आर्थिक विकासले गति लिन थालेसँगै विदेशी मुद्रा भित्र्याउन श्रीलंकाले पर्यटनलाई औजरका रूपमा उपयोग गर्न थालेको छ।
दक्षिण एसियाली मुलुकहरूमध्ये खर्चालु पर्यटकका लागि गन्तव्य मानिने श्रीलंकाले यतिबेला पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्याकेज/कार्यक्रमहरू ल्याइरहेको छ।
श्रीलंकाले आगामी असोज १५(अक्टोबर १) देखि नेपालसहित ३६ मुलुकलाई पर्यटन भिसा शुल्क नि:शुल्क गरिदिएको छ।
श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नाण्डोले केही दिनअघि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै पर्यटकको भिसा शुल्क नलाग्ने निर्णय सुनाएका थिए।
सन् २०२४ मा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्नका लागि निःशुल्क भिसाको रणनीति ल्याएको हो। श्रीलंकामा सन् २०२४ को जुलाइसम्ममा १३ लाख पर्यटकले भ्रमण गरिसकेका छन्।
श्रीलंका पर्यटन विभाग प्राधिकरणका अनुसार पछिल्लो समय श्रीलंकामा मासिक डेढ लाख हाराहारीमा पर्यटक भित्रिएका छन्।
दुई वर्षअघि आर्थिक रूपमा श्रीलंका टाट पल्टियो। त्यसअघि सन् २०१८ को तथ्यांक हेर्ने हो भने एकै वर्ष २३ लाख ३३ हजार ६९६ पर्यटक भित्रिएका थिए। अघिल्लो वर्ष सन् २०२३ मा श्रीलंका भ्रमणका लागि जाने पर्यटकको संख्या घटेर १४ लाख ८७ हजारमा झर्यो।
पर्यटनलाई आर्थिक विकासको बलियो खम्बा बनाएर अघि बढ्नका लागि अहिले श्रीलंकाले ३५ मुलुकका पर्यटनलाई भिसा नि:शुल्क गरिदिएको हो।
यतिबेला पर्यटन क्षेत्र सुधारसँगै पर्यटक आकर्षणका लागि विभिन्न प्याकेजसँगै श्रीलंकाको रिब्रान्डिङमा लागेको छ।
श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले ४५ वर्षदेखि ५९ राष्ट्रका ११३ गन्तव्यहरूमा सीधा तथा नेटवर्किङ उडान गर्दै आइरहेको छ।
देशको एकमात्र व्यावसायिक उड्डयन कम्पनी भएको श्रीलंकन एयरलाइन्सले विगत ३ वर्षदेखि काठमाडौं-कोलम्बो सीधा उडान गर्दै आइरहेको छ।
एयरलाइन्सले हाल आइतबारदेखि शुक्रबारसम्म साताको पाँच उडान गरिरहेको छ।
नेपालका लागि कन्ट्री म्यानेजर निलिना पाथिरनाले नेपाली पर्यटकका लागि श्रीलंका नजिकको र सस्तो गन्तव्य हुने बताए।
उनका अनुसार यात्रुको माग आएमा उडान संख्या पनि बढाउने एयरलाइन्सको तयारी छ।
'नेपालीहरूको खर्च गर्ने क्षमता बढिरहेको छ। भ्रमणका लागि माल्दिभ्स, मलेसिया, थाइल्यान्ड, दुबई, इन्डोनेसिया गइरहेका छन्। श्रीलंका पनि उपयुक्त गन्तव्य हुन सक्छ,' पाथिरना भन्छन्, 'करिब ३५ प्रतिशतसम्म कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने पर्यटन क्षेत्रले अहिले करिब ५ प्रतिशत योगदान दिँदै आएको छ।'
अहिले काठमाडौं-कोलम्बो गन्तव्यमा यात्रु अकुपेन्सी पनि बढेको नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका म्यानेजर दीपक मैनालीले सेतोपाटीलाई बताए।
उनका अनुसार हाल काठमाडौं-कोलम्बोमा ९५ प्रतिशत अकुपेन्सी छ। त्यस्तै कोलम्बो-काठमाडौंका लागि ६० प्रतिशत हाराहारीमा अकुपेन्सी रहेको उनले बताए।
'चाडपर्व सुरू हुन लागेसँगै नेपाल फर्कने यात्रु अकुपेन्सी शत प्रतिशत नै छ,' उनले सेतोपाटीसँग भने, 'त्यस्तै अनराइभल भिसाले गर्दा अक्टोबरदेखिको बुकिङ पनि राम्रो छ। छिट्टै उडान संख्या थप्ने तयारीमा छौं।'
उनकाअनुसार श्रीलंका, ७० प्रतिशतभन्दा बढी बौद्धमार्गी जनसंख्या भएको देश हो। त्यस्तै दोस्रो स्थानमा हिन्दु धर्मावलम्बीको बाहुल्यता छ। श्रीलंकन नागरिकलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनी र पशुपतिनाथ दर्शनमा आकर्षित गर्न श्रीलंका सरकार आफैं प्रवर्द्धनको काम गरिरहेको मैनाली बताउँछन्। त्यस्तै नेपालीहरू लंकाको दरबार, समुन्द्र र टेम्पल अफ टुथ लगायतका स्थानहरू घुम्नका लागि पुग्ने गरेका छन्।
'हामीले दुबै देशबाट नागरिक जोड्न खोजिरहेका छौं,' उनी भन्छन्, 'यसले दुवै देशलाई फाइदा पुग्छ। दुबै मुलुकको अर्थतन्त्र बलियो हुन्छ।'
उनका अनुसार श्रीलंका अहिले नेपाली पर्यटक भित्र्याउन आतुर छ। पर्यटन क्षेत्र चलायमान बनाउनका लागि हाल विभिन्न प्याकेजहरू बनाइएको उनी बताउँछन्।
नेपाली पर्यटकलाई आकर्षित गर्नका लागि प्रतिव्यक्ति करिब ९० हजार नेपाली रूपैयाँको ४ रात ५ दिनको प्याकेज प्रभावकारी हुने उनी बताउँछन्।
काठमाडौं–कोलम्बोका लागि बनाइएको यो प्याकेजमा श्रीलंकन एयरलाइन्सको दुईतर्फी टिकट, घुम्न, खाना र बस्नको व्यवस्था गरिएको छ। श्रीलंकाको अन्य भागमा जाने हो भने पर्यटकको आवश्यकताअनुसार समय र खर्च थपघट गर्न सकिने उनले बताए।