छानो चुहिएको थाहा पाए पो अर्को फेरिन्छ
घर मक्किएको थाहा पाए पो लिपपोत गरिन्छ
जब,
खण्डहर बन्छ
भत्किएर अनायासै घर
निस्तेज हुन्छ- दृश्य
खण्डित हुन्छ- मन- जिन्दगी
जब,
अचानक छत हट्छ आफुमाथिको
भास्सिन्छ टेकेको भुगोल
ढल्छ आस्थाको मन्दिर
रुन्छ मान्छे
आकाशको छानो- धर्तीको सुकुलमा
बाँच्नुको अभिलाषा हुँदैन।
दुर-दुर सम्म पनि
देखिँदैन कतै
सानै भएपनि- आशाको क्षितिज
यस्तो लाग्छ
जस्तो–
सगरमाथा छातीमा जमेको छ
कर्णाली आँखामै बगेको छ
एक बिन्दुपछि
दुखेर थाक्छन्- दुःखहरू
बगेर सकिन्छन्- आँशुहरू
विलीन हुन्छ खण्डहर- प्रकृतिमा
हराउँदै जान्छ खण्डहर
सम्हालिँदै जान्छ मान्छे
बुझ्छ अब उसले कि
जग बलियो थिएन त्यो घरको
र त भत्कियो यसरी
भत्किनु थियो एकदिन जसरी पनि
भत्कियो समय छँदै
नभत्किएको भए समयमै
टालटुल गर्नमै बित्ने थियो- उसको जिन्दगी
अब
ऊ उठ्छ
मेहनत गर्छ
अर्को घर ठड्याउँछ
बलियो जग राखेर
सायद पहिलेको भन्दा राम्रो? बलियो?
प्रियतम!
त्यो अनायासै भत्किएको घर
....हाम्रो सम्बन्ध थियो।