'नाम के हो नि तिम्रो?' मैले सकेसम्म आफन्ती बनेर सोधें।
झ्यालको सिटबाट एकोहोरो बाहिर हेरिरहेकी ऊ बोलिन। सुनेको नसुनेझैं गरिदिई।
अलिबेरपछि जुक्ति निकालें। फिस्स हाँसें-मेरो नाम भानुभक्त हो। तिम्रो नाम के हो नि?
अँह, ऊ फेरि पनि बोलिन।
मैले नयाँ जुक्ति निकालिनँ।
हामी चढेको गाडी बौनियाँ बजारबाट तल्लापानीतिर गुड्यो।
केहीबेरअघि ऊ मामाघरकी बज्यैको हात समातेर काउन्टरमा उभिइएकी थिई। उसलाई मैले दूधेबालख हुँदा देखेको थिएँ तर उसकी बज्यैलाई पहिलो पटक भेटें। कसैले उनलाई भनिदिएछ दसैंमा म सुर्खेतबाट गाडीमा नभई कैलालीबाट हिँडेर घर जाँदैछु।
'पहाड जान्छु भनेर झिजो गरेकीगर्यै थिई। आफू जान नसक्ने। घरमा अरू मान्छे छैनन्। यसकी आमाले फोन गरेर बाबु आउँदै हुनुहुन्छ भनी र हो। नत्र यसले मलाई दसैंभरि रहनखान दिने थिइनँ,' मलाई उसको हात दिँदै बज्यैले भनिन्।
बाबुआमाले उसलाई बोर्डिङ पढाउन मामाघर पठाएका रहेछन्। ऊ भने कहिले दसैं-तिहार आउला र आफ्नो घर जाउँला भनेर औंला भाँज्दै बस्दी रैछ।
'हो?' मैले उसलाई हात दिएर सोधें।
ऊ बोलिन। बज्यैको अनुहार हेर्दै मेरो हात समाती।
'म पनि एक्लै थिएँ, मेरी साथी भइन् यिनी,' मैले उसकी बज्यैसँग विदा मागें।
तर गाडी चढेपछि उसले मलाई नाममात्र पनि भन्न मिल्ने साथी ठानिन।
उसले नठानेर के भो, उसको बुवाले त मलाई मन मिल्ने साथी ठान्थ्यो नि।
झन्डै १५ वर्षअघि, उसको बुवाको र मेरो एउटै सपना हुन्थ्यो- बजार जाने। यही बौनियाँ त थियो, हाम्रो सपनाको बजार।
पूर्वी कैलालीमा दुइटा बौनियाँ छन्, घैला र सडकपुर। दक्षिणतिर पर्ने घैला बौनियाँ हामी कहिल्यै गएनौं। महेन्द्र राजमार्गको दायाँबायाँ फैलिएको सडकपुर बौनियाँमा भने दुनियाँका कैंयौ चिज पहिलो पटक देख्यौं। त्यतिबेला अनौठा लागेका धेरै कुरा पछिपछि यस्तै त रैछन् नि भन्ने लागे, एउटा कुरा भने अझै पनि नयाँ लाग्छ, हेरिरहूँजस्तो।
पहिलो पटक बौनियाँ आउँदा उसको बुवा र म फोटो स्टुडियो छिर्यौं। त्यतिबेला हाम्रा राम्रा लुगा स्कुल जाने ड्रेस हुन्थे। बजार पुग्नेपुग्नेबेला हामी बाटोमै पूराना लुगा बदलेर स्कुले ड्रेस लगाउँथ्यौं।
निलो सर्ट र कालो पाइन्ट लगाएर फोटो स्टुडियोको बेन्चमा बस्यौं। एकअर्काका काँधमा हात राख्यौं। हाम्रो दोस्ती देखाउने त्यो सबैभन्दा राम्रो पोज थियो। फोटो खिच्नेले भन्यो- यता क्यामेरातिर हेर अनि अलि हाँस।
अहँ, त्यतिबेला मरिगए हाँसो आएन। बरू स्कुलमा सतर्क-गोडाफाट गर्दाभन्दा बढी सतर्क भयौं।
बिजुली चम्केझैं आँखामा झिलिक्क बल्यो।
'भोलि १० बजेतिर आउँछ,' बिल काट्दै फोटो स्टुडियोवालाले सोध्यो, 'कति वटा धुलाइदिउँ?'
'दुइटा' हामी दुबै जनाको मुखबाट एकैचोटी निस्कियो।
अर्को दिन पछाडि बगैंचा, हवाइजहाज र ठूल्ठूला घर भएको फोटो हात पर्दा यति खुसी भयौं कि बोल्नै सकेनौं बरू फोटोमा झैं अँगालो मारेर बौनियाँ बजार डुल्यौं।
'जलजला' उसको बोली सुनेर म अतीतबाट ब्यूझें।
उसले मेरो अनुहारमा हेरिरहेकी थिई। गाडी खैरेनी गाउँ कटेर भावरको जंगलमा गुड्दै थियो।
फिस्स हाँसें-जलजला के नि?
'जलजला क्षेत्री।'
अनुहार निकै टिठलाग्दो बनाएकी ऊ अब मैले सोधेका कुराको उत्तर नदिई धरै छैन भन्नेमा पुगेकी थिई सायद।
'बुवाको नाम के हो नि तिम्रो?' बच्चामा मलाई सबभन्दा झिजो लाग्ने प्रश्न यही हुन्थ्यो। जता गए पनि ठूला मान्छेले बुवाआमाको नाम सोधेर हैरान पार्थे।
उसले हैरानी मानिनँ, भनी- कमरेड अपूर्व।
उसको बुवाको नाम सुनेर म मनमनै हाँसें।
खासमा उसको नाम दिलबहादुर थियो। हामी गाली गर्दा दिले भनिदिन्थ्यौं। उसले आफ्नो कापी र किताबको खोलमा भने लेखेको हुन्थ्यो-दिलीप क्षेत्री।
तर उसलाई कसैले कहिल्यै दिलीप भनेको मैले सुनिनँ।
'अनि आमाको नि?'
'फूलमाया चौधरी।'
'हो र। आमा चौधरी भएसी तिमी कसरी क्षेत्री भयौ त? कि बाबाकी मात्र छोरी हो?'
ऊ केही बोलिनँ। उसलाई के थाहा यो दुनियाँ आमाको थरलाई गन्दै गन्दैन भनेर!
गाडी भावरमा एकोहोरो उभो दौडिरहेको थियो।
अधिकांश यात्रु बम्बै, साङ्ली, बैंग्लोरलगायत भारतका शहरबाट दसैं मान्न आएका थिए। बीचबीचमा लेकिन र बातमे घुसाएर आफ्नो नोकरी, तनाखा, साहुसाहुनी र छोराछोरीका कुरा गर्थे। नेपालका नेतालाई गाली पनि गरिहाल्थे- भन्नलाई गाउँगाउँमा सिंहदरबार आयो भन्छन् लेकिन गाउँगाउँमा भ्रष्टाचारमात्र आएको छ।
झिसमिसे साँझमा गाडी तल्लापानी पुग्यो। चुरेको फेदमा रहेको तल्लापानीबाट तराई र पहाड सुरू हुन्छ। उभो लागे नाके उकालो, उधो लागे भावर।
पहिलापहिला यहाँ हरेक दिन हटारूको घुँइचो हुन्थ्यो। कोही खोलामा आफैं खाना बनाएर खान्थे कोही जिन्दगीमा पहिलो पटक पैसा तिरेर होटलको भात चाख्थे।
तल्लापानी बजार पहिलाभन्दा अलि माथि सरेको रैछ। खरका छाना हुने घरमा टिन त टलक्क टल्किए तर न खोलामा खाना पकाएर खाने हटारू थिए न त पहिलो पटक होटलमा भात चाख्नेहरू।
हामी बसेको होटलका साहुजीले भने- डाँडाकाँडामा जताततै डोजर गयो, बाटो खन्यो। सुविधा पाएपछि बाजेबराजुले बोकेका थिए भनेर डोकोमा भारी बोक्नै पर्छ भन्ने केही रैनछ। ट्याम धेरै बदलियो।
समय तल्लापानीको मात्र बदलिएको थिएन, जलजलाको पनि बदलियो। बौनियाँमा नाम पनि नभनेकी ऊ मेरो काखमा बसी। राती मेरै काखमा निदाई पनि।
***
'तपाईं श्यामबहार खानुहुन्न?' बाटोछेउको प्लास्टिक समातेर उसले सोधी।
'अँह,' मैले टाउको हल्लाएँ।
धेरै वर्षपछि उकालो हिँडेकाले होला म असिनपसिन थिएँ। सास फूलेको थियो। बाटाका ढुंगाले पनि खुट्टामा घोचेजस्तो लाग्यो।
'हाम्रो ड्याडीले त खानुहुन्छ,' उसले भनी।
'अरू के-के गर्छ नि तिम्रो ड्याडीले?'
'कहिलेकाहीँ रक्सी खाएर ममीलाई पिट्नुहुन्छ, त्यत्ति हो।'
उसको ड्याडी र म पहिला एकअर्काले गर्ने सबै काम गर्थ्यौं तर पछि एकअर्काले गर्ने एउटा पनि काम गरेनौं।
९ कक्षा पढ्दाखेरि हो, एकदिन माओवादीहरू स्कुलमा आए। ६ कक्षामाथिका सबैलाई हाम्रो कोठामा भेला पारे। कालोपाटीमा दूधेखरीले लेखे: मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथ- जिन्दावाद।
एकजनाले भाषण गर्यो- बुर्जुवा शिक्षा पढेर केही काम छैन, जनवादी शिक्षा पढ्नुपर्छ। भोलि हाम्रो सत्ता आयो भने बुर्जुवा शिक्षाको कुनै भ्यालू हुँदैन। त्यही भएर रूकुम रोल्पातिर हामीले जनवादी शिक्षा पढाउन सुरू गरिसकेका छौं।
दिलबहादुर र मैले मुखामुख गर्यौं। मैले त्यो माओवादीको कुरा पत्याइनँ। दिलबहादुरले के गर्यो थाहा भएन। तर त्यसदिनपछि मैले कहिल्यै उसको मुखमा त्यसरी हेर्न पाइनँ, सकिनँ पनि।
माओवादीहरू स्कुलमा आएर भाषणमात्र गर्दैनथे, विद्यार्थीलाई हप्तौंसम्म अभियानमा घुमाउन पनि लैजान्थे। अभियानमा गएकामध्ये धेरै भूमिगत हुन्थे। कोही कहिल्यै घर फर्कदैनथे।
मलाई जनवादी शिक्षाको कुरा त्यति मन परेन। गाउँको स्कुलमा बुर्जुवा शिक्षा पनि पढ्न नपाइने भएपछि म तराई झर्ने भएँ।
माओवादीको वडा जनसरकार प्रमुखले बनाइदिएको स्वीकृति पत्र बोकेर एकदिन म तराई हान्निएँ। यो कुरा मेरा परिवारबाहेक कसैलाई थाहा थिएन। दिलबहादुरलाई भनूँ भनूँ लागेको थियो तर भन्नै सकिनँ।
नाउमा कर्णाली तरें। एक्लै हिँड्दा दिलबहादुरको खुब याद आयो। कक्षाबाट धारामा पानी खान र थाकलको जंगलमा पिसाब फेर्न पनि हामी सँगै जान्थ्यौं।
आज स्कुल गएर उसले के सोच्यो होला? झन् सम्झियो झन ननिको लाग्न थाल्यो। लछुमनको उकालो पुग्दा त गह भरिएर आयो। फर्केर कर्णाली पारि हेरें। हिकहिकी झन बढ्यो। केहीबेर एक्लै रोएँ। आफैंले आँशु पुछें।
'म सक्दिनँ,' जलजला बोली।
म आफ्नै सुरमा हिँडेछु, ऊ त तल छुटिसकिछे।
ऊसामू गएँ। उसका आँखा पिलपिल थिए। पुछिदिएँ। लाडे पल्टेर उसले भनी- सक्दिनँ।
'एउटा हटारूको भारीबाट सियो निकालेपछि हलुंगो भएर ऊ गौंठामा उक्लिन सक्यो,' भन्ने कथा सुनेर हुर्किएका दिलबहादुर र म पनि यही उकालोमा कहिलेकाहीँ एकअर्काका हातमा भएका मट्टीतेलका जर्किन बोक्थ्यौं। ऊ पहिला भन्थ्यो- सक्दिनँ।
एकछिनमा फेरि मेरो हातबाट जर्किन खोस्न आइपुग्थ्यो।
जलजलाले 'सक्दिनँ' भन्दा ठ्याक्कै आफ्नो बाबुको जस्तो अनुहार लगाएकी थिई।
मैले सानो झोला हातमा बोकेर उसलाई काँधमा राखें। उसले पानीको बोतल समाती।
'थाहा छ, मोटु पत्लुमा इन्स्पेक्टर चिंगमको टाउकोमा नरिवल यसरी खस्छ,' उसले पानीको बोतलले मेरो कपालमा हानी।
निकै लयात्मक शैलीमा त्यो कार्टुन श्रृंखलाको एउटा कथा पनि सुनाई। सबै त बुझिनँ तर त्यसको निष्कर्ष कुरा नबुझ्दा मोटु र पत्लु भन्ने साथीबीच झगडा भयो भन्ने थियो।
मैले पनि त उसको बुवालाई आफ्नो कुरा बुझाउन खोजेको थिएँ तर मौकै पाइनँ।
नयाँ स्कुलमा आफैं पानी आइरहने धारा थिएन, एकजनाले ट्युबेल चलाएर अर्काले पानी खानुपर्थ्यो। पिसाब फेर्न जंगल जानुपर्दैनथ्यो, ट्वाइलेट थिए। विद्यार्थी धेरै थिए, साथी पनि भए तर तीमध्ये कोही पनि दिलबहादुरजस्ता भएनन्।
मेरा मनमा एकातिर दिलबहादुरको याद थियो अर्कातिर गाउँ फर्किएर उसको अनुहारमा कसरी हेर्ने होला भन्ने डर।
९ कक्षाको वार्षिक परीक्षा दिने बेला गाउँबाट आएका हटारूले खबर ल्याए- दिलबहादुर पनि भूमिगत भयो।
एसएलसी दिएर फर्किएपछि आफ्नो कुरा भन्छु र माफी माग्छु भन्ने मेरो सपना खबरसँगै तुहियो। सोचें- दिलबहादुरसँग जिन्दगीमा अब भेट हुँदैन होला। किनकी दिनदिनै रेडियोमा समाचार आउँथ्यो- मुठभेडमा आतंककारी मारिए, प्रतिकारमा आतंककारी मारिए, भीडन्तमा आतंककारी मारिए। ऊ पनि त रेडियोले भन्ने त्यही आतंककारी बनेको थियो।
एसएलसी दिएर म गाउँ फर्किएँ। आमाले भनिन्- म गएपछि दिलबहादुर एकदिन पनि हाम्रो घर आएन। अभियानमा जाँदा भूमिगत भएको ऊ गाउँ पनि फर्केको छैन।
म पो एलएलसी सकेर आएको थिएँ, गाउँमा माओवादी त उस्तै थिए। मलाई पनि लगे अभियानमा।
***
'सञ्चै हुनुहुन्छ भानुभक्तजी?' स्वर दिलबहादुरको जस्तो थियो। तर उसले त मलाई भानु र तँ भन्थ्यो। अलमलिएँ। टाउको फर्काएर हेरें। मेरासामू साँच्चै दिलबहादुर उभिएको थियो।
मैले न उसको अनुहारमा हेर्न सकें न केही बोल्न।
'एसएलसी कस्तो भयो नि?' उसैले सोध्यो।
'ठिकै।'
'तपाईंजस्तो मान्छेको के ठिकै हुन्थ्यो, राम्रो भयो होला नि,' उसले भन्यो, 'एकछिनमा कुरा गरौंला है भानुभक्तजी, अहिले मेरो पालो आयो।'
तारा भएको फेटा निधारमा बाँधेको ऊ हिँडिहाल्यो। मलाई भने उसको तपाईं र जी बेस्सरी बिझायो।
म्याग्दीको बेनी आक्रमण गरेर फर्किएका जनमुक्ति सेनाको स्वागतमा कार्यक्रम भइरहेको थियो।
बेलाबेलामा भाषण हुन्थ्यो अनि नाचगान।
एकछिनमा उदघोषकले भन्यो- अब यहाँहरूसामू आफ्नो प्रस्तुति दिन आउँदै हुनुहुन्छ, जलजला सांस्कृतिक परिवारका कमरेडहरू संगीन, वीरता, तुफान.....।
मैले सबैको नाममा ध्यान दिइनँ। दिलबहादुरको भूमिगत नाम थाहा थिएन। मञ्चमा ऊ पनि देखियो। एकछिनमा ठूलो स्वरमा गीत बज्न थाल्यो:
कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन
कसले भन्छ योद्धाहरूको जीत हुँदैन
एकदुई हार हुन सक्छ तर मुटु स्पात बन्छ
वीरहरूको मुटुभित्र संसार फेर्ने साहस हुन्छ...
जलजलाले मेरो कपाल बेस्सरी तानी।
'के भयो,' म रोकिएँ।
'सू आयो।'
ऊ आफैं फटाफट काँधबाट झरी। बाटो छेउतिर गएर लुकी। म गार्ड बसें।
म एसएलसी दिएर फर्किँदासम्म यो बाटोमा कति धेरै मान्छे हिँड्थे। तिनमा हटारूसँगै माओवादी द्वन्द्वले पहाडमा बस्न नसकेर जायजेथा छोडेर तराई झरेकाहरू हुन्थे। काखमा कुखुरा च्यापेका केटाकेटीसँगै गाईबाख्रा, कुकुर बिराला र भैंसी पनि ओह्रालो झरिरहेका भेटिन्थे। भैंसीका ठूल्ठूला घाँडाको ड्वाङड्वाङ आवाज अर्को डाँडोमा ठोकिन्थ्यो।
'ऊ माथि हेर्नू' पिसाब फेरेर आएकी जलजलाले भनी।
ढुंगामा तौलिया ओछ्याएर एकजना अधबैंशे चुरोट खाइरहेका थिए।
'पानी खानुहुन्छ दाइ,' उनको छेउमा गएर मैले बोल्ने बहाना बनाएँ।
'नाइँ भाइ,' उनले भने, 'बरू तपाईंहरू छिटो हिँड्नुहुन्छ। चोसेकाँडा पुगेपछि होटलवालालाई धनञ्जय आउँदै छ। खाना पकाऊ भन्दिनू।'
'हामी झन् हिँड्नै सक्दैनौं दाइ,' मैले जलजलालाई देखाएर भनें, 'यिनलाई त बोक्नुपर्छ।'
'त्यसो भने एकछिन बसौं, सँगै जाउँला,' उनले सोधे, 'भाइहरू कहाँसम्म?'
'लगाम जाने हो दाइ।'
धनञ्जय धनगढीबाट फर्किएका रहेछन्।
'कोखामा दुखेकोदुख्यै भएर देखाउन गएको, डाक्टरले मृर्गौलाको रोग छ, दुई लाख रूपैयाँ लाग्छ भन्यो,' धनञ्जयले भने, 'मलाई त्यति पैसा खर्च गर्न मन लागेन। उपचार नगरी फर्किएँ।'
बासपानीको उकालोमा जलजलालाई उनले काँधमा बोके।
'उहिले त भाइ, यो उकालो ५० किलाको भारी बोकेर कहिँ नबसी काटिन्थ्यो। भारीमात्र हो र रजवार (ठकुरी)की जोई र छोरी पनि कति बोकियो बोकियो, अहिले यस्तो हालत भयो,' उनले भने।
३५ वर्षसम्म भारी बोकेरै उनले ७ जनाको जहान पालेछन्।
'पैसा नभएर उपचार नगर्नुभएको? ऋण काढेर भएर पनि उपचार त गर्नुपर्छ नि?' चोसेकाँडाको डाँडामा पुगेपछि मैले उनलाई फिरीको सुझाव दिएँ।
'गाँठामा त्यति पैसा त छ भाइ, तर दुईटा छोराहरू साउदी जान्छु भनेर लागेका छन्। मेरो उपचारमै त्यो पैसा सकियो भने उनीहरूलाई के गरी पठाउने?,' उनले भने, 'घर गएर बुढिया र छोरालाई केही भएको रैनछ, गोली खाएर निको भयो भन्दिन्छु। बाँचिएछ भने छोराहरूले कमाएर पठाए पछि आफ्नो उपचार गर्नुपर्ला।'
मैले केही बोल्न सकिनँ। सोचें-दुनियाँमा यो बाउभन्ने जिनिस पनि बडा अचम्मको हुँदो रैछ!
चोसेकाँडाको होटलमा सँगै खाना खायौं। धनञ्जय त्यतै अलमलिए।
हामी भुकेडाँडातिर तेर्सो लाग्यौं। तर्सो र ओह्रालो बाटोमा जलजलाले सक्दिनँ भनिन।
कर्णाली तिरमा पुग्दा घाम पहेँलो भइसकेको थियो। हामीले नाउ तर्ने ठाउँभन्दा धेरै तल झोलुंगे पुल बनेको रैछ।
जलजला पुलमा दौडिई। म उसको पछिपछि लागें। हामीले डोकोमा नुन बोक्ने बेला किन बनेन होला यस्तो पुल!
'ऊ... प्लेन,' पुलको अर्को छेउमा उभिएकी जलजलाले आकाशतिर देखाई, 'हाम्रो ड्याडी पनि तिहारमा प्लेनमा आउनुहुन्छ।'
मैले निधारमा हात लगाएर आकाशतिर हेरें। निकै माथि पछाडि धुँवाका दुई मुस्ला फालेर एउटा जहाज उडिरहेको थियो। काठमाडौंमा मैले कहिल्यै यस्तो जहाज देखेको थिइनँ।
'काँ गको छ र तिम्रो ड्याडी?'
'मलेसिया।'
'ड्याडी आउँदा म पनि काठमाडौं जाने हो,' उसले थपी, 'बियर, टाइगर, राइनो हेर्न जूमा पनि जाने भन्नुभएको छ।'
'हो र? अनि अरू केके गर्ने हो नि ड्याडीसँग?'
ऊ मख्ख थिई, 'ड्याडीले मलाई साइकल पनि किन्दिने भन्नुभ'को छ, त्यत्ति हो।'
बोलाको गाउँ कटेसी फेरि उकालो आयो। मेरा हातगोडा फतक्क गलेका थिए। मनमा जलजलाले सक्दिनँ भन्छ कि भन्ने पीर थियो। तर ऊ त मभन्दा छिटो हिँडी।
अलि अगाडि गएकी ऊ बाटोछेऊको ढुंगामा हेरेर घोरिई।
'यो के लेखको?' म नजिक पुगेपछि सोधी।
मैले ढुंगामा हेरें। हसिँयाले खोपेर पिपलको पात बनाइएको थियो। भित्र लेखिएको थियो- पी प्लस डी।
बाख्रा गोठालो आउँदा त्यो ढुंगामा उसकै बाउले खोपेको हो। त्यतिबेला आफूले मन पराएकी केटीको नाम ढुंगामा खोप्ने चलन थियो।
कसैलाई नभन्ने कसम खुवाएर एकदिन दिलबहादुरले मलाई भनेको थियो- यो पी भनेकी हाम्रो क्लासकी पारू बुढा हो।
मैले दिलबहादुरसँग खाएको कसम राखें। जलजलालाई अरू नै दुई नाम भनिदिएँ।
गाउँमा मेरोभन्दा दिलबहादुरको घर पहिला आउँछ।
उसकी आमा र बाजेबज्यै जलजलाको बाटो कुरेर बसेका रहेछन्। एकएक गरी उनीहरूले जलजलाको टाउको सुमसुम्याए।
उसले खल्तीबाट सानो बल निकाली र रोइरहेको भाइलाई दिई। झिलिकझिलिक बलेको बल देखेर एकछिन त्यो फूच्चे रोकियो। फेरि रून थालिहाल्यो।
उसले भाइलाई काखमा राखेर भनी- नरो, ऊ.... ड्याडी आउनुभयो। फुच्चेले मतिर हेर्यो।
फूलमाया भाउजुले अम्खोरामा पानी ल्याइन्।
मैले उनलाई जनमुक्ति सेनाको डुँडेझारी शिविरमा देखेको थिएँ। रिपोर्टिङमा गएका बेला अचानक दिलबहादुर भेटियो। उसले शिविरभित्रको आफ्नो घरमा लग्यो। अभियानमा भेटिँदा तपाईं भनेको उसले मलाई न तपाईं भन्यो न तँ बरू आफू भन्यो। फूलमायासँग परिचय गरायो।
जलजला साँस्कृतिक परिवारमा सँगै हिँड्ने उनीहरूले जनवादी बिहे गरेका रैछन्।
सेना समायोजन हुँदा बुढाबुढीले स्वेच्छिक अवकाश रोजे। पाएको पैसाले कैलालीमा ससुरालीनजिक जग्गा किने। बाँकी पैसाले दोकान खोले।
जनयुद्ध लडेका दिलबहादुर र फूलमायासँग दोकान चलाउने टेक्निक भएन।
'दोकान डुब्यो अनि फुच्चेको बाबा विदेश जानुभयो,' फूलमाया भाउजूले भनिन्।
'भाउजू, दिलबहादुरसँग तपाईंको कुरा भयो भने मेरो यो नम्बर दिनू,' मैले हिँड्ने बेलामा भने,'जाँड खाएर त्यो तपाईंलाई पिट्छ रे। मलेसियाबाट फर्किँदा काठमाडौंमा जाँड खाएर म पनि त्यसलाई कुट्छु। त्यसको र मेरो पूरानो हिसाबकिताब बाँकी छ।'
उनले मेरो कार्ड समातिन् र मुस्कुराउँदै भनिन्- फुच्चेका बाबा आउञ्जेल धान काटिसकियो भने त हामी पनि काठमाडौं जाउँला भनेका छौं।
दसैं सकिएपछि गाडी चढेर म वीरेन्द्रनगर आएँ। त्यहाँबाट अर्को दिन काठमाडौं।
फेसबुकमा दिलीप क्षेत्री खोजें। कमरेड अपूर्व पनि टाइप गरें। फोटोले चिनें उसको फेसबुके नाम दिलीप क्षेत्री 'अपूर्व' रैछ। बच्चाको मेरो साथी दिलबहादुरलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ।
***
'बाबु, म फूलमाया, कलंकी आएकी छु,' उनले फोनमा भनिन्, 'एयरपोर्ट जानुपर्ने थियो।'
अफिस जान लुगा लगाइरहेको मैले कुमले कानमा मोबाइल च्यापेर सोधें-लौ, दिलबहादुर मलाई भन्दै नभनी नेपाल आइसकेछ?
उनी केही बोलिनन्। फोन राखिदिइन्। मन चिSSसो भयो।
मोटरसाइकलमा कलंकी गएँ, त्यहाँबाट फूलमाया भाउजूलाई लिएर विमानस्थल।
दिलबहादुर मलाई भन्दै नभनी नेपाल त आएछ तर बाकसभित्र।
दिलबहादुर क्षेत्री लेखिएको गुलाबी बाकसमा अँगालो हालेर फूलमाया भाउजू निक्कैबेर भक्कानिइन्।
मैले सम्झाउन खोजें। उनले मलाई अँगालो हालिन्- बाबु, यो दुनियाँमा अब मेरो कोही छैन!
मेरा आँखामा जलजला नाची। 'ऊ ड्याडी आउनुभयो' भनेको सुनेर रून छोडेको उसको भाइ देखें । ड्याडीको हात समातेर चिडियाखाना घुम्ने जलजलाको रहर सम्झें।
रोक्छु भन्दाभन्दै आँखा रसाए। दाँया आँखाबाट झरेको आशु बग्दाबग्दै ओठसम्म आइपुग्यो। मैले र दिलबहादुरले डोकोमा हालेर तल्लापानीको उकालोमा बोकेको नुन मिसिएजस्तो त्यो नूनिलो थियो।
गुलाबी बाकस छतमा राखरे फूलमाया भाउजू गाडी चढिन्। म मोटरसाइकल लिन पार्किङतिर गएँ। प्रस्थान कक्षबाहिर भीडभाड थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लेखिएको ठाउँमा दुई जना केटाहरू सेल्फी खिचिरहेका थिए। एकजनाको निधारमा टीका र घाँटीमा खादा थियो अर्काको खाली।
बौनियाँको फोटो स्टुडियोमा मैले र दिलबहादुरलेजस्तै ती दुई जनाले पनि अँगालो हालेका थिए।