तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले यतीबेला विभिन्न राजमार्गहरू बन्द छन्।
राजमार्गहरू बन्द भएसँगै यात्राका लागि एउटै विकल्प बनेको छ हवाईमार्ग। हवाई यात्रा पनि यतीबेला सहज भने छैन।
मौसमका कारण तीन दिनदेखि नै नियमित उडान हुन नसकेपछि यात्रुको चाप अत्याधिक बढेको छ।
शनिबार बेलुकाबाट मौसममा सुधार आएसँगै केही उडान भए पनि आइतबार भने बिहानैदेखि नियमित उडान भइरहेको छ।
तर, राजमार्ग बन्द भएसँगै यती बेला हवाई उडानमार्फत यात्रा गर्नेहरूको भीडले विमानस्थल भरिभराउ छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापले उडानहरू एकदेखि दुई घन्टासम्म डिले भइरहेका छन्।
वर्षा रोकिएपछि मौसममा आएको सुधारले यात्रुको चाप थप बढेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए।
उनका अनुसार राजमार्ग अनिश्चितकालीन बन्द भएसँगै यात्रुहरू हवाइमा यात्रा गर्न थालेका छन्। जसकारण टिकट बुकिङ पनि बढेको छ।
'चाडपर्वको मुख भएकाले यसै पनि यात्रुको चाप हुने नै भयो,' उनले भने, 'फेरि बाढी पहिरोले राजमार्ग अवरूद्ध भएपछि हवाईमा चाप देखिएको छ।'
त्यस्तै, एयरलाइन्सहरूले कतिपय गन्तव्यको भाडा पनि बढाएका छन्। यतीबेला काठमाडौं-विराटनगरको एकतर्फी भाडा नौ हजार ९०० सय रूपैयाँ छ। अन्य समयमा यो गन्तव्यको लागि पाँच हजार ७०० रूपैयाँ थियो।
काठमाडौं-भद्रपुरको एकतर्फी भाडा यतीबेला १२ हजार २५५ रूपैयाँ छ। सामान्य अवस्थामा यो गन्तव्यका लागि ६ हजार ४०० रूपैयाँ पर्छ।
यो भाडा एयरलाइन्सहरूले राखेको अधिकतम भाडा हो। यसलाई एयरलाइन्सले भाडादर बढाएको भन्न नमिल्ने बुद्धका सञ्चार संयोजक कर्ण बताउँछन्। उनका अनुसार वायुसेवा कम्पनीहरूले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाअनुसार नै टिकट तयार गर्छन्। यसका लागि न्यूनतम र अधिकतम भाडा तोकिएको छ।
'यो बेला मात्र होइन तत्काल टिकट लिँदा जुनसुकै समयमा पनि भाडा अलि महँगो नै हुन्छ,' उनले भने, 'एक साताअघि टिकट लिँदा र आजको आजै लिँदा मूल्यमा फरक हुन्छ यती त यात्रुले पनि बुझ्न पर्यो नि।’
राजमार्ग अवरूद्धले यात्रा अन्योलता बनाएसँगै अहिले हवाई यात्रु बढेका छन्। दसैंका लागि अब २० प्रतिशत टिकट मात्र बाँकी रहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्।
यसमध्ये पनि सस्तो भाडाका टिकटहरू बिक्री भइसकेको र अब अधिकतम मूल्यका टिकट लिनुपर्ने उनले बताए।
'एयरलाइन्सहरूमा सधैं अग्रीम बुकिङ खुला हुन्छ। जसले अगाडि टिकट लिन्छ उसले न्यूनतम मूल्यका टिकट पाउँछ,' बर्तौलाले सेतोपाटीसँग भने, 'सस्तो मूल्यको टिकट सकिसकेपछि अधिकतममा बढी भाडा तिरेर यात्रा गर्नुपर्ने हुन्छ।'
आइतबार बिहानदेखि एयरलाइन्सहरूले भाडा बढाएको भन्दै सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्। तर यो अन्तर्राष्ट्रिय नियम भएकाले यसलाई वायुसेवा कम्पनीले भाडा बढाएको भन्न नमिल्ने उनको भनाइ छ।
'हामीकहा मात्र होइन अन्तर्राष्ट्रिय उडानमा पनि यही नियम छ,' उनी भन्छन्, 'यसैकारण त हामीले सधैं अग्रीम बुकिङ राखेका छौं १० दिनअघि टिकट लिएकाहरूले आजको दिनमा पनि सस्तो भाडामा यात्रा गरिरहेकै छन्।'
दसैंका बेला बाहिरिने यात्रुको चाप बढी हुन्छ। फर्कने बेला जहाजहरू रित्तै फर्कनुपर्ने अवस्था हुन्छ। जहाजहरूको सञ्चालन खर्च उठाउनका लागि पनि केही महँगो पर्न सक्ने उनले बताए।