उहिले पोखरा बजार भनेर विन्ध्यावासिनी मन्दिरदेखि सिधा तल लस्करै लागेका टोलहरूलाई मात्र चिनिन्थ्यो।
त्यतिबेला पोखरा जाने भनेर निस्कने लेकसाइडका होस् कि चाउथेका बासिन्दा। उपत्यका भरिका मानिस यही टोलहरूमा पुग्थे। बजार भनेकै त्यही टोल मात्र थिए। मानिसहरू किनमेल गर्न आउजाउ गर्थे। पोखरा बजार भनेकै यही वरीपरी रहेका मोहोरियाटोल, भैरवटोल, गणेशटोल, रामकृष्ण टोल र बगालेटोलमा सीमित थियो।
पोखरा उपत्यका फैलिएर अहिले भूगोलका आधारमा देशकै सबैभन्दा ठूलो महानगरपालिका बनेको छ। सहर फैलिँदै जाँदा पुरानो पोखरा सुक्दै गयो। यसरी सुक्यो कि, पुरानो पोखरा नयाँ मानिसको मस्तिष्कमा पनि आएन। बजार पनि यी टोलहरूबाट सरेर अन्यत्र गयो।
पोखरा उपत्यकाको विकास र विस्तार नजिकबाट नियालिरहेका अशोक पालिखेका अनुसार यी टोलहरूबाट बजार सरेर शुरूमा महेन्द्रपुल गयो। त्यसपछि चिप्लेढुङ्गा गयो। अहिले न्युरोड र पृथ्वीचोक मात्र होइन, मानिसका आवश्यकता अनुसारका बजार ग्रामीण क्षेत्रसम्म विस्तार भइसकेका छन्।
किनमेल गर्न पुरानो पोखरा जान परेन। ग्राहक जान नपर्ने भएपछि पुरानो पोखरामा पनि नयाँ सामाग्रीका पसल राखिएनन्।
पोखरामा बजार बसाउन कास्की राज्यका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुरबाट २६ घर विभिन्न जातिका नेवार ल्याएका थिए। झण्डै ३ सय वर्षअघि भक्तपुरबाट आएका नेवारहरूले नै यी टोलहरूमा बस्ती बसाए। अनि व्यवसाय चलाए।
अहिले पनि त्यतिबेला ल्याइएका २६ घरका बासिन्दा यी टोलहरूमा बसोबास गर्छन्। जसलाई ‘छब्बिस कुरिया’ पनि भनिन्छ। उनीहरूले बजार बसाउन विन्ध्यावासिनी मन्दिरबाट सिधा तल व्यापारिक प्रयोजनका घरहरू बनाए। बिचमा सडक र दायाबाया घरहरू। इटाले बनाइएका घरहरू अहिले पनि जीवित छन्।
नेवाः खल कास्कीका अध्यक्ष पालिखेका अनुसार, अहिले पुरानो पोखरा झल्काउन १३ वटा मात्र घर बाँकी छन्। जुन घरका इतिहास कम्तीमा १०० वर्षको छ। त्यतिबेला पोखरामै इटाभट्टा खोलेर बनाइएका घरहरू अहिले सांस्कृतिक सम्पदाका रूपमा विकास गर्न स्थानीय नेवार समुदाय एकजुट छन्। यी घरहरूलाई पुरानै शैलीमा राखेर सांस्कृतिक क्षेत्र बनाउन उनीहरू चाहन्छन्। जहाँ पुरानो पोखरा भेटियोस्। नयाँ मानिसहरूलाई टहलिने, घुम्ने र रैथाने संस्कृति अनुभूत गर्न पाइयोस्।
पुरानो पोखरा दर्शाउने पुराना घरहरू जस्ताको तस्तै राखेर सांस्कृतिक क्षेत्र बनाउन स्थानीयबासी तयार छन्। पोखरा महानगरपालिकाले यसमा सहयोग गर्नुपर्छ,’ पालिखेभन्छन्, ‘केही समयअघि मात्र २ वटा घर भत्कियो। अब १३ घरमात्र बाँकी छन्। यी घरहरूलाई जोगाएर पोखराको ‘हेरिटेज साइट’ बनाएर पर्यटक आकर्षण गर्न सक्नुपर्छ।’
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्षसमेत रहेका पालिखेका अनुसार पुरानो पोखरा क्षेत्रलाई सांस्कृतिक क्षेत्र बनाउने योजना २०३२ सालदेखिकै हो। त्यतिबेलै उक्त क्षेत्रलाई ‘सांस्कृतिक क्षेत्र’ घोषणा गरिए पनि ५० वर्षसम्म कुनै योजना बनाइएन।
सांस्कृतिक क्षेत्र घोषणा गरेर पुराना घर भत्काउन नदिए पनि मर्मत सम्भार गर्न स्थानीय सरकारले चासो नदिएकाले भत्किँदै गएको पालिखे बताउँछन्। सांस्कृतिक सहरका रूपमा विकास गर्ने आशा पालेका स्थानीयबासीले कुनै राहत र सहयोग नपाएको भन्दै उनले पुरानो पोखरालाई नयाँ बनाएर पृथ्वीचोक वा न्युरोड जस्तो हुन नसक्ने बताए।
पुरानो सहरको व्यवसाय अन्यत्र सरे पनि स्थानीय युवाहरू सांस्कृतिक सहरका रूपमा अघि बढ्न तयार छन्। नालामुखदेखि तल करिब १ किलोमिटर सडक बन्द गरेर पैदलयात्रा गर्ने बाटो बनाउन उनीहरू तयार छन्। पुराना घरहरू मर्मत सम्भार गर्ने, पुराना काष्ठकला, शैली, परम्परा र संस्कृति झल्कने गरेर मात्र नयाँ घर बनाउने र अहिले बनिसकेका आधुनिक घरहरूको पनि बाहिरी भाग नेवारी शिल्प झल्किने गरी बनाउन उनीहरूले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्।
भक्तपुरबाट करिब ३०० वर्षअघि पोखरामा बजार बसाउन आएका नेवारहरूले किनमेलका सामग्री मात्र लिएर आएनन्, भाषा, संस्कृति र परम्परा पनि लिएर आए। भक्तपुरमा मनाउने जात्रा र पर्वहरू उनीहरूले पोखरामा बसेर मनाउन थाले। पुरानो पोखरामा व्यवसायिक रौनक सकिए पनि सांस्कृतिक रौनक भने उनीहरूले जोगाइराखेका छन्। त्यही संस्कृतिका माध्यमबाट बजारलाई पुनर्जागृत गर्न खोजेका छन्।
-ink-1764424607.jpeg)
नेवाः मिसा पुच कास्कीले विगत ६ वर्षदेखि यःमरी पुन्हीका अवसरमा वर्षेनी यःमरी महोत्सव मनाउन थालेका छन्। बाघजात्रादेखि भैरवनाच, लाखे लगायत सांस्कृतिक पर्वहरू र जात्राहरू देखाउने क्रम बढ्दो छ। यस वर्षको यःमरी पुन्ही मंसिर १८ गते परे पनि महोत्सव भने उनीहरूले शनिबार मनाएका छन्।
नेवा मिसा पुच रामकृष्ण टोलकी अध्यक्ष एवं महोत्सव संयोजक भवानी माकाजु श्रेष्ठका अनुसार यःमरी पुन्हीका दिनमै विगतका वर्षहरूमा महोत्सव मनाइन्थ्यो। यस वर्ष अघि सानुका कारण लेकसाइडमा आयोजना गरिने स्ट्रिट फेष्टिभल र उक्त पर्व नेवारहरूले घरघरमा पनि मनाउनुपर्ने भएकाले टोलमा सांस्कृतिक पर्वका रूपमा मनाउन शनिबार रोजेको उनले बताइन्।
‘यःमरी महोत्सवका दिन अरू कार्यक्रम पनि जुध्यो। हामीहरूले घरघरमा पनि मनाउनुपर्ने भएकाले आज महोत्सव मनाएका हौं,’ उनले भनिन्, ‘हाम्रो संस्कृति हराउँदै जान लागेपछि महोत्सवमा रूपमा मनाउन थालेका हौं।’
यःमरी महोत्सवको शुरूवात नेवा मिसा पुचका तत्कालीन अध्यक्ष संगीता ब्रजाचार्यको आगनबाट गरिएको थियो। त्यसपछि उक्त महोत्सव टोलमा सारियो। अहिले महोत्सवको अपनत्व स्थानीय सरकारले लिएको छ। महोत्सवको आयोजक पोखरा महानगरपालिका वडा नम्बर ४ बनेको छ। नेवा मिसा पुचले मेलाको संयोजन गर्छ।
‘यःमरी मलाई एकदम मन पर्ने रोटी हो, आउने पिढीले पनि यसको स्वाद थाहा पाइराख्नुपर्छ भनेर पनि हामीले यो महोत्सव गरेका हौं,’ उनले भनिन्।
महोत्सवमा राखिएका स्टलहरूमा नेवारी समुदायमा प्रचलित विभिन्न परिकार राखिएका छन्। सबैजसो स्टलमा यःमरी राखिएका छन्। बिक्रीका लागि पिठोदेखि हस्तकलाका सामग्री पनि राखिएका छन्।
यःमरी महोत्सवको एउटा स्टलमा राखिएको विभिन्न देवीदेवताको आकारमा बनाइएको पिठोको रोटी राखेकी २२ वर्षीय गृष्मा पालिखेले यःमरीका बारेमा जानकारी दिइन्। उनका अनुसार, नेवारी भाषामा यःमरीको अर्थ मन पर्ने रोटी हो। मंसिर महिना घरघरमा नयाँ धान भित्राएपछि भकारीमा देवीदेवताका आकृति झल्कने रोटी राखिन्छ। पूजा–अजा गरेर राखिने यस्ता रोटी ४ दिनपछि निकालेर प्रसादका रूपमा ग्रहण गरिन्छ।
-ink-1764424606.jpeg)
पोखराको परम्परा, संस्कृति र इतिहास झल्कने पर्व, मेला महोत्सव र जात्राहरूलाई वडाका तर्फबाट अपनत्व लिएर सहयोग गर्न थालेको पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए। आफु वडाध्यक्ष निर्वाचित भएपछि यःमरी महोत्सवको आयोजक नै वडा कार्यालय बन्न थालेको उनले बताए।
‘पोखराको इतिहास झल्काउने पर्व र वडामा नेवार समुदायको पुरानो बस्ती भएकाले पनि हामीले अपनत्व लिएका हौं,’ उनले भने, ‘यो क्षेत्रलाई स्थानीयले माग गरे अनुसार सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न पनि हामीले सांस्कृतिक पर्वहरूको अपनत्व लिएका हौं।’
पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार रामकृष्ण टोलदेखि नालामुखसम्म करिब १ किलोमिटर क्षेत्रलाई सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न एसियाली विकास बैंक (एडिबी)सँग सहकार्य भएको छ। सांस्कृतिक क्षेत्र बनाउन सडकलाई ‘नो भेहिकल जोन’ बनाउने, सडकका दायाँबायाँ रहेका पुराना घरहरूको मर्मत र संरक्षण गर्ने, नयाँ बनेका घरहरूलाई पनि बाहिरी भागमा नेवारी कला र शिल्प झल्कने गरी बनाउने र अब बन्ने घरहरू पनि पुरानो शैली झल्कने गरी बनाउने गरी योजना बनेको छ। यसरी घर बनाउँदा वा मर्मत सम्भार गर्दा स्थानीयलाई अनुदान दिने मेयर आचार्यले बताए।
एडिबीले पोखराको ‘शहरी उत्थानशील तथा बसोबास योग्यतासुधार परियोजना’ अन्तर्गत साढे ७ अर्ब रूपैयाँ पोखरा खर्च गर्दैछ। सोही परियोजना अन्तर्गत अहिले पोखराको हेरिटेज साइट शीर्षकमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनिरहेको छ। उक्त प्रतिवेदन मार्चसम्म बनिसक्ने र जुलाइमा टेन्डर आह्वान गर्ने गरी तयारी गरिएको उनले बताए।
‘पुरानो पोखरामा अब नो भेहिकल जोन बनाएर सडकमा टायल राखिनेछ। दायाबाया सांस्कृतिक पसलहरू, नेवारी खाना, सांस्कृतिक कार्यक्रम र कफी सपहरू बन्नेछन्,’ उनले भने, ‘पर्यटकका लागि पोखराको रामकृष्ण टोलदेखि नालामुखसम्म सांस्कृतिक क्षेत्र भनेर स्थापित हुनेछ।’
उक्त परियोजना कार्यान्वयन गर्न एडिबीका कन्ट्री डाइरेक्टर अर्नोद कोसुवा, टिम लिडर नरेश गिरी लगायतका टोली शुक्रबार पोखराका सांस्कृतिक क्षेत्र अवलोकन भ्रमणसमेत गरेका थिए। उक्त परियोजना सम्पन्न भएपछि पोखरा आउने पर्यटक एकपटक पुग्ने पर्ने ठाउँका रूपमा विकसित हुने मेयर आचार्यले दाबी गरे। बन्दिपुर, भक्तपुरको सम्पदा क्षेत्र जस्तै पोखराको पनि सांस्कृतिक क्षेत्रका रूपमा पर्यटन प्रवद्र्धन गरिने उनले बताए।
नेवा खल कास्कीका अध्यक्ष पालिखे भने एडिबीको सहयोगमा सांस्कृतिक क्षेत्र बनाउने योजनामा ढिलाइ भइरहेको भन्दै असन्तुष्टि जनाउँछन्।
‘एडिबीले सहयोग गर्ने भन्दाभन्दै २ वटा घर भत्किसक्यो,’ उनले भने, ‘उनीहरूको ढिलासुस्तीले बाँकी घर पनि भत्किन्छ कि भन्ने चिन्ता छ। छिटो काम गरोस् भनेर हामीले भनेको सुनिदैन।’
सांस्कृतिक क्षेत्र बनाउने भनेर उक्त ठाउँका पुराना घरहरू भत्काउन नदिने र तर आफैँ भत्किने अवस्थामा पुग्दा पनि मर्मत सम्भारमा कसैले सहयोग नगरेको पालिखे बताउँछन्। सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न सके पुरानो पोखराले रूप फेरेर पुनर्जागरण पाउने उनको विश्वास छ।
‘अब पुरानो पोखरालाई सांस्कृतिक क्षेत्रका रूपमा विकास गरेर मात्र पुनर्जागरण गराउन सकिन्छ,’ उनले भने, ‘विदेशी दातृ निकायले पनि छिटो छरितो काम गर्नुपर्छ। नत्र आयोजना लिएर बस्ने तर काम नगर्ने गर्नुहुँदैन।’
-ink-1764424606.jpeg)
पालिखेका अनुसार काठमाडौं पश्चात पोखरामा मात्र विष्केट जात्रा मनाइन्छ। विष्केट जात्रालाई पोखरा सहर परिक्रमा गराउने वातावरण बनाउन स्थानीय सरकार पर्यटन व्यवसायी जागरूक बन्नुपर्ने उनको धारणा छ। पाल्पामा भगवतीको रथ जात्रा स्थानीय सरकारको संरक्षण र अपनत्वमा चलेको भन्दै पोखराका सांस्कृतिक पर्वहरू र जात्राहरू पनि स्थानीय सरकारले अपनत्व ग्रहण गर्नुपर्ने उनको भनाइ छ।
संसारभरी नै सडक बन्द गरेर पर्यटन प्रवद्र्धन गरिएको भन्दै पालिखेले अब पोखरामा २०३२ सालमै घोषणा गरिएको सांस्कृतिक क्षेत्र कार्यान्वयनमा आउनुपर्ने बताउँछन्। यी क्षेत्रमा घुम्न आउने पर्यटकले संस्कृति हेर्न, महसुस गर्न र सांस्कृतिक महत्वका सामग्री खरिदविक्री गर्न सक्ने थलोका रूपमा विकास हुनुपर्ने उनको तर्क छ।
‘सांस्कृतिक क्षेत्र घोषणा गरेर सरकारले केही काम गरेन। चिडियाखानामा जनावर राखेर खान नदिएजस्तै भएको छ,’ उनले भने, ‘पोखराको इतिहास र संस्कृति झल्कने गरी विन्ध्यावासिनीदेखि रामकृष्णटोलसम्म सांस्कृतिक पैदलमार्ग बनाएर जानुपर्छ। यसका लागि स्थानीय सरकारले छिटो छरितो काम गर्नुपर्छ।’
थप तस्बिरहरूः
-ink-1764424600.jpeg)
-ink-1764424600.jpeg)
-ink-1764424601.jpeg)
-ink-1764424601.jpeg)
-ink-1764424602.jpeg)
-ink-1764424602.jpeg)
-ink-1764424602.jpeg)
-ink-1764424602.jpeg)
-ink-1764424603.jpeg)
-ink-1764424603.jpeg)
-ink-1764424604.jpeg)
-ink-1764424604.jpeg)
-ink-1764424605.jpeg)
-ink-1764424607.jpeg)