लाग्छ कविता र स्त्री उस्तै हो
दुवैको हरक सम्मुख भएरै पृथकाभिमुख छ
नाद र उन्माद
कौमार्य अनि उत्ताल तरङ्ग
नसानसा रन्किने राग
विजुली झैँ चम्किने परिवाग
शश्यशालिनी धरतीमा
दुवैको निजत्व छ
आआफ्नै छ,
मनको तिजोरीमा
अनेक बहना र लहनाहरू छन्
डुङ्गा तैरिएका छन्
छचल्किएका छालका माझ सुमेरु चुम्न
बैँस घोप्टएर
म एउटा हिस्सी फक्रेको कवितालाई
व्योम छुने लचकदार स्त्री देख्छु,
माफ गर्नुहोला कविताका अभियन्ताहरू
यहाँहरूको अभिमतमा म एकाकार हुन सकिनँ यतिखेर
आफ्नै सन्धान
परिधिको सगोत्री व्योम
व्यास काटेर सरहदीय उत्तेजनाको
प्रत्येक पुरुष
नखरा गर्दै
जति दौडियोस् जीवनमा म्याराथन
भो, स्त्रीभन्दा टाढा पुग्नै सकेन
उसले स्त्रीभन्दा अरू छुनै सकेन ।