सन्दर्भ: शंकर लामिछाने स्मृति दिवसशंकर लामिछाने नेपाली साहित्यमा आलोचित, प्रशंसित एवं चर्चाको केन्द्रमा रहे। विसं २००४ सालमा ‘साहित्य-स्रोत’ पत्रिकामा ‘हाम्रो समाजमा नारी’ लेखबाट लामिछानेको प्रकाशन सुरु भएको देखिन्छ। उनको पहिलो कथा २००६ सालको शारदा पत्रिकामा छापिएको थियो। उनले जापानी शैलीको हाइकु भित्र्याए, विज्ञापन लेखे, गीतकार पनि भए। लामिछानेका 'गौंथलीको गुँड' (२०२५), 'बिम्ब प्रतिबिम्ब' (२०२८), 'गोधूलि संसार' (२०२७), ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ र 'शङ्कर लामिछाने' (२०३२) लगायतका निबन्धकृति प्रकाशित छन्। मदन पुरस्कारसमेत पाएका उनको निबन्धसंग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ लोकप्रिय छ। यसमा उनले ‘चेतनप्रवाह शैली‘ लाई अगाडि ल्याएका छन्। मनमा उब्जेका विश्रृंखलित भावलाई नयाँनयाँ बिम्बमा ढालेर लेख्नु उनको खुबी हो।
माघ १० गते लामिछानेको स्मृति दिवसका अवसरमा हामीले केही लेखकसँग उनका बारेमा कुराकानी गर्यौं।
कवि एवं निबन्धकार श्यामलका अनुसार लामिछानेमा ‘असाधारण विषयवस्तुलाई साधारण बनाएर लेख्न सक्ने खुबी' छ।
कवि स्वप्निल स्मृति शैलीका दृष्टिले लामिछानेका कथा, निबन्धले परम्परागत ढर्रा छाडेर आफ्नै आकर्षक र उत्तरआधुनिक शैली बनाएको बताउँछन्। 'लामिछाने दार्शनिक दृष्टिले ज्याँ पाल सात्र र अल्वेयर कामूको अस्तित्ववादी दर्शनलाई नेपाली साहित्यमा आफ्नो स्थापित गराउने लेखक हुन्,’ उनले भने।
लेखक एवं कवि नरेन्द्रकुमार नगरकोटी भन्छन्, ‘जुन समयलाई टिपेर लामिछानेले आफ्नो साहित्यमा अभिव्यक्त गरे त्यो आजको कालखण्डमा आएर यथार्थ साबित भएको छ।’
प्रयोगशील स्रष्टा– प्रयोगशील जीवनसमालोचक तथा साहित्यका मर्मज्ञहरू शंकर लामिछानेलाई प्रयोगवादी लेखक मान्छन्। नजिकबाट चिन्नेहरू पनि उनलाई प्रयोगशील जीवन बाँच्ने व्यक्तिका रुपमा स्वीकार्छन्।
शंकर स्वयंले भनेका थिए– ‘पेसा जीवनमा विविध रह्यो, त्यसले पनि विभिन्न क्षेत्रका मानिससँग नजिक रहन पुगेँ। मैले लेखेका छापिन थाले, आफ्नो नाम कालो अक्षरमा छापिएको जस्तो प्रिय के छ संसारमा?’
यसै सन्दर्भमा आख्यानकार नयनराज पाण्डे भन्छन्, ‘शंकर लामिछाने भाषाको सरल, स्वाभाविक र छरितो प्रयोगका माहिर हुन्। छरितो भाषाका माध्यमबाट जीवन जगतका जटिल सत्य उजागर गर्नमा उनी बेजोड छन्।’
‘लेखकका सबै लेखनी एकसाथ सशक्त नभए पनि एउटा तहको गुणवत्ता कायम राख्नु असल लेखकको बलियो पक्ष हो। त्यो सशक्तता लामिछानेका कथामा देखिन्छ। निबन्धमा उनको बौद्दिकता बढी मुखर भएको छ,’ उनले भने।
कवि एवं निबन्धकार श्यामलको भनाइमा लामिछानेले रुढी परम्परा र संस्कृतिलाई प्रहार गर्दै लेखेका छन्। आफू पनि त्यस्तै विचारले ओतप्रोत भएर बाँचेका छन्। उनका अनुसार लामिछानेलाई एउटै विचारले हेर्न र बुझ्न हुँदैन। उनका हरेक निबन्ध एवं कथा पढ्दा पाठकले नयाँ कुरा पढिरहेको अभास पाउने उनको भनाइ छ।
कवि हरिभक्त कटुवाल पनि लामिछानेले फरक जीवनशैली बाँचेकै कारण धेरैले यथार्थ रुपमा बुझ्न नसकेको बताउँछन्। ‘दाइ तिम्रोजस्तै मेरो पनि मरेपछि मात्र गुणगान हुनेछ।’ आफ्नो संस्मरण ‘बोर गर्यौ शंकर दाइ’ मा हरिभक्तले बारम्बार यी कुरा स्मरण गरेका छन्।
'लिजेन्ड' लामिछानेसमयलाई सबभन्दा आकर्षक रुपमा निबन्धमा लेख्न सक्ने व्यक्तित्वले नै लामिछानेको फरक पहिचान बनेको निबन्धकार दीपक सापकोटा बताउँछन्। ‘अहिलेका केही निबन्धकारको कम्मर एउटा सिन्कोको आक्रमणले भाँचिन्छ। लामिछानेले आफ्नो जीवनकालमा अनेक आरोप व्यहोरे। तर, उनी अझै सवल उभिइरहेका छन् र झनै सान्दर्भिक हुँदै गइरहेका छन्,’ सापकोटाले भने।
कवि स्वप्निल स्मृति पनि लामिछाने नेपाली साहित्य र विशेषत: निबन्धमा अग्रणी लेखक रहेको बताउँछन्। स्मृति भन्छन्– ‘देवकोटाको स्वछन्दतावादी, स्वस्फुर्त र भाववादी निबन्धको होड चलिरहेका बेला उनले वस्तुवादी, चिन्तपरक, विचारमय र बुद्धिमय निबन्ध लेखेका छन्।’
युवाकवि समर्पण श्री लामिछानेलाई सम्झँदै भन्छन्, 'हाम्रो सबैभन्दा पछिल्लो पुस्ताले समेत उनलाई लिजेन्ड मानेर लेखनमा अघि बढिरहेको छ। शंकरको लेखनले हामीलाई सधैं आन्तरिक प्रेरणा जगाउँछ।’
लामिछानेले आफ्नो बहुचर्चित निबन्धमा लेखेका थिए– ‘म त आजको मान्छे होइन, म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ। मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि हुने छैनन्!’
यही वाक्यांश हेर्दा पनि लामिछानेको विचार र सोचको फैलावट प्रष्ट हुन्छ। अनि उनले आफ्नो कवितामा भनेका छन्–
मेरो छोरा ! एकदिन तैँले मसँग वा मेरो मृत्यु भएमा स्वयंसँग एक प्रश्न गर्ने छस् । मेरो छोरा ! मसँग प्रश्नको केही उत्तर छैन ! सिर्फ छ, एक सन्तुष्टि–––
नजन्मेको मेरो छोरा ! तेरो जन्मभन्दा कति अघि कति अघिदेखिन् तेरो प्रश्न मकहाँ आएर फर्केको छैन।