पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्।
गत सोमबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट उम्मेदवार पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटालाई हराएका थिए।
पाण्डेले ५८० मत ल्याएर निर्वाचित हुँदा सापकोटाले जम्मा ४८० मतमात्रै पाए। टानको निर्वाचनमा एक हजारभन्दा बढी मतदाता थिए। माओवादी पक्षधर पाण्डेले नेपाली कांग्रेस-नेकपा (एमाले) का साझा उम्मेदवार एमालेनिकट सापकोटालाई हराएपछि यो विषय हिजोआज चर्चामा छ।
संघीय संसदका दुई ठूला दल कांग्रेस र एमालेले गत असार १७ मा ७ बुँदे सहमति गर्दै संघदेखि प्रदेशसम्म सरकार बनाएका छन्। माओवादी संघ र प्रदेशहरूमा प्रमुख प्रतिपक्षमा पुगेको छ।
यस्तो अवस्थामा भएको निर्वाचनमा पनि आफ्नो पार्टी पक्षधरले टानमा जित हासिल गरेकोमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि खुसी व्यक्त गरेका छन्।
‘तपाईंहरूको अथक मेहनत र जुझारू एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दह्रो जबाफ भएको छ,’ कांग्रेस-एमालेप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले फेसबुकमा पोस्ट गरेका छन्।
टानमा कसरी माओवादी पक्षधर पाण्डे निर्वाचित भए? कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार सापकोटाले किन हारे? यसका केही कारण सतहमा आएका छन्।
टानमा कांग्रेस-एमालेनिकटको गठबन्धन पहिलेकै निरन्तरता हो। २०७९ मा भएको टानको निर्वाचनमा पनि कांग्रेस-एमालेले गठबन्धन गरेका थिए। त्यसबेला कांग्रेसनिकट नीलहरि बास्तोला अध्यक्षका उम्मेदवार थिए, उनले जिते पनि। त्यसैबेला अर्को निर्वाचनमा एमालेलाई अध्यक्ष छाड्ने सहमति थियो। त्यसैले यसपालि टान अध्यक्षमा एमालेनिकट सापकोटा उम्मेदवार बनेका हुन्।
सापकोटालाई कांग्रेस-एमाले निकटले साझा उम्मेदवार बनाएपछि कांग्रेसनिकट टानका केही मतदाता बिच्किएका थिए।
निर्वाचनको अन्तिम समयमा टानमा दलीय राजनीति हाबी भएको व्यवसायीहरू पनि स्वीकार गर्छन्।
‘कांग्रेस र एमालेनिकट उम्मेदवारहरू बढी प्रचारमा देखिए। यसले गर्दा पनि मतदाताहरू अर्को समूहमा बाँडिएको देखियो,' निर्वाचन प्रचारप्रसारलाई नजिकबाट नियालेका एक व्यवसायीले सेतोपाटीसँग भने, ‘निवर्तमान अध्यक्षबाट पनि हुन सक्ने सहयोग मिलेको देखिएन। सुनियोजित ढंगले नै सापकोटालाई हराइएको देखिन्छ।'
टानको यसअघिको निर्वाचनमा कांग्रेस-एमाले र नेकपा (एकीकृत समाजवादी) पक्षधर एकै ठाउँमा उभिँदा जित हासिल गर्न सहज बनेको उनले बताए।
‘त्यसबेला माओवादीनिकट अध्यक्षका उम्मेदवार कमल सापकोटा हार्नुभएको थियो। कांग्रेस-एमाले-एकीकृत समाजवादीनिकटको सहयोगमा साझा उम्मेदवार बनेका नीलहरि बास्तोला समूहले जितेको थियो,’ ती व्यवसायीले भने, ‘यसपालि टानमा नौलो दृश्य देखियो, राजनीति हाबी भयो। नसोचेको परिणाम आयो।’
अध्यक्षमा निर्वाचित पाण्डेलाई एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत पक्षधर व्यवसायीहरूले सहयोग गरेको ती व्यवसायी दाबी गर्छन्।
तर टानको निर्वाचनलाई राजनीतिक रङ र पार्टीगत कुरा मिसाउन नहुनेमा जोड दिन्छन्, अध्यक्षमा निर्वाचित पाण्डे।
‘संघसंस्थाका निर्वाचनमा दलीय राजनीति घुसाउन हुन्न,’ अध्यक्ष पाण्डेले सेतोपाटीसँग भने, ‘व्यवसायीहरूको संस्थामा व्यवसायीहरूले नै आफ्नो नेतृत्व चयन गर्छन्, यसो हुँदा व्यवसायीका समस्या समाधान गर्न पनि सहज हुन्छ।’
उनले व्यवसायमा राजनीति घुसाउने नभई व्यवसायीका हकहितका लागि टानले काम गर्नुपर्नेमा जोड दिए।
उनले संक्षिप्तमा चुनावी विश्लेषण पनि सुनाएका छन्।
अध्यक्ष पाण्डेका अनुसार प्रतिस्पर्धामा उत्रिएकाहरूमा केही दम्भ भने देखिन्थ्यो।
‘उहाँहरूले हाम्रै सरकार छ भन्नेजसरी दम्भ देखाउनुभयो, हामी नै जित्छौं, काम गर्न सक्छौं भन्ने उहाँहरूको मुख्य दाबी थियो,’ अध्यक्ष पाण्डेले भने, ‘त्यसलाई हामीले चिर्न सक्यौं, सफल पनि भइयो। स्वार्थरहित हिसाबले काम गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका थियौं, मतदाताले हामीलाई विश्वास गर्नुभयो।’
उनले आफूले काखापाखा नगरी व्यवसायीको हकहितमा काम गर्ने बताएका छन्।
अध्यक्षमा निर्वाचित पाण्डे तीन दशकदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। उनी गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङका हुन्।
पाण्डेसँग महासचिव भएर काम गरेको अनुभव पनि छ। ९ वर्षअघि अध्यक्षमा पराजित भएका उनलाई यसपालि मतदाताले रूचाए।
उनले पर्यटन क्षेत्रमा धेरै कुरा सुधारको आवश्यकता रहेको बताएका छन्। ‘सुधारका लागि सक्षम नेतृत्व चाहिन्थ्यो, टिम पनि उस्तै हुनुपर्थ्यो,’ उनले भने, ‘यसैले पनि होला मतदाताहरूले हामीलाई रूचाउनुभयो, नेतृत्वमा पुर्याउनुभयो।’
उनले दुई वर्षे कार्यकालमा गर्न सक्ने जति काम गर्न आफ्नो टिम लागिपर्ने बताए।
पाण्डे नेतृ्तवको टिममा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले निर्वाचित भएका छन्।
सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, महिला सदस्यमा पवित्रा तामाङ निर्वाचित भएका हुन्। खुला सदस्यमा छाप्ते लामा शेर्पा, राजु गुरूङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा, विनोदकुमार तामाङ निर्वाचित भएका थिए।
एमाले-माओवादी गठबन्धन हारेको थियो विगतमा
२०७६ भदौमा टानको निर्वाचन भएको थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा सरकारका बेला टानमा नेकपा पक्षधरका उम्मेदवार अञ्जनकुमार थापा हारेका थिए।
त्यसबेला नेपाली कांग्रेस पक्षधरभन्दा करिब चार सय बढी मत भए पनि नेकपा उम्मेदवार थापा हारेका थिए। यो निर्वाचनमा कांग्रेसनिकट खुमबहादुर सुवेदीसहित कार्यसमितिमा अधिकांशले जितेका थिए।
त्यसबेला बलियो नेकपानिकट उम्मेदवार नै चुनाव हारेपछि अन्तरघात भएको भन्दै माओवादीले छानबिन गर्ने प्रतिबद्धतासमेत जनाएको थियो।