'आमा कथा सुनाउनु होस् न!'सानीले ओछ्यानमा पल्टिँदै भनिन्, 'निद्रा पनि लाग्न लाग्यो।'
'आज बाबालाई भन है!'आमाले भन्नुभयो, 'म कपडा मिलाउँदै छु।'
'बाबा कथा सुनाउनु होस् न!'सानीले ओछ्यानबाटै भनिन्, 'कथा नसुनी त सुत्दिनँ है म।'
'आमालाई भन न!'बाबाले भान्छाकोठाबाट उत्तर दिनुभयो, 'म भाँडा माझ्दै छु।'
सानीले दिक्क मानिन्। आज कथा सुन्न नपाइने भयो। कथा नै नसुनी सुत्न पर्ने पो हो कि! उनलाई पीर प¥यो। बिस्तारै उनका आँखा लोलाउन थाले। दिक्क लागे पनि, पीर परे पनि निद्राले भने नछोड्ने भयो।
तर उनी निदाउनु अघि नै बाबाआमा दुवै जना एकैचोटि आउनु भयो।
'आज आमाले कथा भन्ने,'बाबाले भनिहाल्नु भयो।
'होइन, आज बाबाले कथा भन्ने,'आमाले पनि भनिहाल्नु भयो।
बाबाले कथा नभन्ने सुर बनाउनु भयो। आमाले कथा भन्ने मन गर्नु भएन।
'आज यसो गरौं, बाबाआमा दुवै जना मिलेर कथा भन्नुहोस्। म चाहिँ सुन्छु,'सानीले उपाय सुझाइन्।
बाबाआमालाई सानीको उपाय मन प¥यो। बाबा सानीको ओछ्यानको एकातिर बस्नुभयो। आमा ओछ्यानको अर्कोतिर।
'केको कथा भन्ने होला!'आमाले भन्नुभयो।
'केको कथा भन्ने होला!'बाबाले पनि भन्नुभयो।
'राजारानीको कथा भन्नुहोस् न!'सानीले फेरि पनि उपाय सुझाइन्।
'लौ अब म कथा सुरु गर्छु है त!'आमाले भन्नुभयो, 'एउटी रानी थिइन्। उनका राजा उनलाई असाध्यै माया गर्थे। उनीहरुको देश पनि सुखी र राम्रो थियो।'
'तर राजा र रानीका कुनै सन्तान थिएनन्,'बाबाले कथालाई अघि बढाउनु भयो, 'उनीहरुलाई यही एउटा कुराको पीर थियो।'
'तर उनीहरुको यो पीर चाँडै नै हरायो,'आमाले त्यसमा थप्नुभयो, 'केही समयपछि रानीको कोखबाट छोरीको जन्म भयो। राजारानी असाध्यै रमाए। देशका सबै मानिस पनि रमाए।'
'राजारानीले छोरीको नाम सानी राखे। हो ?'बाबाले कथा अघि बढाउनु अघि नै सानीले सोधिन्। उनले कथाकी राजकुमारीका रुपमा आफूलाई सोच्न थालिसकेकी थिइन्।
'राजकुमारी सानी असाध्यै राम्री थिइन्,'बुबाले खुसी हुँदै भन्नुभयो, 'उनी असल पनि थिइन्। देशभरिका मानिस उनलाई मन पराउँथे।'
'उनलाई मन पराउनेमा एउटी बुढी पनि थिइन्,'आमाले कथा अझै अघि बढाउँदै भन्नुभयो, 'उनी दुष्ट थिइन्। उनका सन्तान थिएनन्। राजकुमारी सानीलाई चोरेर छोरी बनाउने उनको विचार थियो।'
बुढी आइमाईले राजकुमारीलाई चोर्ने विचार गरेको सुनेपछि सानी सजक भइन्। ‘राजकुमारीलाई साँच्चै नै उनले चोर्छिन् होला त!'उनी सोच्न थालिन्।
'एकदिन मौका छोपेर बुढीले सानीलाई चोरिन्,'बाबाले कथामा थप्नुभयो, 'सानी चोरिएको कसैले थाहा पाएनन्। राजारानीले पनि थाहा पाएनन्।'
'तर जतिबेला थाहा पाए ढिलो भइसकेको थियो,'कथामा थप्ने पालो आमाको थियो, 'राजारानीले सानीलाई जताततै खोजे, फेला पारेनन्। अनि पीर मानेर बस्न थाले। दुवै जनालाई एउटै चिन्ता थियो – सानी कहाँ होलिन् ? उनलाई कुनै अप्ठ्यारो त परेको छैन?'
'सानीका बारेमा त सानीलाई नै थाहा हुन्छ नि! अरुलाई के थाहा र!'सानीले बाबाआमाका बिचमा टुसुक्क बस्दै भनिन्, 'सानीलाई बुढी आइमाईले आफ्नो घर लिएर गइन्।'सानीले कथा भन्न थालेपछि बाबाआमा चुप लागेर सुन्न थाल्नुभयो।
'तर सानीलाई बुढी आइमाई मन परिनन्,'सानी कथा भन्दै थिइन्, 'उनलाई घरको र बाबाआमाको याद आइरहेको थियो। उनलाई कसरी घर जाउँजाउँ भइरहेको थियो। तर बुढी आइमाई उनलाई एकछिन पनि छोड्थिनन्।'
'भोलिपल्ट नै उनले मौका पाई हालिन्,'सानीले कथा अझै अगाडि बढाइन्, 'दिउँसो बुढी सुतेकी थिइन्। सानी चुपचापसँग घरबाट निक्लिइन्। बाहिरबाट ढोका लगाई दिइन्। अनि बेतोडसँग दौडेर बाबाआमा भएठाउँमा आइपुगिन्। बाबाआमा उनलाई देखेर खुसी भए।'
'त्यसपछि त सबै कुरा राम्रो भयो, हगि बाबा!'उनले बाबातिर हेर्दै भनिन्। 'हगि आमा!'उनले आमातिर पनि हेर्दै भनिन्। बाबाआमा त उनको कथा सुन्दासुन्दै निदाइसकेका थिए।
सानीले निदाएका बाबाआमालाई हेरिन्। मुसुक्क हाँसिन््। अनि उनी पनि त्यहीँ बाबाआमाका बिचमा ओछ्यानभित्र पसिन्। एकैछिनमा उनी पनि निदाइन्।