आमा म अहिले तिमी १२ वर्षमै बिवाह गरेर घर गर्न गएको कुरा सम्झिरहेको छु।
यो विषय धेरै पहिलेको पनि होइन। लोग्ने मर्दा स्वास्नी सति जानैपर्ने बेलाको होइन। राजा महेन्द्रले दियालो बंगलामा अन्तिम श्वास फेरेको बेलाको कुरा पनि गरेको होइन।
एउटा समय थियो। देशमा टेलिभिजन आइसकेको थियो। पञ्चायत सायद आफ्नो अन्तिम समयमा थियो। म जन्मने समयलाई अहिलेको समयबाट हेर्ने कोशिश गरिरहेको छु।
तिमी त्यो बेला तनहुँको सरस्वती माविमा पढ्दै थियौ रे। १२ वर्षको बच्चामा कति चन्चलता हुन्छ है आमा! तिमिमा पनि त्यस्तै चञ्चलता थियो होला। तिमीले पनि गट्टा खेल्ने गरेकी थियौ होला। संगीहरूसँग लुकामारी र कपर्दी खेल्ने गरेकी थियौ होला।
तिमीले पनि अलि अलि बदमासी र अलि अलि मस्ति घाँस-दाउरा, पानी-पँधेरो गर्दा गर्थ्यौ होली। बच्चै त थियौ तिमी। मात्र १२ वर्षकी, भर्खर ७ कक्षा पढ्दै गरेकी।
तिमीलाई बैंश र यौवनले काउकुती लगाईसकेको थिएन। आफ्ना साथीहरु राजेन्द्र अनि सरलाले जस्तै उडेर आकाश चुमेको सपना देख्थ्यौ होला है!
तर तिमीलाई त्यो बेला के थाहा भयो होला र। बिबाह नामको करौंतीले तिम्रो सपनाको उडान भर्ने पखेटा रेटिदैछ भन्ने कुरा। देश देखेका तिम्रो फौजी बाले कसरी मान्न सके आफ्नी जेठी दिदी, बाठी बाहुनीको तर्क।
रजश्वला नहुँदै छोरी अन्माइयो भने कसैले नकमाएको धर्म कमाइन्छ भनेर कसरी विश्वास गर्न सकेका है। यति कठोर निर्णय लिएको दिन सायद तिम्रो बालाई पल्टने रमले पनि उचालेको हुनुपर्छ।
आमाले त के पो भन्न सक्थिन् र। भाइ बहिनी झन् साना। कसले पो बुझ्यो र तिमीलाई। तिमीले पनि कसरी भन्न सक्थ्यौ र आफ्नी जेठी फुपू, उनै बाठी बाहुनीले मधेशबाट टपक्क टिपेर ल्याएको मान्छेसँग 'ए! बाँस जस्तै लामघारे मान्छेसँग, जानु छैन मलाई' भनेर।
अनि बाँकी दिदिलाई छाडेर तिमीलाईनै रोज्यो होला त्यो नवलपुरे ठिटोले। खासमा हेर्न आको तिम्रै दिदीलाई थिए रे। राइफल सिरानी राखेर सुत्ने तिम्रो बाले र ठूलो बाले किन भन्न सकेनन् 'हाम्रा छोरीहरु डुम्रेको दोकानको सामान हुन् र जुन मन पर्यो त्यहि रोज्नलाई?
धरै छन् आमा! यस्ता अनुत्तरित प्रश्नहरु मेरो मनमा।
तिम्रो मनमा झन् कति होलान् कति, सायद चट्टानले जस्तै थिच्छन् होला है तिमीलाई यस्ता प्रश्नहरुले आज पनि?
तिमीलाई तिम्रो मधेशको बेहुलाले दिएको सारी र रातो सिन्दुरले के रंगीयो होला र तिम्रो मन। कति रोएकी थियौ तिमी त्यो दिन आफ्नो जिन्दगी सम्झेर।
तिमीसँगै पक्कै रोएका थिए तिमीले बढार्ने आँगन, तिमी हिँड्ने बाटो, तिमीले रोपेर हुर्काएका फूलका बोट, तिमीले ठूलो एकादशीमा सिंगार्ने तुलसीको मठ अनि गोठको गाइ तर रोएनन् आमा तिम्रा आफ्नै मान्छेहरू।
आफ्नो ६ फिट अग्लो लोग्नेलाई पत्नी सुख। कसरी सम्हाल्यौ होली १२ वर्षकै उमेरमा आफू पुगेको बिरानो घर। कसरी रिझायौ होली सासु, ससुरा, देवर, नन्द, आमाजूहरुलाई।
अहो! सम्झिँदा पनि कहाली लागेर आउँछ १२ बर्षको कलिलो मनलाई जवर्जस्ती जवान बनाउनुपर्ने।
पैसा कमाउन इण्डिया पुग्यो रे लाहुरे। लोग्ने बेखबर हुँदा त्यो कलिलो मनमा के बित्यो होला।
एक्कासी ६ महिना पछि एउटा आइसी सयको नोट, एकथान एचएमटी घडि अनि झन् दुब्लाएको उही ६ फिटे बाँस जस्तो ज्यान लिएर घाम डुब्नै लाग्दा झुल्केका थिए रे तिम्रा लोग्ने।
त्यो बेला तिमी हाँस्यौ कि रोएकी थियौ आमा?
अनि छ नी आमा त्यती कलिलो उमेरमै आफू भित्र अर्को जीवन पनि धड्कदै छ भन्ने कुरा कसरी थाहा पायौ? त्यो बेला खुसी भयौ कि दु:खी? कसलाई सुनायौ नि पहिलोपल्ट त्यो कुरा तिमीले?
तिमीले कसरी भोग्यौ होली, बच्चै त थियौ नि है। घरको सारा काम धन्दा, घाँस- दाउरा, डोकामा भरि गाग्रीको भारी, फप्रेटा काइँलाको मिल। अहो! कति धरै काम गर्नुपर्ने तिमीलाई? खान मन लागेको कुरा खान पायौ कि पाइनौ त्यो बेला? ज्यानले आराम पायो कि पाएन त्यो बेला?
घरमा रोपाइँ थियो रे त्यो दिन। बिहानैदेखि हलिहरु, बाउसेहरु, रोपार खेतमा पसिना बगाईराखेका थिए। मानो रोपेर मुरी उब्जाउन। एता बाख्राको खोर नजिकै एउटा गुन्द्रीमा तिमीले पनि एकजोडी आँखालाई संसार देखाउन पसिना र आँशु बगाईराखेकी थियौ रे प्रसव पिडाले।
घरका सबै मान्छे खेतमा। सासु र तिमी मात्र घरमा। सासुलाई पनि भोकाएका खेतालालाई खाजा बनाउने चटारो। भान्साबाट बेला बेलामा आउँथिन् होली तिमीलाई हेर्न अनि भन्थिन् होली 'दुलही, केही हुँदैन, न आत्ती।’
सासुलाई तिम्रो पीडाले भन्दा आफ्नो घरमा पहिलो पटक नाति वा नातिनी के जन्मने हो भन्ने खुलदुलीले बहुत अधैर्य हुँदो हो। अनि देउराली चुरोटको धुँवा उडाउँदै फेर्थिन होला लामो श्वास।
त्यो बेला तिम्रो सबैभन्दा नजिक दाम्लोमा बानेका बोल्न नसक्ने बाख्रा त थियो। तिमी बेदनाले छट्पटिदा तिनीहरु पनि कराए होलान् म्या... म्या ...गरेर।
तिमीलाई सुसार्ने हल्दार्नी बज्यैले गोर्खाली आमाको हात च्याप्प समातेर भिडबाट एउटा कुनामा लगेर बिस्तारै डराई डराई भन्नुभाको थियो 'बज्यै नाती त पाइ बुहारी धेरै बच्ला जस्तो छैन।'
बच्चा अत्यन्तै कमजोर जन्मिएको थियो, दुध चुस्न पनि सकेको थिएन उसले। रूवाइ पनि कमजोर। फेरि हल्दार्नी बज्यैको खरिएको अनुभव।
त्यो समय सबैले त्यो बच्चाको दीर्घ जीवनको कामना गरे। आफ्नो लामो अनुभव समेत यो परीक्षामा अनुतीर्ण होस् भनेर कामना गर्नुभयो हल्दार्नी बज्यैले समेत।
सबैले आँखा समेत राम्ररी नउघ्रिसकेको बच्चाको लागि आफ्नो आफ्नो देउता सम्झिरहँदा अर्को एउटा मान्छे भने अझै उही गुन्द्रीमा थियो। बच्चा जन्मेको सामान्यत: आधा घण्टा भित्रमा साल झरिसक्नु पर्ने, तिम्रो हकमा त्यसो भएन।
रातभरी पनि तिमी त्यसै लम्पसार परिरह्यौ तर साल झरेन। तिम्रो आँखामा बग्न मिल्ने आँशु पनि थिएन, तिम्रो शरीरमा चुहिन सक्ने रगत पनि थिएन। तिमी मुढो बन्यौ आमा।
त्यो ठाउँबाट अस्पताल त्यती टाढा थिएन, अनि हैसियत नभाको परिवार पनि थिएन। तर दिउँसो बच्चा जन्माएकि तिमीलाई किन साल न खस्दा पनि रातभरि त्यतिकै राखियो?
यो लेखिरहँदा मेरो हात काँपीराखेको छ सास रोकिएला जस्तै भाको छ, त्यो बेला तिमीलाई कस्तो भाको थियो होला म सोच्न पनि सक्दिनँ।
अचेत तिमीलाई खटियामा राखेर बेलबहादुर डाक्टरकोमा लगियो रे धेरैले कानेखुसी गरेका थिए रे 'अब गोर्खाली बाको जेठी बुहारी कहिल्यै फर्कन्न, त्यो बालकको बिजोग हुने भयो कठै!' केहि पछि, आँधी जस्तै खबर आयो
'ल मलाम जानुपर्ने भयो।'
कति मान्छेहरू उनै गोर्खाली बाको घर तिर आएका थिए रे, तिम्रो अन्तिम बिदाइको लागि। तर, गाउँकै पौडेल बुवा बित्नु भाको थियो। तिमीले यो पाली मृत्यु जित्यौ र त मैले टुहुरोपन जिते आमा।