आङमा तीन पत्रे लुगा गुथेर
नाक र मुखमा सोली जस्तो पट्टी ठुसेर
आँखामा सप्तरङ्गी चश्मा, अनि रङ्गीन उडान भर्दै
अन्तरिक्ष नै जित्न आँटेको पारामा हुँइकिँदा
उताबाट छिसिक्क पास भएको गाडीले ग्राउण्ड जिरो पुर्याइदिन्छ
सपना त चकनाचूर भए नै जमेको पानीले कोशी स्नान बिर्साइदिन्छ
सपनालाई रोकटोक छैन, छेकथुन छैन
हिलाम्मे जिउलाई रगड्दै, हातका काला पत्रलाई उजिल्याउँदै
सुन्छु समाचार जहाजका, रेलका अनि सफा हावाका
पिनासिएको नाकले आराम
धुलाका कणलाई सम्म केलाउने भेउ राख्ने आँखाले शितल पाउने नै भए
ओहो अर्को उडान सपनाका, सपनाका महलका
बास्तविकतामा ठडिएको महल छैन
मोनो, मेट्रो रेल हैन
खाल्डा अनि भरिएका पानी
सडक खोल्सो भएको छ, सुसेल्दै बग्दो छ
हिजो भरिएको खाल्डो आज टम्लग्न पानी पानी छ
यही दैनिकी बीचको मिशन प्यारो छ
सुकिलो लगेको ज्यान सुकिलै घर फर्काउने
हो म मिशनमा हिँडेको मान्छे ।।