Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, भदौ २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

संक्रमण

दिनमान गुर्मछान

कथा

कमल तामाङले आफ्नो हातको टिकट हेर्‍यो। उसको अनुहारमा मुस्कान पोतियो। अनुहार उज्यालियो र मनमनै भन्यो– ‘भोलि त आफ्नो देश फर्कने।’

चार वर्षपछि ऊ नेपाल फर्कंदै थियो। आफ्नो देश फर्किने उत्साहले भुइँमा खुट्टा छैन। दुई हप्ता अघिदेखि नै उसले आफ्नो सामान प्याक गरिसकेको थियो। सामान सुटकेसमा राख्दै ऊ दङ्ग  पर्थ्यो। दिनहुँ आफूले राखेको सामान सुटकेसबाट झिकेर हेर्थ्यो र आफूले बिर्सेको सामान भोलिपल्ट किन्थ्यो। अनि सुटकेसमा राख्थ्यो।

‘ल, अब तिमी आफ्नो देश फर्कंदै छौ। यसो सम्झँदै गर्नू। नेपाल आएपछि भेटौंला।’

कमलको रुम पाटनरले भन्यो। यति बेला उसको आवाज दबिएको थियो। कमलले हातको टिकट झोलामा राख्दै रुम पार्टनरलाई हेर्यो। चार वर्षसँगै एउटै कोठामा बसेको साथीको माया लागेर आयो। मिलेर बसेका थिए। सहोदर दाजुभाइ जस्तै। अहिले छाडेर जाँदै छु भन्ने परेपछि एक मन खिन्न भएर आयो। कमल उसको छेउमा गयो र भन्यो–

‘चार वर्ष सँगै बसियो। कहाँ सजिलै बिर्सिन्छु त! बेलाबेलामा फोन गरुँला। नेपाल आएपछि भेट्छु।’

यति भनेर आफ्नो सामान मिलाउन थाल्यो। साथीले पनि सघायो।

***

कमल काठमाडौं पढ्न आउँदा बीस वर्षको थियो। स्नातक पढ्न पाटन कलेजमा भर्ना गर्‍यो। घरबाट पैसा पठाइरहने अवस्था थिएन। त्यसैले उसले सानातिना काम गरेर पढ्न थाल्यो। तैपनि खर्च धान्न कठिन थियो। कलेज आउँदा–जाँदा कमलको आँखा नेहामाथि पर्‌यो। उसले नेहालाई बिस्तारै मन पराउन थालेको आभास भयो। आँटेरै उसले प्रेमपत्र लेखेर दियो। नेहाले पनि त्यसको सजिलै जवाफ दिई।

स्नातक सकेर बिहे गरे। उनीहरुको विवाहमा कठिनाइ उत्पन्न  भयो। नेहा भण्डारीकी छोरी थिई। उसको घरबाट विवाहको लागि स्विकृति दिने कुरै थिएन। कमलको घरबाट पनि अर्को जातकी केटी भनेर छिःछिः गरे। तर, दुवैबीच गहिरो प्रेम फुलिसकेको थियो। त्यसैले मन्दिरमा विवाह गरे।

विवाह गरेको वर्ष जसोतसो बित्यो।

बिस्तारै अभावले गाँज्न थाल्यो। दुवै काम गर्थे तर त्यतिले पुग्दैनथ्यो। अभावमा जिन्दगी कठिन हुन्छ। दुवैबीच पहिलेझैं संवाद हुन छाड्यो। कमलले यो सब बुझेको थियो। त्यसैले उसले विदेश जाने निर्णय सुनायो। उसको निर्णय सुनेर नेहा पहिले त तर्सिई। पछि आफूले भोग्नुपरेको अभावले थिच्यो र जान दिने सोच बनाई।

र, कमल वैदेशिक रोजगारीको लागि नेपालको आँगन छाडेर उड्यो।

***

कमल बिहान चाँडै उठ्यो।

रातभरि सपनामा उसले नेपाल नै देख्यो। नेहासँगको पहिलो भेट उसले झलझली सम्झियो। अहिले पनि ऊ त्यही दिन सम्झिन खोज्थ्यो । उसलाई नेपाल गएर नेहालाई अँगालोभरिको माया दिने हतारो थियो।

‘तिमी आउने कुराले म कति खुसी छु भनी बयान गर्न सक्तिनँ।’

अस्ति फोनमा नेहाले भनेकी थिई। सुनेर कमल मख्ख परेको  थियो। उसलाई लाग्यो, म मात्र हैन नेहा पनि हाम्रो मिलनको लागि आतुर छे।

उठेदेखि ऊ तयार हुन हतारियो । छिटोछिटो आफूलाई तयार  गर्‍यो। उसले सुटकेस उठायो। रुम पाटनरले पनि झोला बोक्न सघाइदियो। दुवै सडकमा पुगे। एउटा ट्याक्सीलाई हात दिएर रोके। कमल ट्याक्सीमा चढ्नुअघि रुम पार्टनरलाई हेर्‌यो। उसका आँखा रसाउलाझैं थिए। कमलको पनि उस्तै। दुवैले आफूलाई सम्हाले। बिदाईको हात हल्लाएर दुबै छुट्टिए। कमल एयरपोर्टतिर लाग्यो। रुम पाटनर आफू काम गर्ने कम्पनीतिर।

ट्याक्सी भित्रबाटै कमलले आफूले काम गरेको सहरलाई नियाल्यो। उसलाई यो सहर निर्दयीको सहरझैं लाग्यो। आफ्नै देशमा रोजगारीको राम्रो अवसर पाए यहाँ नआए पनि हुनेजस्तो लाग्यो। चौबीसै घन्टा काममा दलेर यहाँका साहु धनी भएको हो भन्ने उसले ठम्यायो। ‘अब यहाँ फर्केर पनि आउदिनँ’, उसले मनमनै भन्यो। यही सहरमा उसले पसिना बगाएको थियो। दिनरात नभनी घोटिएको थियो।

यो चार वर्षमा उसले सोह्र लाख भन्दा बढी नै नेपाल पठाइसकेको थियो। त्यो पैसाले अब नेपालमै केही गर्ने उसको योजना थियो। नेहासँग उसले कुरा गरिसकेको थियो। त्यसैले अब के गर्ने भन्ने अर्को चिन्ता पनि थपिएको थियो। तर, उसलाई कहिले नेपाल पुगौं भएर  आयो।

एयरपोर्ट पुग्दा बिहानको आठ बजिसकेको थियो।

***

नेपाल छोड्ने दिन नेहाले कमललाई एयरपोर्टसम्म पुर्याउन गएकी थिई। उसले एकछिन कमलको हात छाडिन। विछोडको त्यो घडीमा उनीहरूको मुटु बेतोडले धड्किएको थियो। छुटिनुपर्ने पीडा दुवैको अनुहारमा झल्किरहे पनि दुवै मुस्कुराउने प्रयास गरिरहेका थिए। सुन्दर भविष्यका लागि यो एउटा सम्झौता थियो । बाँच्नका लागि पनि बिछोडिनुपर्ने बाध्यता थियो।

‘हामी अब छुटिएर बस्नुपर्ने हुन्छ। यो सम्झिँदा पनि मन भारी भएर आउँछ।’

विदेशिनु अघिल्लो रात नेहाले कमलको अँगालोमा टाँसिएर भनेकी थिई। त्यो रात दुवैले भोलिको कल्पना गर्दै छर्लङ्ग पारे। भोलिपल्ट एयरपोर्टमा बिदाइको हात नहल्लाउञ्जेल पनि उनीहरू छुट्टिएनन्।

जब कमल विमानभित्र छिर्यो, उसको मन भरिएर आयो। अघिसम्म रोकेर राखेको आँसु आँखाबाट बर्रर खस्न थाले। देश र मायालु एकैसाथ छाडेर जानुको पीडाले ऊ छटपटियो। तर, भविष्यको खातिर ऊ आफूलाई सम्हालिरहेको थियो।

उता नेहा पनि आँसु पुछ्दै डेरातिर लागेकी थिई ।

***

यो एयरपोर्ट कमलको लागि नयाँ थिएन। चार वर्ष पहिले यहीँ झरेको थियो। विमानबाट ओर्लेर जब ऊ बाहिर आयो। त्यसपछि उसले यहाँ कम्पनीको मान्छेलाई धेरै समयसम्म कुर्नुपरेको थियो। कम्ता पट्यारलाग्दो भएको थिएन त्यो समय। जो आए पनि आफूलाई लिन आएझैं लाग्ने। ट्याक्सी, जिप आयो कि मनमा एक किसिमको खुसी उत्पन्न हुने। यसमा त पक्का मलाई लिन आएको होला भन्ने सोच आउने। आँखा थाकिसक्थे। कोही लिन आइपुग्दैनथे। पर्खाइ त्यति सजिलो भएन। झण्डै सात घण्टाको पर्खाइपछि उसलाई लिन आए।

सात घण्टाको पर्खाइमा उसले यो एयरपोर्टसँग राम्रो चिनजान बनायो। त्यसपछि आजै हो आएको। प्रत्येक वर्ष बिदामा नेपाल आउन भनेर उसले टिकट लिन्थ्यो तर हिँड्नेबेला कम्पनी साहुले उसलाई रोक्थ्यो। कामको लोड बढेको र कामदार कम भएकाले नजान भन्थ्यो। बरु तलब बढाइदिन्थ्यो। साहुले भनेपछि कसरी नमान्नू। ऊ रोकिन्थ्यो। यसरी नै चार वर्ष बित्यो।

उडान ढिलो हुने सूचना आइरहेको थियो। उसले टिकट हातमा लियो। आफूले बोकेको टिकटसँग सूचनामा दिइएको विमान नम्बर मिलायो। उडान भर्ने बेला भएको थिएन। यो सूचनाले उसको छटपटी बढेर आयो। नेपाल भूमिमा टेक्ने हतारो हुँदाहुँदै पनि यो सूचनाले छटपटी बढ्नु स्वभाविक थियो।

एयरपोर्टमा नेपाली अनुहार प्रशस्त देखिन्थे। कोही आउँदै गरेका। कोही फर्किंदै गरेका। यो देख्दा एक मन खिन्न भएर आयो। अनि विवशता सम्झियो। भर्खंरै आइपुगेकाहरु अलमलिएको देख्दा आफू आउँदाको समय सम्झिन पुग्यो। यसरी नै पहिलोपटक आउने नेपालीहरु अलमलिँदा हुन् भन्ने सोच्यो।

भोक, प्यास लागेर आयो। भर्खरै किनेको पानीको बोतल झोलाबाट झिकेर पानी पियो। आज त नेपाल भूमिमा टेकिन्छ, उसले सम्झियो। त्यहीबेला आफ्नो अघिल्तिरबाट कफिन लाँदै गरेको देख्यो। कफिनभित्र मृत शरीर हुनुपर्छ। कुन देश पठाउँदै छ भन्ने कौतूहलताले उसले कफिनभरि आँखा नचायो। उसले देख्यो, नेपाल लेखिएको रहेछ। मन भारी भएर आयो। जिउ चिसो भयो। आफूले काम गर्ने कम्पनीमा वर्षेनि नेपाली कामदार मरेको घटना उसको आँखैसामू नाच्यो।

‘कम्ता दुःख छैन यहाँ! यति दुःख उहीँ गरे त कति हुन्थ्यो कति। हेर, कति यसरी लास भएर फर्किए।’

उसले मनमनै भन्यो। एकपटक आफूलाई नियाल्यो। लामो श्वास लियो र आफू सग्लो भएकोमा भगवानलाई धन्यवाद पनि दिन भ्यायो। अनायासै त्यही कफिनमा आँखा पुग्यो। कफिन टाढिँदै थियो। उसको मन अमिलिएर आयो।

कफिनभित्र सजिएर फर्किने सपना कसैले देखेको हुँदैन। मात्र गाउँको घरको छानो फेर्ने सपना बोकेर आउँछन्। कोही कमाएको पैसाले श्रीमती, छोराछोरी पाल्ने चाहना पूरा गर्न आउँछन्। आफू पनि यसैका लागि आएको सम्झियो।

उडान हुने सूचना प्रसारित भयो। उसको फ्लाइटको समय भएको जानकारी आइरहेको थियो। सुनेर उसको मन उफ्रियो। बसेको ठाउँबाट उठ्यो। आफ्नो छेउमा राखेको सुटकेस बोकेर ऊ अघि बढ्यो।

काठमाडौं पुग्नुअघि उसको निद्रा खुल्यो। आँखा मिच्दै उसले हेर्‌यो। काठमाडौं देखेर मन खुसीले झुम्यो। प्लेनबाटै उसले आँखाले भ्याउन्जेल हेर्‍यो। धित नमर्दै प्लेन एयरपोर्टको मैदानमा ओर्लियो। अब भने उसलाई आफ्नो माटोमा टेक्न पाइने भयो भन्ने लाग्यो। उसको मन एकपटक फेरि झुल्नथाल्यो।

एयरपोर्टमा सामान लिन कुर्नुपर्ने भयो। कुर्नुजस्तो पट्यारलाग्दो काम अरु केही होइन। तर, कुर्नु त पर्‍थ्यो नै। भएभरको सामान सबै त्यही सुटकेसमा थियो।

उसले नेहालाई बोलाएको थियो। नेहा बाहिर कुरिरहेकी होली। धेरैबेर कुराउनु पनि गाह्रो। वरिपरि पिसिओ छ कि भनेर हेर्‍यो।   देखेन। कसैको मोबाइल मागेर फोन गर्न मन थियो तर आँट आएन। मन मारेरै उसले घरिघरि बाहिर आँखा लगाउँदै सामान कुर्न थाल्यो।

एक्कासि कमलको मन चिसिएर आयो। एयरपोर्टको प्रतीक्षालय भित्तामा टाँसिएको सूचनामा उसको आँखा परेको थियो। एच.आइ.भी.को विज्ञापन थियो। आँखा त्यहाँ पर्नासाथ उसको मुटु एकछिन रोकिएझैं भयो। श्वास अवरुद्ध होलाझैं भयो। आफू बसेको कुर्सी नै भासिएझैं हुन थाल्यो। अनि आफूलाई धिक्कार्न थाल्यो। र, मनमनै भन्यो–

‘नेहालाई अब म कसरी मुख देखाऊँ?’

***

उसले नेपाल छाडेको दुई वर्ष भएको थियो। साथीहरु घर वर्षमा एकपटक गएर आउन भ्याउँथे। उसले भने छुट्टी पाएको थिएन। पाएको छुट्टीमा पनि घर जान पाएको हैन। त्यहीबेला साहुले कामदार कम भएको भनी उसलाई रोक्थ्यो। साहुले भनेपछि उसले मान्न करै लाग्थ्यो।

‘तिमी त घर पनि जान्नौ। यता काम चलाउन पनि कहिल्यै गएको छैनौ। के हो तिमीमाथि त शङ्का गर्नुपर्ने भयो।’

यसरी कहिलेकाहीँ साथीहरू उसलाई जिस्काउँथे। जसको जवाफ दिन उसलाई गाह्रो हुन्थ्यो। ऊ चुपचाप बसिदिन्थ्यो.धेरैले कर गरेपछि ऊ हार मानेर साथीसँग घुम्न गएको थियो। मन नभएको कहाँ हो र? तर, भित्र कतै डर पसेको हुन्थ्यो। साथीहरुको दिनहुँको कचकच र गिल्लाले ऊ गइदियो।

पहिलोपटक उसलाई असजिलो भएथ्यो। मन भए पनि अप्ठेरो मान्दै थियो। तर, पछि बानी नै पर्यो। त्यसपछि घर जान नपाएको दु:खेसो कम हुन थाल्यो।

उसलाई बानी लाग्यो। समय मिलाएर जान थाल्यो। चार महिनाअघि ऊ कमजोर भयो। तौल घट्दै गयो। जचाउँदा आएको नतिजाले उसको होश उड्यो। उसले आफूलाई सम्हाल्न सकेन। संसारै भासिएको अनुभव भयो। कहिलेकाहीँ आफूले गरेको मर्जीका कारण उसले सजाय भोग्नुपर्ने भयो।

***

यतिबेला त्यही सम्झेर ऊ चिसियो। नेहालाई कसरी मुख  देखाउने? प्रश्न बनेर बिझाउँथ्यो उसलाई। उसमा एच.आई.भी. पोजेटिभ देखिएको थियो। ऊ सङ्क्रमित भएको थियो। यो कुरा लुकाउन पनि सकिन्नथ्यो। बताउनु पनि कसरी? उसको हातगोडा गलेर आयो।

सामान राखिएको सुटकेस आइपुग्यो। गरुङ्गो पाइला चाल्दै आफ्नो सुटकेस बोकेर ऊ बाहिरियो। अघिदेखिको उत्साह अहिले आएर सेलाएको थियो। नेहासँगको भेट बिर्सिएझैँ लाग्थ्यो। आफूले गरेको भूलको झझल्को आँखाभरी नाच्न थाल्यो।

बाहिर उसले नेहालाई खोज्यो। उसका आँखाले हतारिएर हैन, आरामसाथ खोज्यो। नेहा कतै देखा परिन। उसले फेरि आँखा चारैतिर दौडायो। अहँ कतै देखेन। हातको घडी हेर्‍यो। सात घण्टा ढिला भएको थियो। यति अबेरसम्म उसले पर्खिन सकिन होली। उसले मनमनै सोच्यो। तैपनि यतै कतै छ कि भनी उसले फेरि हेर्न भ्यायो।

‘पक्कै पनि लिन आएकी थिई होली। मैले फोन गर्न नसक्नु मेरो कमजोरी हो।’

उसले आफैलाई दोष दियो। सात घण्टा कुर्न कम्ता गाह्रो हुन्छ? उसले आफैँलाई भन्यो।

सुटकेस र झोला बोक्दै बाहिरियो। बाटोमा धुलो उडिरहेको थियो। उसलाई दिक्क लागेर आयो। दिक्दारिलो हुँदै उसले ट्याक्सीलाई हात दियो। ट्याक्सी उसको सामू आएर रोकियो। ट्याक्सी डाइभरले टाउको निकाल्दै सोध्यो–

‘कता जाने दाइ?’

‘मैतीदेवी’

थकित आवाजमा भन्यो। डाइभरले पछाडिको ढोका खोलेर सुटकेस हुल्यो। झोला कमल आफैँले बोक्यो र डाइभरसँगै बस्यो।

ऊ बस्नासाथ ट्याक्सी हुँइकियो।

नेहा पक्कै पनि रिसाउली। लोग्ने परस्त्रीगमनमा लागेको सुनेर कस्को पो श्रीमती नरिसाउली। नभन्दा राम्रो होला। एक मन उसले सोच्यो। एकैछिनमा यो गलत हो जस्तो लाग्यो। तर, भन्ने पो कसरी उसलाई यही पिरलो थियो।

ट्याक्सी कहाँ पुग्यो? जाममा कतिबेर बस्यो? उसलाई कुनै मतलब थिएन। ऊ एकोहोरिएको थियो। आफैंलाई कति पटक धिक्कार्यो भन्ने कुनै गन्ती छैन। झण्डै रुलाझैं अनुहार बनाएको थियो। झोक्राएर बसिरह्यो।

ट्याक्सी मैतीदेवी पुगेर रोकियो। डाइभरले सोध्दा पो ऊ   झस्कियो। ट्याक्सी चोकको एकातिर रोकिएको थियो। झ्याल बाहिर हेर्‌यो। आफू उत्रिने ठाउँ भएको बल्ल उसले चाल पायो। उसले ट्याक्सीको भाडा तिरेर सुटकेस र झोला निकाल्यो।

मैतीदेवी चोकमा उभिएर उसले चारैतिर हेर्न भ्यायो। यही बाटोमा नेहासँग ऊ धेरैपटक हिँडेको थियो। ती रमाइला क्षणको सम्झना आँखामा आइदियो। उसका पाइला गह्रुङ्गो हुँदै अघि बढे। यस्तो लाग्थ्यो पाइला लतारिरहेको छ। उसलाई यहीबाट फर्कौं भएर आयो। नेपाल आएको खुसी अहिले उसको अनुहारमा कतै देखिँदैनथ्यो। त्यो खुसी कता हरायो?

उसले ती साथीलाई गाली गर्यो। लगत्तै आफूलाई धिक्कार्यो। नेहालाई धोका दिएको पीडाले उसको मन भतभती पोल्न थाल्यो।

विदेश जानुअघि बसेको घरको सामुन्ने ऊ पुग्यो। जहाँ नेहा बस्थी। यो उनीहरूको डेरा थियो। मूल ढोकामा पुगेर टक्क अडियो। भित्र पक्कै नेहा होली। उसले मलाई अँगालोमा बेर्ली। उसको अघिल्तिर यो उदास अनुहार लिएर कसरी जानू?

उसले आफूलाई सम्हाल्ने कोसिस गर्यो। अनुहारको पसिना  पुछ्यो। कपाल मिलायो अनि भित्र पस्यो।

उसको कोठा भुइँतलामै थियो। गह्रुङ्गो सुटकेस र मन लिएर ऊ आफ्नो कोठाछेउ पुग्यो। ढोकामा साँचो लगाइएको थिएन। उसले ढोका घचेट्न हात बढायो। काँपिरहेका हातले ढोका छोयो। तर, घचेट्न भने सकेन। निकैबेर पछि उसले ढोका घचेट्यो।

ढोका बिस्तारै खुल्यो। उसको मुटुमा ढ्याङ्ग्रो बजेझैं भइरहेको थियो। तर बन्द भइदियो। एक्कासि उसको मन शान्त र शुन्य  भइदियो। आँखा बिस्फारित भए। ऊ हेरेको हेर्यै भयो।

कोठा रित्तो थियो। सुनसान। कुनै सामान थिएन। त्यो रित्तो कोठामा नेहा थिइन। उसलाई अचम्म लाग्यो। कोठाको कुना कुनामा उसले हेर्न भ्यायो। उसले टाँसेको हिमालको तस्बिर त्यही भित्तामा थियो। एकछिन त उसलाई रिँगटा लाग्ला झैँ भयो। के गरुँ कसो गरुँ भएर आयो। मन अत्तालिएको थियो।

हिजोमात्र कोठा छोडेको जानकारी घरबेटीले दिए।

यो सुनेर उसको कान बजेझैं भयो। निधारमा पसिनाका धारा बगे। हिजो फोनमा कुरा भएकै थियो। नेहाले त कोठा छाड्ने कुरा गरेकी थिइन। उसको मन ढक्क फुलेर आयो। आफूले पठाएको सोह्रलाख रुपैयाँ सम्झियो। त्यसपछि फोन गर्न भनेर ऊ बेतोडले दौडियो।

नेहाको फोन अफ आइरहेको थियो।
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १३:४८
सिफारिस
नेपालको इतिहासकै 'फस्ट जेन्टलम्यान'
नेपालको इतिहासकै 'फस्ट जेन्टलम्यान'
कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?
कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?
रवि लामिछाने कारागार फर्कने
रवि लामिछाने कारागार फर्कने
प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तताप्रति हामी गम्भीर छौंः एमाले
प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तताप्रति हामी गम्भीर छौंः एमाले
'बिहेपछि सुशीला माइती गएकी छैनन्, घरभित्र पनि उनको कदर भएन'
'बिहेपछि सुशीला माइती गएकी छैनन्, घरभित्र पनि उनको कदर भएन'
केपी ओलीले एक वर्षअघि बोलेको कुरा यसरी भयो पूरा
केपी ओलीले एक वर्षअघि बोलेको कुरा यसरी भयो पूरा
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP