Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, भदौ २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

उठिबसेरा

रामलाल जोशी

रामलाल जोशी

दशमा पुग्दा स्कूले जीवनको उत्कर्षकाल थियो । वसन्त ऋतुमा पढ्ने मन कहाँ लाग्थ्यो र ! नयाँ ऋतुमा रूखमा नयाँ पालुवाहरू आउन थाले, हाँगामा नौला पातहरू । बोटमा नयाँ कोपिलाहरू देखिन थाले, कोपिलाहरूमा देखिन थाले पूmल । खुला फाँटमा हरियो सिरूपाती पलाउन थाल्यो, बाटोको छेउछाउमा दुबो । सुकेको झारपात र बुट्यानहरूमा पिपिराहरू आउन थाले, डालीमा पलाउन थाल्यो घाँस । बेली र घन्टीपूmलहरू आँगन रातै पारेर फुल्न थाले, बगैंचामा मगमगाउन थाले आरुका पूmल । हावालाई सुगन्धित पारेर धर्तीमा वासन्ती वासना मगमगाउन थाल्यो ।

तुवाँलो फाटेर धर्र्ती हरियो देखियो, बादल फाटेर आकाश नीलो । जाडो हटेर मौसम सफा देखियो, दुःखहरू हटेर मन चङ्गा । आखिर यही त हो वसन्त ऋतुको नाम । पर, मालिकाको डाँडामाथिको कुहिरो हराएर लेक छ्याङ्गै हरियो देखियो । त्यसै लेकको मुटुमा बसेर कोइली वसन्तको गीत सुसेल्न थाल्यो । यसै बेला चराहरूको कलरवले मन खलबल्याउन थाल्यो । गोठालाहरू प्रीतिका गीत गाउन थाले । माल्सिरीहरू आकाशमा हूल बाँधेर उत्तरतर्फ उड्न थाले । अनि यस्तो बेलामा पढ्ने मन कहाँबाट लाग्नु ? कसरी लाग्नु यस्तो बेलामा पढ्ने मन ? वातावरण नै बैरी बनेर आयो पढ्नेहरूका लागि । प्रीति गर्नेहरूका लागि अनुकूल बनेर आइदियो मौसम पनि ।

लाग्थ्यो, यस बेला आकाश चराहरूको हो, वन हो गोठालाहरूको । धर्ती पैतालाहरूको हो, मौसम मायालुहरूको । दिनहरू नयाँ चरणमा प्रवेश गरेका थिए । दुःखहरू केही दिनका लागि माइत गएका थिए । सुखी को थिएन र संसारमा !

अनि हामी ?

हामी उपन्यासका पानाहरूमा जिन्दगी खोज्न थालेका थियौं । हृदयका धड्कनहरूमा प्रेमका गीत सुन्न थालेका थियौं । रङ्गीन पोस्टकार्डमाथि प्रीतिका सायरी सारेर प्रेमपत्र लेख्न थालेका थियौं । केही गीत थिए, जुन सर्वसुलभ कहाँ थिए र ! केही गजल थिए, जुन सुन्न कसैको रेडियो ढुकेर बस्नुपथ्र्याे । कतै टाढा गुञ्जिएका गीत सुनेर मनमा प्रेमिल भावहरू तरङ्गित हुन्थे । फिलिम हेर्नका लागि वर्ष दिनको सत्ती मेला कुर्नुपथ्र्यो । कि त नेपालगञ्ज अथवा धनगढी कुद्नुपथ्र्याे । गाउँमा कहाँ हेर्नु फिलिम ? अनि कहाँ पढ्नु प्रेमको पाठ ? कसरी उमार्नु प्रेमिल भावहरू मनमा । केवल केही उपन्यासहरू थिए, जो किताबका बीचमा लुकाएर पढिन्थे अनि प्रेमपत्रहरू आदानप्रदान गर्ने माध्यम बनिदिन्थे ।

एक दिन ‘झरनाको मीठो पानी’ भित्र एउटा सानो चिट लुकाएर मलाई पढ्न दिई मालतीले । लेखेकी थिई–

“पूmलको के अर्थ. हुन्छ र सुगन्ध नै नभएपछि

जिन्दगीको के अर्थ हुन्छ र माया नै नभएपछि !

पूmल ओइली झरिजान्छ, सौन्दर्य कहाँ झर्छ र

मान्छे चोला मरिजान्छ, माया कहाँ मर्छ र !”

स्कूले जीवनका अन्तिम दिनहरूमा ऊ पागल मायालु बनेर आई । आफ्ना मुक्तकको प्रत्युत्तर नपाउँदा ऊ उदास भैदिन्थी । उसको मन राख्नलाई लेखें–

“भ्रमरको के अर्थ भो र पूmल नै नभएपछि

मेरो पो के अर्थ भो र तिमी नै नभएपछि !

तिमी आऊ यो दिलमा सजाएर राखिदिउँला

आँखा चिम्लेर बस्नु त्यो मुटुमा आइदिउँला !”

सुरुवाती दिनहरूदेखि नै आफन्तिली बनेर आई मालती । यही स्वभावका कारण निकटता बढ्दै आयो ऊसँग । पछिल्ला दिनहरूमा यति घनिष्ठता बढ्दै गयो कि हृदयमा अर्कै यहसास हुन थाल्यो । आत्मीय लाग्न थाली ऊ । सोचें, कसरी यति प्रिय र आत्मीय भएर आई ऊ । ऊ एउटा सम्पन्न राजसी ठाँटमा हुर्किएकी रइस कन्या । म झुपडीभित्रको दरीमा सुतेर आएको हीनताबोधी अनाथ । उसको र मेरो मित्रताको कुनै बलियो आधार नै के थियो र ! केवल एउटा हृदय थियो हृदय, बस् ! संसारमा ठूलाबडा र सानाहरूको भेट कहाँ हुन्छ र ! भेट हुने एउटै स्थान चिहानघाट हो । त्यहाँ पनि सँगै को जान्छ र ! अगाडिपछाडि भैहाल्छ दुनियाँ । नत्रभने चन्द्र सूर्यझैं देखादेख होओस् तर भेटचाहिं नहोस् भन्ने श्राप परेझैं पो हुन्छ त ! दूरबाटै हेर्छ चन्द्रमालाई सूर्यले । टाढाबाटै गर्छिन् सूर्यको दर्शन चन्द्रमाले । चन्द्रसूर्यको भेट कहाँ हुन्छ र संसारमा ! घाम र जूनको मिलन निषेध गरिएको छ प्रकृतिको विधानमा । तर पनि संसार कहिले घाम भएर सुन्दर छ, कहिले जून भएर सुन्दर छ ।

घाम र जूनकै बीचमा ऊ थिई । घाम र जूनकै बीचमा म थिएँ । ऊ आकाशकी चन्द्रमा थिई, म धर्तीको धुलो ! ऊ पूर्वकी अरूणिमा थिई, म पश्चिमको अँध्यारो साँझ । ऊ लहरूमा सवार भएर आउने राजकन्या थिई, म सडकको धुलो खाएर आउने फकिर यात्री । तथापि हाम्रो भेट हुनलाई कुनै मसानघाट कुर्नु परेन । बौनियाँ स्कूल नै एउटा आधारभूमि बनिदियो हाम्रो मिलनको ।

‘चोखो माया’ दिएर उसले भनी, “तिमी पनि एउटा किताब ल्याएर देऊ न मलाई । तिमीले दिएको किताब पढ्छु नि म !” दोस्रो दिन ‘मुनामदन’ ल्याएर दिएँ । अर्काे दिनको हाफ छुट्टीमा ‘मुनामदन’ फर्काउँदै उसले भनी, “तिमी नै पढ वियोगको कथा । मैले मलाई काम लाग्ने ज्ञान टिपें ।”

“के टिप्यौ भन न ?”

पछाडिपट्टि दुई लाइन लेखेर ‘यस्तो पो जीवन’ दिई उसले–

“हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

– तिम्री मालती ।”

उफ् ! “मालती ?”

“तिम्री मालती ?”

एउटा अमर प्रेमको कथा दिन चाहन्थी मलाई ऊ ? कि अल्लारे यौवनको उछाल हो यो ? ऊ प्रेमको आराधनामा थिई । म प्रेमको गानमा थिएँ ।

वसन्त ऋतुको बीचमा एक दिन साइकलमा चढाएर उडाइदियो, भक्त रावलले विपना कुँवरलाई । पाँच दिनपछि अशोक कुश्मीले स्कूल ड्रेसमै हिंडाइदियो, शर्मिला डगौरालाई । केही दिनमा पुनम विष्ट हिंडिदिई, राजीव चौधरीसँग । यादव सरले जयन्तको प्रेमपत्र सार्वजनिक गरिदिएपछि मीरा शर्मा कसरी कक्षामा मुख देखाउन सक्थी र ! बीच बाटोबाटै भागिदिए उनीहरू । वसन्त ऋतुले यसरी एकोहो¥याएर ल्यायो, प्रेमी प्रेमिकाहरूलाई कि भागेर जानेहरू देखेर सरहरू अत्तालिए । अभिभावकहरू चिन्तित बने । ठूलठूला ज्याङ्गा केटाहरू एकएक केटीलाई भाग लाउन थाले, यो मेरी, त्यो तेरी भनेर ।

हरेकका किताबमा प्रेमपत्रहरू भेटिन थाले । एक दिन योगेश शाहीले माझीऔंलाको टुप्पोमा सर्र ब्लेड लायो । भलभली खुन बग्न थाल्यो । सर्र कापीको पाना च्यातेर रगतले लेखिदियो, “प्यारी शकुन्तला, आइ लभ यु, आइ लभ यु, आइ लभ यु !” प्रेम दिवसका दिन परमभक्त जैसीले रविना रावतको नाममा ब्लेडले चरचरी नाडीमा चिरेर खत बनाइदियो ।

त्यो समय पूर्णतः प्रेमको थियो ।

मालती मेरो मुख ताक्न थाली । हाफ छुट्टीका बेला ढोडीको जङ्गलबाट पिसाब फेरेर फर्किंदा ऊ मेरै बाटो हेरिरहेकी हुन्थी । छुट्टी भएपछि लहरूमा चढ्ने बेला पनि फर्कीफर्की हेरेर जान्थी । उसको हेराइले घाइते हुँदै थिएँ म । ऊ पूर्णतः पागल प्रेममा थिई, म पूर्णतः पागल उमेरमा थिएँ । वसन्त ऋतु पागल भएर हाम्रो दिमाग खराब गरिरहेको थियो ।

संयोगले एक दिन म पाकरीको फेदमुनि नल्का चलाइरहेको थिएँ । मालती अँजुली थापेर घटघटी पानी पिइरहेकी थिई । टङ्क आएर भन्यो, “मानव तेरो साइकल देन यार एकचोटि !”

“किन ? कलास छोडेर काँ जान्छस् ?”

“जरुरी काम छ क्या ! दे न, ऐले एक्कैछिनमा आउँछु ।”

बाजेले तिकुनियाँबाट ल्याइदिएको एटलस साइकलको चाबी बढाइदिएँ उसतिर । ऊ गयो बेपत्तासँग । कक्षाकोठाबाट आफ्ना किताब टिप्यो र निस्क्यो सडकमा । सडकमा उसैलाई पर्खिरहेकी गायत्रीलाई पछाडि बसाएर टाप कस्यो ऊ । त्यसपछि कहिल्यै फर्केनन् उनीहरू स्कूलमा । दोस्रो दिन स्कूलमा महाभारतै भयो । गायत्रीका बाबा आएर हेडमास्टरलाई भने, “स्कूलमा पढाउँछौ कि बीए अराएर पठाउँछौ ? के हेरिराख्या छौ हँ ?”

“पखेटा लागेका चरी त उडेर जान्छन् नि हजुर ! बाँधेर राख्न सकिन्न क्यारे !”, हेडमास्टरले यति भन्नासाथ गायत्रीका बा मास्टरहरूलाई तथानाम गाली गर्दै गए । गायत्रीको गमनले स्कूलमा तहल्कै मच्चाइदियो ।

यादव सरले पढाइरहँदा मालतीले मेरो किताबको पुछारमा लेखिदिई, “आइ लभ यु !” मेरो हृदयमा मायाको मीठो कुतकुती चल्दै थियो । यादव सर जङ्गिएर बोले, “यइ, के गरी लिएको रे ? तँ पछाडि उभ्भिएर बस् ।”

यादव सरले आदेश दिएपछि मेरो के चल्थ्यो र ! हार खाएको गोरुझैं लत्रें म । धेरै वर्षपछि म पुनः पछाडि धकेलिएको थिएँ । केटाहरू उसैगरी गलल्ल हाँसे । मलाई त्यसरी नै जमिनमा गाडिएजस्तो भयो जुन पहिलो दिन स्कूल आउँदा भएको थियो । मन नलागी नलागी पछाडि गएर बसें । मालती टीठलाग्दो नजरले मलाई हेर्दै थिई । सम्झें, सखी के गर्दै होली यस बेला । ऊ मेरो पुरानो ड्रेस धुँदै छे कि ? अथवा नहरको ढिकमा आएर मलाई पर्खिरहेकी छ कि ?

***

मध्यचैत्रको एक दिन बौनियाँको डाँडोमा धुलो उडाउँदै एउटा विशाल जुलुस एकाएक स्कूलतिर बढ्यो । हातहातमा चारतारे झन्डा फहराउँदै मान्छेहरू गगनभेदी नारा लाइरहेका थिए–

“वीर शहीद – अमर रहून् !

प्रजातन्त्र – ल्याउँछौं, ल्याउँछौं !”

जुलुसको नेतृत्व गरेका थिए, बङ्गाली डाक्टरले । सेता कुर्ता पाइजामामा सजिएका बङ्गाली डाक्टरले निधारमा आएका मोतीका दानाजस्ता पसिना पुछ्दै सत्याग्रहका लागि अपिल गरे । क्षणभरमै सारा विद्यार्थीहरू जुलुसमा लामबद्ध भए । शिक्षकहरू हातमा कालोपट्टि बाँधेर निस्किए । विशाल जुलुस फेरि अघि बढ्यो । धुलोमाटो उडाउँदै हामी ठूलठूलो स्वरले नारा घन्काउन थाल्यौं–

“वीर शहीद – अमर रहून् !

प्रजातन्त्र – ल्याउँछौं, ल्याउँछौं !”

धनबहादुर बोहरा, मोतीराम शर्मा, कपिल कुश्मी, नारायण कलेल, उत्तम मौनी, कलेजी चौधरी, शारदा डगौरा, बलिराम लुहार, लक्ष्मी कठरियालगायत सबैसबै एउटा जुलुसको हिस्सा बनेका थिए । को बाँकी थियो र स्कूलमा ? कोही थिएन । हामी एउटा अनौठो उल्लासमा रमाइरहेका थियौं । उत्पात आनन्द आइरहेथ्यो । मालती मेरो स्वरमा स्वर मिलाएर चिल्लाइरहेकी थिई–

“वीर शहीद – अमर रहून् !

प्रजातन्त्र – ल्याउँछौं, ल्याउँछौं !”

सलहको हूलझैं जुलुस केही समयमै जोशीपुरको नर्सरी बगानमा पुगेर आमसभामा परिणत भयो । बङ्गाली डाक्टरको भाषणले आङ जुरुकजुरुक गरिरहेकै बेला एक हूल प्रहरीहरू आएर पहरा दिए । सारा विद्यार्थीहरूलाई तितरबितर पारेर प्रहरीले केही नेताहरूलाई मात्र लुरुलुरु हिंडायो भजनीतिर । चैत्रको धूपमा कपालमा कफन बाँधेर जुलुस हिंडिरह्यो प्रहरीका पछिपछि । चित्रबहादुर अगाडि कराउँथ्यो, “वीर शहीद !” पूरा जुलुस आकाशलाई बुलन्द पार्दै कराउँथ्यो, “अमर रहून् !”

महादौलीको बलौटे मैदानमा पुगेपछि काँडा नदीको किनारमा रहेका काँव्रmा र तरभुज लुछ्दै बाँदरभाँतीमा फौज अगाडि बढिरह्यो । हजार कोसिस गर्दा पनि मालती घर फर्किन मानिन । हात जोडेर भन्दा उसले मेरा दुवै हात गालामा लाएर भनी, “जहाँ सियो, त्यही धागो !”

चैत्रको धुप र धुलो खाएर मालती रमाइरही मेरै पछिपछि । पसिनाले शरीर निथ्रुक्क भिजेको थियो उसको । भजनी पुगेपछि नेताहरूलाई थुनेर पुलिसले चौकीको गेट बन्द गरिदियो । चौकी बाहिरै विद्यार्थीको हूलले नारा जुलुस गरिरह्यो । एउटा फरक आनन्दको मोर्चामा मालती र म रमाइरह्यौं ।

साँझ पाँच बजे भजनी बजारमा छाती चौडा गरेर मालतीका दाइहरू हिंडेका देखिए । धवल वर्णा मालती क्षणभरमै काली नीली भई । उसको मन अशान्त भयो । क्षणभरमै भयातुर भएर गई आफ्ना दाइहरूसँग ऊ । नजाने कति टोकाइ खाई उसले । मभित्रको एउटा रमाइलो अनुभूति सूर्यको गतिसँगै हृदयबाट ओझेल प¥यो । बाँदरफौजको बीचमा एक्लो र निरीहजस्तो भएर उभिरहें म ।

दोस्रो दिन पनि स्कूल अशान्त भइरह्यो । कहाँ पढाइ, कहाँ हाजिर, कहाँ होमवर्क, कहाँ प्रेम, कहाँ प्रेमपत्र सब अलपत्र परिरहे । पाँचौं दिन बित्दा पनि मालती देखा परिन, स्कूलमा । मलाई लाग्यो, मालतीको घरमा पहिरो नै गयो शायद ! मालतीले जुलुसमा भाग लिनु एउटा भयानक आश्चर्य भइदियो शायद राजा कर्णबहादुरको घरमा ।

चैत्रको अन्तिम साता फेरि बौनियाँमा एउटा धुमधाम जुलुस निस्कियो । पूmल र अबिरको वर्षा भइरहेथ्यो जुलुसमा । त्यही वर्षाका बीचमा अबिरले रङ्गिएका थिए बङ्गाली डाक्टर । मान्छेहरू खुशीयालीको मातमा चार हातमाथि उफ्रिन थालेका थिए । दिनभरि नै बौनियाँको धुलो आकाशमा उडिरह्यो । साँझपख दीपावलीले गाउँका घरहरू जाज्वल्यमान भए । दोस्रो दिन स्कूलमा अबिरसभा गरियो । प्रजातन्त्र प्राप्तिको खुशीयालीमा मान्छेहरू गलामा गला मिलाइरहेका थिए । सबै प्रफुल्ल ! सबै खुशी ! को खुशी थिएन र त्यो क्षणमा !

मालती ?

हो, मातली खुशी थिइन । धेरै दिनपछि स्कूलमा देखापरेकी मालती उदास थिई । उदासै भएर भनी, “सबैले स्वतन्त्रता प्राप्त गरें तर मेरो स्वतन्त्रता खोसियो ।”

किन भनेर सोध्ने ठाउँ थिएन मैले । मलाई थाहा थियो जुलुसमा जानु एउटा अनिष्ट भैदियो उसका लागि । राजा कर्णबहादुर र उनका छोराहरू कहाँ सहन सक्थे र यो कुरा ! मालतीले भनी, “घरबाट निस्केर दिनभरि कति पाइला हिंडे, सबै हिसाब बुझाउनुपर्छ साँझमा बुबालाई ।”

देशमा प्रजातन्त्र आयो तर मालतीका पाइलाहरूको समेत हिसाबकिताब राख्ने दिन आयो, हरे भगवान् ! त्यत्रो खुशीयालीको बीचमा पनि अँध्यारो उसको अनुहार देखेर मन खिन्न भएर आयो । माया लागेर आयो मालतीको । रजबागकी एउटा फुरफुरे पुतली पखेटा काटिएकी चरीझैं मेरा अगाडि निरीह भएर उभिएकी थिई । मेरो मन धमिलिएर आयो । करुणा भरिएर आयो । मालतीले करुण दृष्टिले हेरी मलाई । मैले मायालु दृष्टिले हेरें उसलाई । हातमा गुलाबको पूmल बोकेर आयो चित्रबहादुर, त्यसै बेला । मालतीतर्फ बढाउँदै भन्यो, “हामी सबैलाई बधाई छ । ल, तिमीलाई पनि बधाई है !” ठिङ्ग उभिएर हेरिरही मालतीले घरी मलाई, घरी चित्रबहादुरलाई र घरी गुलाबको फूललाई ।

***

फेरि उस्तै गर्मीका दिनहरू शुरु भए । बिहान साइकल टिपेर नहरको ढिकैढिक स्कूल पुग्थें । छुट्टी हुँदा साइकलको पछाडि किताब च्यापेर त्यही धूलौटे सडकमा तरतरी पसिना काढ्दै घर फर्किन्थें । घाममा पसिनैपसिना भएर घर पुग्दा सखी कहिले ठन्डा बरफ र कहिले तरभुज किनेर मलाई पर्खिरहेकी हुन्थी । कहिले डालामा भित्रबाट गहुँ ल्याउँदै सडकमा चुइँचुइँ लडिया हिंडाइरहेको तरभुजवालालाई कराउँथी, “अइ रे बजिया रुक रे... !”

“अच्छा !”, यत्ति भनेर ऊ सडक किनारमा लडिया रोकिराख्थ्यो । सखी डालामा गहुँ लिएर गएपछि ऊ तराजु निकाल्थ्यो । अनि तौलेर दिन्थ्यो, दुई भाग गहुँ एक भाग तरभुज । तरभुज किनेर सखी भन्थी, “आ तरभुज खा । गर्मीमा तरभुजले जीउ ठन्डा हुन्छ ।”

ओसारको कोठामा म तरभुज खाइरहेकै बेला ऊ आफ्नो अँगोछाले मेरा पसिना पुछिदिँदै भन्थी, “घामले डढेर कति कालो भैहालिस् तँ ! भोलिदेखि छाता लिएर जा है !”

एउटी आमाले आफ्नो बालकलाई गरेझैं ऊ माया दर्शाउँथी, “भोक लाग्यो होला पैला भात खा, अनि लेख्ने काम गर्नू ।”

कमिजका टाँकहरू खोलिदिँदै ऊ भन्थी, “हेर त कमिजको काल्लरमा कति मयल जम्मा भैसकेछ । खोल सर्ट र पाइन्ट, म धोएर सुकाइदिन्छु ।”

खुट्टा कट्कटी दुःखेर पल्टिरहेथें, उसले आएर सोधी, “के भो ?” म नबोली चुपचाप पल्टिरहें । उसले कचौरामा तेल तताएर ल्याई । भनी, “तल सुत् ।” म घोप्टो परेर पल्टें । घसघसी तेल लगाएर उसले भनी, “सुत् अब दुख्दैन ।”

ऊ कोठामा भात ल्याएर आउँथी । खाएको हेरिरहन्थी निर्निमेष, वर्षौंपछि भेट भएको मायालुलाई हेरिरहेझैं । कति मायालु थियो उसको हेराइ । कति आत्मीय थिई ऊ । हेर्दा हेरिरहूँझैं गर्थी, बोल्दा बोलिरहूँझैं ।

खुट्टा दुःख्दा मनतातो पानीले सेकिदिने उही थिई । चिसो लाग्दा तेल तताएर लाइदिने उही । कपाल दुःख्दा मुसारिदिने उही थिई । उदास अनुहार देख्दा मुस्कुराइदिने उही । सखी नै त थिई, मेरी सुखदुःखकी साथी । अरू को नै थियो र सखीबाहेक यति माया गर्ने मलाई !

***

असार दोस्रो हप्तामा हिंड्दै थियो । अर्धवार्षिक परीक्षाको समय तालिका आइसकेको थियो । परीक्षालगत्तै पैंतालीस दिनको वर्षे बिदा हुने सूचना थियो । मालतीमा छट्पटी शुरु भइसकेको थियो कि यति लामो बिदा कसरी काट्ने ? छुट्टी भएर कक्षाकोठाबाट बाहिर निस्किँदै गर्दा मालतीले मेरो हातमा खुजमुज परेको एउटा कागज थमाइदिई । किताबको बीचमा राखेर मैले साइकल मच्चाएँ । नहरको ढिकैढिक गएर भक्ता काकाको कुटीमा सुस्ताएँ एकछिन । मालतीले दिएको कागज निकालेर पढ्न थालें–

“प्रिय मानव !

भित्रभित्रै म तिम्रो मायामा यसरी डुबिसकें कि तिमीलाई नदेख्दा संसारमा कोही छैनजस्तो लाग्छ । तिमीलाई पनि थाहा हुनुपर्छ कि म तिम्रै मायामा पागल छु भनेर । तिमीबिना म खुशी हुनै सक्दिनँ प्रिय ! के तिमी मलाई खुशी देख्न चाहँदैनौं ?

तिम्री मालती !”

पत्र पढेर चङ्गाझैं उडिरह्यो मन । असारको आकाशमा बादलका बुट्टाहरू गजधुम्म थिए । मालतीलाई सम्झेर खुशीले बादलझैं उडिरह्यो मन । उफ् ! मालती ? प्रिय मालती !

ऊ रजबागका पूmलहरूकी स्वच्छन्द पुतली, म फर्सीका पूmलमा अल्झिरहने गोब्रे कीरो । कहाँ ऊ आकाशकी चन्द्रमा, कहाँ म धर्तीको धुलो । कहाँ गङ्गाको छाल, कहाँ खहरेको किनार । वियोगको कहानी रच्नुबाहेक यो मायाको सार्थकता के होला र ! यही सोचेर भारी मटुका साथ म घर पुगें । दोस्रो दिन हाफ छुट्टीका बेला चार पेजको चिठी मालतीको किताब भित्र राखिदिएँ । मालती पानी खान गएकी हुँदी हो । ढोडीको जङ्गलबाट पिसाब फेरेर फर्किंदा कक्षाकोठामा यादव सर पसिसकेका थिए । भनें, “मे आइ कम इन सर ?”

“आ रे आ, हिरोसाप् ! बडा लभ गर्ने भैहालिस् रे !”

गलल्ल हाँसोको गुञ्जनले कोठा भरियो । म उँधोमुन्टो गरेर उभ्भिरहें । यादव सर कक्षाकोठाबाट जब बाहिरिए अनि बोलाएर भने, “राजासाहेबको छोरीलाई लभलेटर लेख्ने भइछस् रे तँ त ! चित्रबहादुरले सब हल्ला गरिलियो । भोलि त तँ रेस्टिकेट भैलिन्छस् स्कूलबाट । राजा कर्णबहादुरका छोराहरूले मारेर कुलोमा फाल्दिन्छन् तँलाई बुझिस् ! बाँच्ने मन छ भने तँ आजै भागी हाल् रे हियाँबाट, बुझिस् कुरो !”

मैले कुरा बुझें, मालतीको किताबबाट चोरेर चिठी चित्रबहादुरले यादव सरको हातमा थमाइदिएछ । यादव सर कहाँ कम थिए र ! सारा मास्टरहरूका बीचमा क्षणभरमै हल्ला फैलियो, राजा कर्णबहादुरकी छोरी मालतीलाई मानवले लेख्यो लभलेटर ।

शायद मालतीले भेउ नै पाइन यस कुराको । छुट्टी हुनेबित्तिकै फटाफट निस्केर गई लहरूमा ऊ । म गेटमा पुग्नै लाग्दा शरण सरले भन्नुभयो, “कर्णबहादुरका गुन्डाहरूले मार्देलान् है विचार गर । सकभर चाँडो भागिहाल् ह्याँबाट तँ !”

मेरो मन बादल लागेको असारको रातझैं ओसिलो भयो । आँखा पन्याला भए । एउटै भीम त थियो नि मलाई स्कूले जीवनमा माया गर्ने साथी । म ओइलाएको देखेर अनुहार अँध्यारो गरिदियो उसले । भन्यो, “हिंड् म पु¥याएर आउँछु घरसम्म तँलाई ।” शुकलाल थारूको घरमा उसको डेरा थियो । जमिनदार शुकलालको घरकै सदस्य भएर बसेको थियो भीम । कैयौं रातहरू हामीले भीमको डेरामा सँगै गुजारेका थियौं । मेरो हृदयमा अर्कै स्नेह लिएर जोडिएको थियो ऊ । एउटा साथीको भन्दा ज्यादा प्रेम थियो ऊसँग, अव्यक्त प्रेम । साइकल चलाउँदा आँखा तिरमिर–तिरमिर भइरहेकै थिए । मन भयभीत भएर एक तमासले उडिरहेथ्यो । मुटुमा भक्कानो फुटेर आयो । हरे ! भगवान् एउटै चिठीमा ज्यान जाने भयो जिन्दगीमा ।

साइकलको पछाडि किताब बोकेर ऊ बस्यो । आँप बगैंचानिर पुग्नै लाग्दा चित्रेको ग्रुपले साइकल छेक्यो ।

“विचरा आजैसम्म बाँच्नु लेखेको रै’छ यस्को खप्परमा । भोलि यति बेला त कुन कुलोमा स्यालले लुछिरहेका हुनेछन् तेरो मासु । च्व ! च्व ! भाग्न सक्छस् भने भागिहाल आजै । कतै बची पो हाल्छस् कि ?”

चित्रेले भन्यो, “यसलाई मैले शुरुदेखि नै सजग गराकै हुँ । मेरो अगाडि खूब हिरो पल्ट्यो नि मुजी ! अब मर्ने भो विचरा ! यस्को लेखान्त यत्ति रै’छ !”

अर्काेले थप्यो, “जाजा चाँडै भात खाएर मर । भोकै मर्नुभन्दा भात खाएर मर्नु बेस !”

भीमसँग अर्काेले भन्यो, “यसलाई एक्लै मर्न दे लखन्तरे । यस्को ज्यानमा तँ परानी नदे । सँगै मर्ने भए तँ पनि कसैलाई एउटा चिठी लेखेर मर ।”

“हा हा हा हा !”

उल्ली बिल्ली पारिरहेथे उनीहरूले । नदीमा पौडी खेलेर आएजस्तो मेरो शरीर भयो, निथ्रुक्क पानीले भिजेको जस्तै । म निर्धा गाईजस्तै सडकको किनारबाट लुसुक्क निस्कें । दुई हातले मलाई समातेर भीम पछाडि बसेकै थियो । एक सासमा हामी नहरको बाटोमा पुग्यौं । नहरको ढिकमा बेपत्तासँग साइकल चलाउँदै थिएँ, कसैले एक लात हिर्कायो पछाडिबाट, ढ्याम्म । बस त्यत्ति थाहा छ । नहरमा पछारिएर कति मुक्का खाएँ । कति घुट्का पानी खाएँ, होस नै भएन । नहरमा चोबलेर किनारमा पछार्दा एउटाले भनेको यति कुरा सुनें, “बाँकी काम रातमा राजाका छोराहरूले नै गर्छन्, छोड्दे । हाम्रो काम यत्ति हो । दुईचार घन्टा संसार हेर्न दे पाजीलाई !”

धेरैपछि होस आउँदा पूरा शरीर हिलाम्य थियो । टाउको भनन दुखिरहेको थियो । शरीर आफ्नोजस्तो थिएन । साइकलका टिल्ली भाँचेर नहरको किनारमा पछारिएको थियो । भीम नहरको ढिकमा पल्टेर रोइरहेको थियो । ईश्वरबाट अपहेलितजस्तै भएर काँपिरहेको थिएँ म । थरथरी काँप्दै उठ्यो भीम । साइकल समातेर बिस्तारै डो¥यायो । अलिपर भक्ता काकाको कुटीनेर पुगेपछि कपडा खोलें । हिलैहिलो भएका कपडा नहरमा धोएर सुकाएँ । हिलाम्य जीउ पखालिदियो भीमले । भक्ता काकाको खटौलीमा बसेर धेरै बेरसम्म आँसु बगाइरहें । भीम अँगालो हालेर भक्कानिइरह्यो । सूर्य पश्चिम कुनामा ढलेपछि चिसा कपडा लगाएँ । भिजेका किताब खोकिलामा च्यापें । भीमले साइकल डो¥यायो । वरपरका दृश्यहरू हेर्दै थाकेका गोरुझैं सुस्तरी अघि बढ्यौं ।

किनकिन आज मलाई त्यो बाटो प्यारो लागिरहेको थियो । बाटो वरपरका सिमलका रूखहरू प्यारा लागिरहेका थिए । कतैकतै खेत रोप्न थालेका दृश्य प्यारा लागिरहेका थिए । यो बाटो, यो नहर, यी खेतका आली, यी सिमलका रूखहरू, त्यसमा बसेका चराहरू, यो मौसम, यी घरखेत, सबैसबै आज मलाई एकएक गरी प्यारा लागिरहेका थिए । आफ्नै लागिरहेका थिए । नहरको ढिकमा पु¥याएर भीमले गम्लङ्ग अँगालो हाल्यो । टिठाउँदो मुख र पन्याला आँखा बनाएर भन्यो, “मेरो साथी तँ जा अब ! म डेरामा फर्किन्छु । तँ आजै राति भागेर आफ्नो ज्यान बचा है मेरो साथी ! नत्र मारेर फाल्देलान् ! तँ मलाई मरेको दिनमा पनि नबिर्सेस् ! म तँलाई मरेको दिनमा पनि बिर्सनेछैन !”

रुँदैरुँदै ऊ नहर नबगेको दिशातिर गयो । टाढा पुगिसक्दा पनि मेरा आँखाहरूले उसलाई पछ्याइरहे ।

***

घरनेर पुग्दा नहरको ढिकमा आएर सखी मेरै बाटो हेरिरहेकी थिई । असारमा धर्ती पूर्णतः हरियो भइसकेको थियो । रोपेका खेतहरू तङग्रेर धर्तीमण्डल हरियालीमय थियो । वनजङ्गल, खेतबारी र घरका आँगनमा समेत झारपातले हरियो बनाएको थियो । आकाश निलाम्य थियो । कतैकतै पहाडका टाकुरा र खोल्साहरूमा बादलका गुच्छाहरू फुलेका देखिन्थे । मेरी सखी पूर्णतः नीलो पहिरनमा थिई । नीलो चोली, नीलो घाँघर, नीला चप्पल, नीलो पटुकी र नीलै चुन्नी ओढेकी सखी पूर्णतः नीलो भेषमा थिई । नीलो आकाशबाट खसेकीजस्ती पूर्णतः निली । सम्पूर्णतः निलाम्बरा !

उसलाई देख्दा गह भरिएर आयो । लाग्यो, गलामा लागेर धरधरी रोइदिऊँ । किन्तु मनको हिक्का मनमै रोकें । आँखाको आँसु आँखैमा सुकाएँ । सखीका अघि साबिकझैं देखिन खोजें । “बिहानदेखि ऐलेसम्म काँ गएको थिस् ? तँलाई भोक लागेन ऐलेसम्म ? कति कुरें दिनभरि तँलाई मैले । बाटो हेर्दाहेर्दा आँखा थाकिसके ।”, सखी मायालु बनेकी थिई ।

कठै ! मेरी सखी, कसरी भनूँ मेरो के हालत भयो आज भनेर । उसैगरी पसिना पुछिदिई उसले । कति मायालु बनेर मेरै बाटो हेरेकी उसले । मेरो निम्ति आफ्नो जीउ आधा बनाएर बसेकी थिई ऊ । मेरी मायालु, मेरी सखी । कसरी भनूँ, “सखी मैले एउटा भयानक गल्ती गरें । त्यसैको परिणाम भोग्न म विवश छु । आज म तँलाई छोडेर जान बाध्य छु सखी । अबको केही क्षणमा म तँलाई छोडेर जाँदै छु ।” उफ् ! कसरी भनूँ यो कुरा ? भन्न सक्तै सक्तिनँ मेरी सखीलाई यो कुरा । मेरो मनभित्रको अवस्था के थाहा सखीलाई ! मनभित्रैबाट एउटा झङ्कारजस्तो कुरेलो आउन थाल्यो । मुटु भक्कानिएर आयो । म तरल भएर बग्न थालें ।

साँझको खाना चाँडो बनाएर ल्याइदिई सखीले । उसलाई कति पिरलो थियो, आज म भोकाएको छु भन्ने । खाना खाएर पल्टिरहें खाटमा । न पढ्ने मन लाग्यो, न त लेख्ने नै । दिमागमा दिउँसोका वाणीहरू गुन्जिरहे, “कठै विचरा आजैसम्म बाँच्नु लेख्या रै’छ यसको खप्परमा । भोलि त कुन कुलामा स्यालले लुछिरहेका हुनेछन् यसको मासु !” र, “तँ भागिहाल् आज ह्याँबाट !”

साँझको काम सकेर आएपछि सखीले भनी, “आज किन उदास देखिन्छस् ? काँ थाकेर आइस् दिनभरि, भन् ? आ यता मनतातो पानीले खुट्टा सेकाइदिन्छु । दुःखेको ठीक हुन्छ ।”

म घोप्टो परिदिएँ उसका अघि । मनतातो पानीले खुट्टा पुछिदिई सखीले । तेल लगाइदिई । उसले तेल लगाइरहँदा आँसु रोक्न सकिनँ । भित्रैबाट आएको हिक्का रोकेर आँसु चुहिरहे । कति बेरसम्म उसले खुट्टा दाबिरही, होस भएन । एउटा अनाथ बालकझैं निदाइदिएछु उसको काखमा । ब्युँझिंदा रातको बाह्र बजेको थियो । सखी भुइँमै मलाई हातको सिरानी दिएर गुन्द्रीमै निदाएकी थिई ।

आधी रातमा उठेर असरल्ल छरिएका आफ्ना लुगाहरू झोलामा कोचकाच पारें । किताबहरू टेबुलमा छरपस्टिएका थिए । सखीका लागि चारवटा किताब छोडेर अरू झोलामा प्याक गरें । आजैसम्म रै’छ राजीपुरको पानी खानु मैले । यही सम्झेर आँसु झरिरहे । बाहिर असारको आकाश गजधुम्म भएर भरिएको थियो । भित्र टुकीको मधुरो प्रकाशमा सखीको मायालु अनुहार निदाएको थियो । धेरै बेरसम्म हेरिरहें सखीलाई । अँगालोमा उठाएर कपाल मुसारिदिएँ । मनमनै भनें, “तिमीसँगको यात्रा आजैसम्म पो रै’छ सखी । जाँदै छु तिमीलाई राजीपुरको यस रातमा छोडेर । उठ्दा तिम्रो सामुन्नेमा म भेटिनेछैन । तिमीले चिया ल्याएर आउँदा बिहान बेडमा म हुनेछैन । तिमी नहरको ढिकमा पर्खेर बस्दा भोलिदेखि स्कूलबाट म आइरहेको हुनेछैन । मेरी सखी सम्झनामा सँगाली राखे है मेरा यादहरू !”

निदाएको उसको मायालु अनुहार नियालिरहें । आँसु रोक्न सकिएन, छोड्ने बेलामा । के गर्नु बसेर ज्यान जोखिममा हाल्न सकिने थिएन । लड्नभिड्न सकिने थिएन । यस बेला मलाई मेरो ज्यानको माया लागिरहेको थियो । ज्यान बचाउनु थियो मैले । मैले भाग्नुपर्ने बाध्यता बनेर आयो । राजीपुर र प्यारी सखीलाई छोड्न विवश थिएँ म । सखीको मायाले मात्रै खाँबो भएर अड्न सकिने थिएन । जानु अवश्य थियो ।

मैले कतै अर्काे क्षितिज हेर्नु थियो, सखीले थियो पर्खिनु । मैले जीवन जगत्लाई पढ्नु थियो, उसले भाँडा माझ्नु । मैले चराजस्तै टाढा उड्नु थियो, उसले यतैकतै गुँड लगाउनु । मैले मेरै स्वतन्त्र बाटो हिंड्नु थियो, उसले यतैकतै अल्झिनु । मैले नदीजस्तै बग्नु थियो, उसले हिउँजस्तै जम्नु । मैले कतै स्वतन्त्र आकाश भेट्नु थियो, उसले दासत्वको साङ्लोमा बाँधिनु । एउटै बिस्तरामा देखिएका फरकफरक सपना न थिए हाम्रा । एउटै दृश्यमा अल्झिएका फरकफरक आँखा न थिए हाम्रा । एउटै प्रीतिमा समेटिएका फरकफरक मन न थिए हाम्रा । फरकफरक बाटो थियो । फरकफरक जिन्दगी थियो । हाम्रो यात्रा एउटै कहाँ थियो र ! हाम्रो गन्तव्य एकै कहाँ थियो र ! एकै थालमा भात खाएका जुदा आदमी न थियौं हामी । एउटै बाटोमा भेटिएका फरकफरक यात्री न थियौं हामी । छुट्टिनु हामीले अवश्य थियो । समयले यति चाँडै छुट्याइदियो । सवाल केवल थोरै अघि र पछिको न हो । बस, यही सम्झेर मन बुझाएँ आफ्नो । चन्द्रमाझैं खुलेको सखीको मासुम निद्रालु मुहारमा बिदाइको एउटा चुम्बन गरिदिएँ ।

मनमनै भनें, “बस मेरी सखी, यो ओसारको कोठामा तिमी नै बस अब । आजदेखि तिम्रै नाममा गरिदिएँ यो कोठा मेरी मायालु । सम्झन्छु, भोलिदेखि तिम्रा आँखाको अवस्था कस्तो होला । म बुझ्छु, भोलिदेखि तिम्रो मनको हालत कस्तो होला । शायद रित्तो भैजाला यो धर्ती तिम्रा लागि । कसले फकाउन सक्ला तिमीलाई, असारको रिमझिम बर्सातमा । कसले मन बुझाउन सक्ला तिम्रो, यो अँधेरी रातमा ? तर सखी समयको खेल यही हो कि तिमीले यही नियति भोग्नु छ । मैले यही बिछोड बेहोर्नु छ । तिम्रा निर्दोष आँखाको पाप मलाई नलागोस् सखी । तिम्रो कोमल मनको श्राप मलाई नलागोस् । मेरी सखी, चराजस्तै उड्दैउड्दै कतै चारा खोज्ने बेला यो धर्तीको कुनै स्थानमा भेट भइजाला । हावासँगै बग्दाबग्दै सास फेर्ने बेला मान्छेको हूलमा कतै भेट भइजाला । बटुवाजस्तै हिंड्दैहिंड्दै कुनै चौतारीमा भेट भइजाला । बिदा प्रिय सखी, बिदा !”

बिदाइका हात हल्लाउँदा आँसु रोक्न सकिएन । काइँला काकाको कोठाभित्रको अल इन्डिया रेडियोबाट गीत बज्दै थियो, “लग्जा गले, फिर इस जनममे मुलाकात हो, न हो ।” दशपल्ट उसको निधार चुमें । उसका हात छातीमा लगाएँ । भुइँमै पल्टिएर उसलाई गलामा लगाएँ । अनि जुरुक्क उठेर हिंडिदिएँ म ।

निदाएकी सखीलाई मैले त्यसैगरी छोडें, जसरी पाकरीको छायामुनि उसको बाबुले छोडेको थियो । सुतेको उसको मासुम चेहरा सधैंका लागि मनमा साँचेर निस्कें म, ओसारको कोठाबाट । मेरी सखीको जिन्दगीबाट । काइँला काकाको आँगनबाट । मेरा बाजेको सपनाबाट । पिठ्यूँमा झोला बोकेर हिंडिदिएँ म लुरुलुरु, अँधेरी रातमा राजीपुरबाट ।

(मदन पुरस्कार विजेता ऐनाका लेखक रामलाल जोशीको पहिलो उपन्यास सखी यही सातादेखि बुक–हिलले बजारमा ल्याएको छ ।)

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ०८:०१
सिफारिस
त्यसपछि प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भने- देश सफल होस्, जनता बँचुन्
त्यसपछि प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भने- देश सफल होस्, जनता बँचुन्
पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएकी सुशीला कार्की
पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बन्ने सौभाग्य पाएकी सुशीला कार्की
'संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो'
'संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो'
सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटनको सिफारिस गर्न तयार भइन् कार्की
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटनको सिफारिस गर्न तयार भइन् कार्की
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP