फिलिपिनो साहित्यकार तथा चिन्तक सिरिल बौटिस्टा भन्छन्ः साहित्य सधैं इतिहास हुन्छ, इतिहास सधैं साहित्य हुँदैन। अर्थात् साहित्यको क्षितिज इतिहासजस्ता विधा विशेषहरुको भन्दा निकै फराकिलो हुन्छ। विश्वमा धेरै साहित्यकारहरुले त्यो भनाइलाई सिद्ध गरेका छन्।
इतिहासकारहरुले भन्न चाहेर पनि भन्न नसकेका वा विधागत सीमाहरुका कारण आम मानिससम्म पुर्याउन नसकेका घटनाक्रम होउन् वा शासकीय स्वार्थका कारण औपचारिक इतिहासबाट मेटाइएका अध्यायहरु होउन्, साहित्यकारहरुले इतिहासमा छाडिएका खाली ठाउँहरु भर्ने र मानव समाजका वितिसकेका अध्यायहरुलाई थपक्क खोलेर राखिदिने काम गर्दै आएका छन्।
इतिहासलाई असाध्य फराकिलो रुपमा अथ्र्याउँदा नेपाली साहित्यले हाल गरिरहेको हाम्रो समयको चित्रण पनि भोलि गएर इतिहासमा दरिन सक्ला।
तर सोचनीय कुरा के हो भने, हाम्रो साहित्यले इतिहासको पहिलो ड्राफ्ट मानिने पत्रकारिताले छुटाएका, शासकीय इतिहास लेखनले अर्घेलो ठानेका अनि इतिहासकारहरुले न्याय गर्न नसकेका समाज र समयका अँध्यारा कुनाहरुमा पुग्ने प्रयास गरेको छ कि छैन?
इतिहासमा दरिने अपेक्षासहित लेखिएको साहित्यले पनि त्यो अपेक्षाप्रति न्याय गरिराखेको छ कि छैन?
यिनै प्रश्नहरुलाई पृष्ठभुमिमा राखेर मैले शिवानी सिंह थारुको ‘काठमाडौंमा एक दिन’ पढें। २०६३ पछि एकाएक मिडियाको मूल धारमा छाएको अनि अलिक वर्षपछि सामसुमजस्तै भएको तराईको सशस्त्र विद्रोहबारे मेरो ज्ञान कति छिपछिपे थियो भने, त्यो विद्रोहको बैठानबारे कुनै पत्रिकामा पढेको एक हरफ मात्रै मलाई याद थियोः सशस्त्र विद्रोहसित जोडिएका युवकहरुको वैवाहिक सम्बन्ध बनाउन कठिन हुँदै गएपछि त्यस खालको सामाजिक दबाबले युवाहरुलाई सशस्त्र समुहहरुमा लागिरहनबाट हतोत्साही ग¥यो।
त्यसैले ‘काठमाडौमा एक दिन’को विमोचनका अवसरमा भएको छलफल अनि पुस्तकको कभर र ‘अलिखित’ शीर्षक पृष्ठभुमि पढ्दा पुस्तकप्रति मेरो अपेक्षा चुलिएर गएको थियो। मेरा लागि तराईको सशस्त्र विद्रोह अहिलेसम्म नेपालको निकट विगतको इतिहासमा उदांगो बनेर बसेको ‘ब्लाइन्ड स्पट’जस्तै थियो। त्यसलाई मेट्ने उत्तम विकल्प हुन सक्थ्यो यो पुस्तक।
यसको लगत्तै अगाडि राणाकालमा बँधुवा मजदुरका रुपमा कज्याइएका काठमाडौं वरिपरिका सिंगो तामाङ बस्तीहरुबारे लेखिएका केही वैज्ञानिक आलेख पढेको थिएँ। तीमध्ये मार्टिन चौतारीको प्रकाशन सिन्हासमा प्रकाशित एउटा आलेखले ती तामाङ बस्तीमा बचेका राणाकालको झारा–रकम प्रथा व्यहोर्ने वृद्धवृद्धाहरुसितका अन्तर्वार्ता र ऊबेलादेखि बचेका दस्तावेजहरु समेटेर त्यस्तो इतिहास उतार गरेको थियो जुन समयसँगै नेपाली समाजको सामुहिक विस्मृतिको गर्तमा डुब्न तयार भएर बसेको थियो। ती पढ्दा राणा शासनप्रति जति क्षोभ र वितृष्णा उत्पन्न हुन्थ्यो, उति नै कम से कम अब त समय निकै बदलिइसकेको छ भन्ने भावना पनि आउँथ्यो।
तर ‘काठमाडौंमा एक दिन’मा घुर्नाको कथा पढेपछि लाग्यो देशमा अहिले पनि त्यस्ता धेरै भुभाग छन् जहाँ राणाकालको समय थपक्क जमेर जस्ताको तस्तै बसेको छ। २००७ साल यता आवधिक रुपमा हुँदै गरेका अनेक क्रान्ति र राजनीतिक परिवर्तनहरुले समेत ती समाजलाई छुन सकेका छैनन्।
त्यो दलन र उत्पीडन, जुन छ भनेर कल्पना गर्न पनि हामीजस्ता मध्यमवर्गीय मानिसहरुलाई साहित्यको सहारा लिनुपर्छ, त्यो आज पनि ज्युँका त्युँ छ। जुन कुरा पढ्दा हाम्रा आङ सिरिंग हुन्छन्, यो देशको उल्लेख्य जनसंख्याका लागि त्यो दैनन्दिन भोगिने यथार्थ हो।
समाज र हाम्रो साझा चेतका ती काला टाटाहरु जसलाई हामीले बितिसकेको यथार्थ भनेर बेवास्ता गथ्र्यौं, ती त हाम्रै सह–(अ)नागरिकहरुले आजका दिनमा भोगिरहेका यथार्थ हुन्।
साहित्य वा उपन्यासका रुपमा ‘काठमाडौंमा एक दिन’को गुणवत्ता कति छ भनेर तौलिन उपयुक्त पात्र शायद म हैन। खास गरी भाषामा ‘झारपात’ भएको र पुस्तकमा आख्यान–सुलभ बहावट नभएको भनेर भएका टिप्पणीहरु सञ्चारमाध्यममा आएका पनि थिए। तर यति जटिल विषयवस्तुलाई यति लामो शोध गरेर आख्यानमा उतार्ने लेखकको प्रयासलाई भाषाका कारण नपढिने हो भने त्यो पाठकका रुपमा हामे आफ्नै अधीरता र दुर्बलता हो।
भाषाकै कुरा गर्दा, शिल्पी थिएटरमा हालै मञ्चन गरिएको नाटकमा आधा मैथिली संवाद प्रयोग गरेका घिमिरे युवराज भन्छन्ः अन्य मातृभाषा हुनेले नेपाली भाषाका साहित्य पढ्न र चलचित्र वा नाटक हेर्न हुन्छ भने मातृभाषा नेपाली हुनेले मैथिली वा अन्य भाषाका किताब किन नपढ्ने, नाटक किन नहेर्ने? लोकतान्त्रिकरण हुनुपर्ने तर आवश्यक गतिमा हुन नसकेको हाम्रो समाजम गजब अडान हो त्यो। ‘काठमाडौंमा एक दिन’ लेख्दै गर्दा पुस्तकमा प्रशस्त भोजपुरी वा मैथिली भाषाको उपयोग गर्ने एउटा विकल्प थियो शायद लेखकसँग। तर त्यसो गर्दा सबै त्यस्ता वाक्यहरुको नेपाली अनुवादसमेत राख्नुपर्ने बोझ पनि आइलाग्थ्यो कि? फेरि सलल बगेको नेपाली भाषा खोज्ने पाठकले अन्य भाषाको मिश्रणकै कारण किताब नपढी थन्क्याइदिन्थ्यो कि?
त्यो पाटोलाई गौण मानेर बिर्सिन वा बिर्साउन खोजिएको इतिहास उधिन्नुलाई गुणवत्ताको आधार मान्ने हो भने (जुन मेरो विचारमा यस्तो पुस्तकका लागि उपयुक्त पनि हुन्छ), यो एउटा महत्वाकांक्षी तर सफल इतिहास लेखन बन्न पुगेको छ।
पुस्तकको लेखनका बेला यति जेलिएको विषयवस्तुमा लेखकको ठ्याक्कै प्राथमिकता के थियो म जान्दिनँ तर पाठकका रुपमा हेर्दा यो पुस्तकले स्थापित गरेका दुई महत्वपूर्ण कुराहरु छन्।
एक, बम विस्फोटजस्ता आतंककारी कामहरु अर्को ग्रहबाट आउने राक्षसी प्रवृत्तिका र हामीभन्दा बिल्कुलै अलग प्रकृतिका मानिसहरुले गर्ने हैनन्। खोज्दै जाने हो भने त्यस्तो प्रवृत्तिका जरा समय र भुगोल दुवै आयामतिर निकै पर पर पुगेका हुन्छन्।
आम रुपमा विगतमा राज्य विभेद वा दमनकारी थियो भन्ने स्वीकारेरै हामी आजको राजनैतिक अवस्थामा पुगेका हौं तर राज्य इतरका हाम्रा सामाजिक संरचनाहरु पनि त्यसका लागि दोषी हुने गर्छन्।
त्यसको अर्थ हिंसा र आतंकका लागि जिम्मेवार मानिसहरुले उन्मुक्ति पाउनुपर्छ वा राजनीतिक कारणको खोल आढिसकेपछि जतिसुकै अमानवीय कामहरु पनि जायज हुन्छन् भन्ने कदापि हैन।
त्यसको अर्थ केचाहिं हो भने, समाजमा दिगो शान्ति र अमन चैन खोज्ने हो भने मानिसलाई हिंस्रक र आतंककारी बन्न प्रेरित गर्ने कारणहरुको खोजी र उपचार हुनुपर्छ। व्यक्तिले त्यसो गर्न नसक्ने हुँदा नै त्यहाँ समाज र राज्यको भुमिका आउने गर्छ। कुनै पनि हिंसा तत्कालका लागि ‘ल एण्ड अर्डर’को समस्या हुने गर्छ तर बलपूर्वक त्यो हिंसा बन्द गर्दा हिंस्रक प्रवृत्तिको जरो खोज्ने जिम्मेवारीबाट राज्य चुक्यो भने त्यसले हिंसा र विद्रोहको अर्को चक्र शुरु गर्न पुग्छ।
दुई, पुस्तकले के स्थापित गर्छ भने आख्यानका माध्यमबाट यस्तो ऐतिहासिक लेखन गर्दा पनि साक्षीभाव राखेर लेख्न सम्भव हुन्छ। यो कुराको यस्तो बलियो दृष्टान्त यस अगाडिको नेपाली साहित्यमा कम्तीमा मैले भेटेको छैन। त्यस्तो साक्षीभावको सबैभन्दा ठुलो लाभ के छ भने, लेखकले कसैको बोझिलो प्रशंसा वा नाजायज निन्दा नगरीकन र सकभर निरपेक्षभावले विषयवस्तुका अन्तरकुन्तर केलाउन सम्भव भएको छ।
पुस्तकभर घुर्ना र उसको समुदायको वेदना पढेपछि ऊ हिंस्रक बाटोमा हिंड्दा समेत ऊप्रति पाठकमा एक तहको सहानुभुति र समानुभुति (एम्प्याथी) आउने अवस्था रहन्छ तर त्यसमा समेत घुर्नाप्रति आफ्नो धारणा बनाउन पाठकलाई लेखकले स्वतन्त्र छाडेकी छन्।
व्यक्तिगत रुपमा चाहिं मधेशी दलित समुदायको प्रतिनिधि पात्र घुर्नाको कथा पढेपछि मैले असाध्य लज्जित महसुस गरें। किनकि सगोत्री कुर्सीस्थ बुद्धिजीवी (आर्मचेयर इन्टेलेक्चुअल) हरुजस्तै मैले पनि उनीहरुको जीवनको समेत मेरो आफ्नो समाजदृष्टिसँग मिल्ने चित्र बनाएको थिएँ।
जस्तो कि, मेरो बाल्यकालमा पहाडको हाम्रो गाउँमा छुवाछुत कायम भए पनि निकै खुकुलिइसकेको थियो। दोबाटोमा रहेको हाम्रो पसलमा गैर–दलितहरुले चिया वा रक्सी पिएका जुठा भाँडा हामी आफैंले उठाएर धुन्थ्यौं भने दलितहरुले पिएका त्यस्ता भाँडाहरु सधै.जसो उनीहरुले घरमुनि रहेको कुलोको पानीमा धोएर ल्याएर बाहिर पिंढीमा घोप्ट्याएर छाडिदिन्थे, सुकेपछि त्यो चोखो भइहाल्थ्यो। तर टन्न जाँड खाएर कुनै दलितले जुठो गिलास छाडेर हिंडेको अवस्थामा हामी खुरुक्क त्यसलाई लगेर आफैं पखालेर चोख्याएर ल्याउने गथ्र्यौं।
खान पुग्ने जति जमिन नभएका कारण अधिकांश दलितहरु हामी विष्टकहाँ ज्याला मजदुरी गर्थे तर २०४६ को परिवर्तनपछि बदलिएको माहोल र कम्युनिष्टहरुको राजनीतिको प्रभावका कारण कसैले दलितलाई जातले गाली गरेको कमै सुनिन्थ्यो। पछिल्लो समयचाहिं दलित र गैर–दलित एकनासले बारी बाँझै छाडेर रोजगारीका लागि खाडी र मलेसियातिर जान थालेपछि त दलित–विष्टको सम्बन्ध झनै खुकुलिएको छ। यसैबीच दलित समुदायका धेरै मानिसहरुले कहिले सामुहिक रुपमा माओवादीतिर त कहिले इसाइ धर्मतिर लागेर हिन्दु वर्णाश्रम व्यवस्थालाई चुनौती दिने प्रयोगहरु गरिसकेका छन्।
त्यसैले पहाडको हाम्रो क्षेत्रको अवस्था हेरेर मधेशका दलितबारे पनि मैले धारणा बनाएको थिएँः उत्पीडन र दलन अझै रहेको तर खास गरी त्यस क्षेत्रमा बारम्बार भइआएका विद्रोहहरुसमेतका कारणले निरन्तर फिक्का वा खुकुलो हुँदै गरेको। जुन समयकाललाई लिएर पुस्तक लेखिएको छ, त्यतिबेला उनीहरुमाथिको दलन र उत्पीडनको गहिराइ हेर्दा चाहिं मैले आफ्नो बुझाइको सतहीपन महसुस गरेको मात्रै छैन, आजका दिनमा पनि उनीहरुको अवस्थाबारे मेरो आशावाद निकै फिक्का भएर गएको छ।
यो पुस्तक पढेपछि दलित आन्दोलनका अन्य सामयिक सन्दर्भहरुलाई समेत नेपालका दलितहरुमाथिको उत्पीडन र यहाँको दलित आन्दोलनसँग जोडेर हेर्नुपर्ने देखिन्छ। जुन समयमा पुस्तक निस्केको छ, दलित आन्दोलनको भविष्यलाई लिएर भारतमा पनि जबर्जस्त विवाद र अनिश्चयको अवस्था छ। केही समय अगाडि राजेन्द्र महर्जनले एउटा लेखमा औंल्याए झैं जातीय र वर्गीय भनेर फरक तहमा गरिने उत्पीडितहरुका उस्तै संघर्षहरुबीच जुन घर्षण उत्पन्न हुन्छ, त्यसको लाभ भारतमा यथास्थितिवादी र उग्र दक्षिणपन्थीहरुले लिइरहेका छन्।
खास गरी पछिल्ला वर्षहरुमा नरेन्द्र मोदीको भाजपाका उच्चजातीय लठैतहरुको मानिस मारेर गाइ जोगाउने अभियान अन्तर्गत दलित समुदायमा फेरि जागेको विद्रोहभाव सशक्त हुँदाहुँदै पनि कति दिगो र परिणाममुखी होला भनेर अहिले भारतका अभियन्ताहरु चिन्तित छन्। खास गरी पछिल्लो समय गुजरातमा उदाएका जिग्नेश मेवानीजस्ता दलित युवा नेताहरुको बामपन्थीहरुसँगको निकटताले अम्बेडकराइट भनिने दलित अभियन्ताहरुमा गहिरो चिसो पसेको र बामपन्थीहरुसितको सम्बन्धलाई लिएर भारतको दलित आन्दोलन विभाजित वा कम्तीमा अन्योलग्रस्त भइरहने भनेर विश्लेषणहरु गरिएका छन्।
नेपालकै दलित आन्दोलनको अन्य उत्पीडनविरोधी आन्दोलनहरुसितको सम्बन्ध र अन्तर्किया खोतल्दा पनि दक्षिण एसियाको दलित आन्दोलनको त्यस खालको अन्योलबारे बोध हुनु उचित हुन्छ। नेपालमा मधेशी दलितहरुको आन्दोलनलाई चाहिं मधेशमै चलेको स्वायत्त मधेशसम्बन्धी आन्दोलनको सापेक्षमा कसरी बुझ्ने भन्ने महत्वपुर्ण प्रश्नको उत्तर दिनु ‘काठमाडौमा एक दिन’को अर्को सबलता हो।
एक मधेशका लागि लडिरहेको स्थापित सशस्त्र समुहको काँध चढेर पहिले सो समुहकै दलित मोर्चा सम्हाल्ने अनि त्यसलाई फुटाएर दलित सशस्त्र समुह बनाउने र विशुद्ध राजनीतिक सशस्त्र विद्रोहमार्फत मधेशका दलितहरुलाई मुक्त गर्ने घुर्नाको सपना कसरी दुर्घटित हुन पुग्छ, त्यो आम रुपमा सशस्त्र विद्रोहहरुको स्खलन र विचलनको प्रतिक त हो नै, तराइ–मधेशमा चलिरहेका सम्बन्धित तर फरक आन्दोलनहरुको जेलिएको सम्बन्धलाई चियाउने आँखीझ्याल पनि हो।
मधेशमा गुजुल्टिएका अनेक प्रश्नहरुको तत्कालिन र सुत्रवद्ध उत्तर खोज्ने र त्यही सुत्रमा सबैलाई लपेटेर सारा समस्याको एउटै श्यामश्वेत समाधान खोज्ने वा द्वन्द्वको कुनै पक्षलाई पहिल्यै देवत्वकरण वा दानवत्वकरण गरेर त्यसको पुष्टि हुने अपेक्षामा पढ्नेहरु यो पुस्तक पढेपछि निराश हुने मेरो अनुमान छ। नेपालको दक्षिणी भुभागमा जेलिएर बसेका बहुआयमिक समस्याहरु, जसको जरामा विगतदेखि वर्तमानसम्मको विभेद र उत्पीडन रहेको छ, तीमध्ये सबैभन्दा पेचिलो दलितहरुको समस्यालाई अन्तरकुन्तरसम्म पुगेर आम पाठकसम्म ल्याउने काम पुस्तकले गरेको छ। तिनको समाधानबारे पुस्तक केही बोल्दैन।
तर यथार्थ के हो भने, समस्याको समाधान खोज्ने काम समाज, राज्य र खास गरी अब विभिन्न तहका सरकारमा आसीन राजनीतिज्ञहरुको हो, लेखकको हैन। लेखकबाट समाजले गर्ने अपेक्षा नै यस्ता समस्याको जरोसम्म पुगेर सबैले बुझ्न सक्ने गरी शब्दमा उतार गर्नु हो।
खाली सत्तामा पुग्ने राजनीतिज्ञहरुले मात्रै बुझेर वा चाहेर पनि स्थिति बदलिनेवाला छैन किनकि समाजको संरचनामै जमेको विभेद र उत्पीडन उखेल्न सिंगो समाज नै बदलिनुपर्छ। यदि समाज कहिल्यै बदलिन्छ भने त्यसको शुरुआत सही सुचनाबाट हुने गर्छ र लेखकको जम्माजम्मी जिम्मेवारी आम पाठकलाई सुसुचित गर्ने हो।
अन्तमा, घुर्नाको दलित मुक्तिको दुर्घटित सपना नेपालको तराइका दलितहरुको मात्रै नियति हैन। गहिराइको हिसाबले घुर्नाले प्रतिनिधित्व गर्ने समुदायको उत्पीडनलाई नेपाली समाजमा कायम उत्पीडनहरुको पनि उत्पीडन भन्न सकिएला तर सपनाहरुको श्रृंखलाबद्ध दुर्घटना भोग्ने समुदाय त्यो एक्लो हैन। व्यक्तिगत जीवनमा समेत कतिपल्ट यथार्थको पर्दा हामीले चाहेजसरी उघ्रिने गरेको छ? कतिपल्ट केही पाइला पर मात्र रहहेको ठानिएको सफलता असम्भव बन्न पुगेको छ? कतिपल्ट जीवनदाता मानिएका मानिस र संस्थाहरुले जीवनघात गरेका छन्? अनि कतिपल्ट असाध्य दुःख गरेर सुरुङको यातनादायी अन्धकार पार गरिसकेपछि आविष्कार भएको छ कि यो सुरुङले गलत गन्तव्यमा पुर्याउँथ्यो? पुस्तकको एउटा छोटो अंशः
त्यतिबेला उसको दिमागमा हाडछालाका मान्छेहरुभन्दा राज्यको अमूर्त रुप छाएको थियो। राज्यलाई धक्का दिने भनेपछि सरकारी भवनका अग्ला पर्खाल, पहरायुक्त फलामका गेट, निधारमा सरकारी बोर्ड टाँसिएको मोहडा उसले कल्पना गरेको थियो।
तर अहिले समाचारमा यतिउति मान्छे मरे, घाइते भए भनेको सुन्दा उसुका आँखा आफ से आफ बाटोमा हिंडिराखेका मान्छेलाई नियाल्न पुग्छन्। उसले कल्पना गरेको कंक्रिटका भवन ती मान्छेका अनुहार, छाती, गोडामा साटिन्छन्। अमूर्त कल्पना वास्तविक बन्छ। र घुर्नालाई डेटकर्डमा बनाएको गाँठो घाँटीमा कस्सिएझैं लाग्छ।
शायद लामा लामा (निरससमेत) वैज्ञानिक आलेख पढ्ने बानीका कारण होला, मलाई पुस्तकको भाषा पटक्कै असहज लागेन। सबै पाठकको त्यस्तै बानी हुनुपर्छ भन्ने छैन। तर लेखकहरुले जोखिम लिउन्, नयाँ नयाँ प्रयोग गरेर नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याउन् भन्ने हाम्रो चाहना हो भने, हामी पाठकले पनि अलि मेहनत गरेर विविधतापूर्ण साहित्य पढ्न सिक्नु पर्ने हैन र? अलिकति बोझिलो लाग्नासाथ किताब थन्क्याइदिने बानीले लेखकहरुलाई सबैले पढिआएको र प्रशंसा गरिआएको शैली र विषयवस्तुमै घनचक्कर काटिरहने बनाउँदैन र? अनि कसरी फराकिलो हुन्छ त हाम्रो साहित्यको दायरा?