइन् कार्की
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP