टर्किस सेनाको कार्गो जहाज दुर्घटना भएको छ।
मंगलबार अजरबैजानबाट टर्की फर्किँदै गरेको सी–१३० कार्गो जहाज जर्जियाको आकाशमा उँड्दै गर्दा दुर्घटना भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार दुर्घटनामा चालक दलका सदस्यसहित २० जनाको मृत्यु भएको छ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार विमानले जर्जियाको हवाई क्षेत्र प्रवेश गरेपछि केही मिनेटमै सम्पर्क टुटेको थियो।
विमानमा २० जना सैनिकसहित चालक दलका सदस्य सवार थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।
जर्जियाको अधिकारीहरूका अनुसार साँझ करिब ५ बजे उनीहरू दुर्घटनास्थले पुगेका थिए र खोज तथा उद्धार कार्य थालेका थिए।
दुर्घटनास्थल जर्जियाको सिग्नाघी नगरपालिकास्थित अजरबैजानको सीमाना नजिक रहेको बताइएको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो दुर्घटनालाई कम्तिमा क्षति हुने गरी पार गर्न सकौं भन्ने आशा व्यक्त गरेका छन्।
उनले मृतक सैनिकहरूको परिवारप्रति समवेदना प्रकट गर्दै तिनीहरूलाई सहिदका रूपमा स्मरण गरेका छन्।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र जर्जियाका विदेशमन्त्री माका बोतचोरिशविलीले पनि टर्कीप्रति समवेदना व्यक्त गर्दै मृतक सैनिकहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन्।
दुर्घटनाको कारण पत्ता लगाउन एक विशेष अनुसन्धान टोली जर्जिया पठाउन तयारी भइरहेको छ।
सी–१३० प्रकारका विमानहरू टर्की सेनामा जनशक्ति र सामग्री ढुवानीका लागि व्यापक रूपमा प्रयोग गरिन्छन्।
अजरबैजान र टर्कीबीच घनिष्ठ सैन्य सहकार्य रहेको छ।
गत नोभेम्बर ८ मा राष्ट्रपति एर्दोगानले बाकुमा अजरबैजानको ‘विजय दिवस’ समारोहमा पनि सहभागिता जनाएका थिए।
दुर्घटनाको कारणबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। जर्जियाली अधिकारीहरूले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको बताएका छन्।