निस्फिक्री चलिरहेथ्यो!
मैले भोग्दै आएको जिन्दगी
आफ्नै मनको सारङ्गी रेटेर
कहिले आकाशसँगै बोल्थेँ
कहिले धर्तीसँगै खेल्थेँ
चुपचाप एकढिका पत्थरझैं
आफैलाई मौनतामा समेट्थेँ
त्यो हुर्कदै/बढ्दै गएर
बन्यो एउटा शान्त तलाउ
यसैलाई सफलता मानेकी थिएँ
सादय मैल।
अचानक आएको
समयको यक्ष प्रश्नले
पत्थर फाँक्यो यो शान्त तलाउमा
जुन गाँसिएको थियो जिन्दगीसँगै
मन चुप रहे पनि
चुप थिएन समय
अनेकौं लय हालिरह्यो उसले
जसले छोएर गयो मेरो मानसपट्टल।
मेरो वसु समयसँगै हातेमालो गर्छ !
तलाउ छेउमा बसेर
बजाउँछ बाँसुरी
देखाउँदै भन्छ तरङ्गित छाल
उः हेर त,
कति निश्छल छन् यी छालहरू
ती छालहरू मैले पनि
नीला नै देखेकी थिएँ
सायद जिन्दगीले
आशा गरेको थियो अलिकति घाम ।
करोडौँको भीडमा पनि
म त्यही धुनको खोजीमा हुन्थेँ
खुसीहरू सैसैला खेल्दै
कोरस थप्थेँ उसकै लयमा ।
झन् बलिष्ठ बन्दै थियो समय
सायद त्यही उत्कर्षमा
ऊ स्खलित भइसकेको थियो
यो अचानकको घटनाक्रमले
गाउनै सकिनँ मैले जीवन्त गीत जिन्दगीको ।
कसरी बेसुर भयो ऊ
पत्तै पाउन सकिनँ मैल
त्यो स्मृतिपटमा कुदिएका लयहरू
घोत्लिएर पढेँ बारम्बार
जो यति प्यारो हुनुमा
सायद
स्नेही गुञ्जन थिए मेरी आमाका ।