पत्रपत्रिकामा रामदेवी महर्जनका हाइकिङ र स्वास्थ्य सम्बन्धी लेखहरु पढ्दै आएको छु। यही असार २ गते रामदेवीको पुस्तक हाइकिङ काठमाडौं विमोचन कार्यक्रममा सहभागी भएर जीवनमै पहिलो पटक दुइवटा पुस्तक किनें। एउटा आफना लागि र अर्को हिँडडुल गर्न रुचाउने र स्वास्थ्यको ख्याल राख्ने मित्रका लागि उपहार दिने हेतुले। प्रकृतिप्रेमी समूह निरोगधामसँग म गाँसिएको ५ वर्ष भयो।
आफनो स्वास्थ्य आफनै हातमा भन्ने नारा यसको मूल मन्त्र हो। आफनै शरीरलाई मापदण्ड बनाएर प्रकृतिप्रेमीको सुत्रहरुलाई व्यवहारमा उतार्न सक्दा मानव जीवन सुखमय बन्ने पक्का छ।
प्रकृतिप्रेमी समूहले हरेक महिनाको चौंथो हप्ता गराउने काठमाडौं उपत्यका वरपरको हाइकिङमा म जहिले देखि जान थाले त्यही संस्थाकी अगुवा कार्यकर्ता रामदेवी महर्जनसँग पनि त्यसैबेलादेखि नजिकबाट चिनजान भएको हो। उहाँ आफै पनि बिभिन्न रोगबाट पिडित भएर निरोगी बन्न भौँतारिदैँ प्रकृतिप्रेमी समूहमा पुग्नु भएको थियो।
संस्थामा आवद्ध भै हाइकिङ गर्न थालेको केही वर्ष पछि नै विभिन्न पत्रपत्रिकामा उहाँका हाइकिङ र स्वास्थ्य सम्वन्धी लेख पढ्न पाइएको थियो। रामदेवी अहिले आफु स्वस्थ्य मात्रै नभएर सिङगै समाजलाई स्वस्थ्य पार्न ठूलो मेहनत गरेर हाइकिङ काठमाडौँ गाइड पुस्तक बजारमा ल्याउनु भएको छ। बढ्दो शहरीकरण, व्यस्त आधुनिक जीवनशैलीले गर्दा मानिसमा हिँड्ने बानी कम हुँदै गएको आजको अवस्थामा हाइकिङ, साइक्लिङ, बाइकिङ र ड्राइभिङ गर्न रुचाउनेहरुका लागि लाभदायक हुने गाइड बुकका रुपमा ‘हाइकिङ काठमाडौँ’ नामक चिटिक्क परेको पुस्तक बजारमा आएको छ।
म आफै पनि साथीभाइहरुसँग मिलेर घुमफिर गर्न रुचाउने भएकाले पुस्तक सरसर्ती पढेँ। काठमाडौँ उपत्यका चाडवाड जात्रापर्ब साँस्कृतिक रुपले मात्र धनी छैन, प्राकृतिक रुपले पनि अति सुन्दर छ। सानो देश भए पनि हावापानीका हिसावले सँसारभरिकै हावा पानी यहीँ पाइन्छ। समृद्धिका लागि अघि वढ्न हामीलाई प्रकृतिले सवैकुरा दिएको छ।
चारैतिर हरिया डाँडा पहाडले घेरिएको काठमाडौँ खाल्डो वरपर एक दिन वा वहुदिने हाइकिङ गर्न सकिने थुप्रै ठाउँछन्। कति मानिस घुम्न कहाँ जाने, कसरी जाने, कहाँबाट शुरु गर्ने भन्नेमा पूर्ण जानकारी नभएर अलमलिएको अवस्थामा हाइकिङबिज्ञ रामदेवीले उपत्यका सेरोफेरो भित्र रहेका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसावले महत्वपूर्ण ६४ स्थानको पदयात्रा रुट, त्यसका नक्सा, र लोभलाग्दा फोटोहरु सहितकोे ‘हाइकिङ काठमाडौँ’ पुस्तकले यस क्षेत्रको ठूलो खाल्डो पुरे जस्तो लाग्छ।
अहिलेसम्म हाइकिङ सम्वन्धी यति वेलिविस्तार गरिएको पुस्तक नेपालीमा छैन। हाइकिङ, ट्रेकिङ सम्वन्धी जति पनि पुस्तकहरु निक्लेका छन् ति सवै नेपाली बाहेक विभिन्न भाषामा निक्लिएका होलान्। बिदेसी पर्यटकहरु काठमाडौंँ घुम्दा होस् वा काठमाडौँ बाहिर उनीहरु सके आफनै भाषामा निक्लेको हाइकिङ, ट्रेकिङ सम्वन्धी पुस्तक पल्टाउँदै नेपालका दूरदराज, काठमाडौँका कुनाकाप्चा सजिलै घुम्न पुग्न सक्छन्। हामी भने आफनै देशका विभिन्न ठाउँमा घुम्न जाँदा कतिपय ठाउँमा बाटामा भेटिएका तिनै विदेशी पर्यटकसँग सोधनी गर्नु पर्ने बाध्यता छ।
हाइकिङ काठमाडौँ पुस्तक बजारमा आएकाले काठमाडौँको सेरोफेरोमा घुम्न डुल्न चाहनेका लागि पक्कै पनि यो सहयोगी हुने विश्वास लिन सकिन्छ। लेखिका प्रकृतिप्रेमी समूहको सक्रिय सदस्यमात्र नभै जिम्मेवार पदाधिकारी समेत भएकोले समूहबाट पुस्तकमा वर्णन गरिएका क्षेत्रहरुमा पटक पटक एकदिने हाइकिङ जाँदा र पुस्तक लेख्ने क्रममा लेखिका आफै पनि रुटहरुबारे फरक नपरुन् भन्ने हेतुले ति स्थानमा पटक पटक पुगेर त्यस क्षेत्रको धार्मिक, ऐतिहासिक साँस्कृतिक र सामाजिक जन जीवनको समेत अध्ययनसाथ यो कृति तैयार भएको हुंदा हाइकिङ सम्वन्धी सूचनाहरु सहि छन्।
विदेशमा रहँदा नेपाल पुगेका बेला विभिन्न ठाउँमा घुमौ पुगौँ भन्ने योजना बनाएर आउनेका लागि काठमाडौं उपत्यकाको सेरोफेरोमा रहेका सुन्दर स्थानको विचरण गर्न यो पुस्तक निकै उपयोगी हुन सक्छ। त्यस अलवा यो पुस्तक अंग्रेजीमा पनि अनुवाद हुन सके विदेशी पर्यटकका लागि पनि साह्रै उपयोगी हुने नै देखिन्छ।
हाइकिङमा जान त हामी इच्छा गर्छौँ तर ध्यानदिनु महत्वपूर्ण कुरा के के हुन् त्यसको ख्याल गर्दैनौ। अझ हाइकिङ स्वस्थ्य् शरीरका लागि गर्ने कि मोज मस्तीका लागि भन्नेबारे रामदेवी लेख्छिन् ‘पदयात्रा गर्नु भनेको, घुम्नु, मोजमज्जा गर्नु, रमाइलो गर्नु र मनपरी खाएर मनपरी हिँड्नु होइन।
अनुशासित र मर्यादित रुपमा देशको भूगोल, गाउँले जीवन रहन सहन बुझ्दै आपसमा सक्दो सहयोग र पारस्पारिक सम्वन्ध गाँस्दै हिँड्नु हो।’ हाइकिङ टिप्समा हाइकिङ जाँदा गर्नु पर्ने पूर्व तयारीदेखि के बोक्ने, कति पैसा लाग्ला, कसरी हिँड्ने, रुट छनौट, खाना के खाने, पानी कसरी खाने, औषधी के बोक्ने, अपनाउनु पर्ने सावधानी, फर्कदा ल्याउने कोशेलीदेखि अल्टिच्यूड, सिकनेस स्थानमा कसरी हिँड्ने आदि कुराको सविस्तार पुस्तकमा पाउँछौं।
त्यस्तै हामी हाइकिङ त गर्छौ तर त्यसका फाइदाहरुबारे त्यति ध्यान दिँदैनौ। पुस्तकमा उनले भनेकी छन् ‘हिँड्ने बानी बसाउँछ, शरीर बलियो बनाउँछ, उर्जा बढाउँछ, नयाँ साथी भेटिन्छ, प्रकृतिसँग नजिक्याउँछ, बिषयज्ञान बढाउँछ, ग्रामीण जीवन बुझिन्छ र भाइचारा बढाउँछ, आत्मवल बढाउँछ र आन्तरिक पर्यटनमा टेवा पुग्छ आदि आदि।
नेपालमा २०५४ सालमा रुद्रमान गुरुङले सिरुवारीबाट सुरु गरेको होमस्टे अहिले काठमाडौं उपत्यका भित्र चाँहि कहाँ कहाँ संचालनमा छन् त त्यस्ता होमस्टे (घरवास )का फेहरिस्त पनि हामी हाइकिङ काठमाडौं पुस्तकमा पाउँछौ। जसले हाइकिङमा जानेहरुका लागि गाउँले परिवेशमा रमाएर परिवारभित्रै बसेर खान वस्न पाउने कुराको पनि जानकारी दिएको छ।
प्रकृतिप्रेमी समूहका संस्थापक तथा तीन वरावर आहार शुत्रका प्रणेता डा. उमेश श्रेष्ठका बिचारहरुले पुस्तकमा महत्वपूर्ण ठाउँ पाएका छन्। प्रकृतिप्रेमी संस्थाको बारेमा जान्न पाइन्छ। यस अलवा हाइकिङमा के खाने के नखाने भन्नेमा स्वास्थ्यवर्धक खाना शिर्षकमा उनी लेख्छिन् ‘...सन्तुलित भोजन खांदैमा स्वस्थ्य भइँदैन। स्वस्थ्य हुन निस्कासक आहार खानुपर्छ। आज खाएको खानेकुरा सजिलै पचेर भोली खलाँस हुने गरी निस्कासन हुनुपर्छ आदि।
यो पनि हेर्नुहोस्
हाइकिङ र ट्रेकिङ क्षेत्रमा अपार ज्ञान आर्जन गरेका घुमकड अमृत भादगाउँले र पवन शाक्यज्यूको सम्पादनले, प्रकाशक हिमालय म्याप हाउसको स्तरीय साजसज्जा र छपाइका कारणले पुस्तक लोभलाग्दो बनेको छ। भाषा सलल बगेको र सरस भएकाले पढौं पढौं लाग्ने छ।
हामी आशा गरौँ हाइकिङबिज्ञ रामदेवीबाट आगामी दिनमा काठमाडौं उपत्यका वाहिरका विभिन्न ट्रेकिङ गर्ने प्रसिद्ध स्थानहरु समावेश भएको नेपाल ट्रेकिङ गाइडका रुपमा पुस्तक निस्कियोस्। यो किताव सबैले पढ्नै पर्ने र संग्रह गर्न योग्य छ। अन्तमा रामदेवीकै भनाइमा हिँड्ने मात्र होइन सरल र सही जीवन कसरी जिउने भन्ने ज्ञान पनि दिलाउनेछ हाइकिङ काठमाडौँ पुस्तकले। किताव पढ्दा मलाई पनि यस्तै लाग्यो, यस्तै प्रेरणदायी कामले लेखिकाको कलम अनुभवको कसीमा घोटिदैँ निरन्तर चलिरहोस्।