गत बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्यो। क्याप्टेन अरूण मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भयो।
घटनाको विस्तृत अध्ययनका लागि सरकारले छानबिन समिति गठन गरेको छ। अध्ययन प्रतिवेदन आउन बाँकी नै छ। नागरिक उड्डयन प्राधिकरणले भने उडान नियमअनुसार हेलिकप्टर नचलेकाले दुर्घटना भएको अनुमान गरेको छ।
'भिजुअल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको देखिन्छ,' प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा भनेका थिए, 'हाम्रो प्रारम्भिक अनुसन्धानले भिएफआर उल्लंघन गरेकाले दुर्घटना भएको देखाएको छ। विस्तृत त छानिबन आयोगले नै बताउला।’
प्राधिकरणले भनेको उडानको नियम के हो त? हामीले यसबारे प्राधिकरणलाई नै सोधेका छौं।
सामान्यतया विमानस्थलहरूमा जहाज/हेलिकप्टर दुई प्रणालीमा उडान/अवतरण हुन्छन्; भिएफआर (भिजुअल फ्लाइट रूल) र आइएफआर (इन्सट्रुमेन्ट फ्लाइट रूल)।
यी दुई नियमको प्रमुख फरक भनेको, भिएफआर अन्तर्गत पाइलटले आफै ककपिटबाट अगाडि हेरेर उडान/अवतरण नियमन गर्छन् भने आइएफआरमा यन्त्रको सहायताबाट नियमन हुन्छ।
हाल काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, विराटनगर, चन्द्रगढी, पोखरा लगायत १० वटा विमानस्थलमा आइएफआर प्रणालीबाट उडान भइरहेको छ। अन्य विमानस्थलमा भिएफआर प्रणालीबाट उडान भइरहेको छ।
भिएफआरमा पाइलटले ककपिटमा बसेर आँखाले हेर्दै विमान/हेलिकप्टर उडाउनुपर्ने भएकाले भिजिबिलिटी महत्त्वपूर्ण मानिन्छ।
यस्तो उडानका लागि पाँच किलोमिटरभन्दा बढीको भिजिबिलिटी चाहिन्छ। अर्थात् कम्तीमा पाँच किलोमिटर दुरी प्रस्ट देखिने हुनुपर्छ।
यति मापदण्ड नभएको अवस्थामा भिएफआर उडान हुँदैन।
त्यस्तै दायाँ र बायाँको भाग कुहिरोबाट कम्तीमा एक हजार पाँच सय किलोमिटर टाढा हुनुपर्छ। तल र माथि भने तीन सय मिटर टाढा हुनुपर्छ।
हामीकहाँ उडिरहेका हेलिकप्टरहरू भने सबैले भिएफआर उडान गरिरहेका छन्। आइएफआर उडान जहाजहरूले मात्र गर्छन्।
यसकारण खराब मौसम, भिजिबिलिटी कम भएको बेला र रातको समयमा हेलिकप्टर उडान हुँदैन।
उडान क्रममा भिजिबिलिटी कम भयो, तीन सय मिटरसम्म पनि पाइलटले देख्न सकेनन् भने हेलिकप्टर फर्काउनुपर्छ।
फर्किन नसकेको अवस्थामा खाली जमिन हेरेर आकस्मिक अवतरण गर्नुपर्छ।
यो भिएफआरको नियम हो।
'यो आधारभूत नियम हो। यो पालना नगर्दा दुर्घटना जोखिम बढ्छ,' प्राधिकरणका एक इञ्जिनियरले भने, 'हेलिकप्टर बादलमा हराउने यस्तै बेलामा हो।'
आइएफआर उडान भने यन्त्र र उपकरणको माध्यमबाट हुने भएकाले थोरै भिजिबिलिटी भए पुग्छ।
आइएफआर अन्तर्गत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय मिटर भिजिबिलिटीमा साना जहाज उड्न पाउँछन्। एक हजार ६ सय भिजिबिलिटी हुँदा त ठूला जहाज नै उड्छन्।
भिएफआर उडान हुने ठाउँमा पनि दिँउसो मौसम खराब भएमा, भिजिबिलिटी कम भएमा वा रातको समयमा आइएफआर उडान नै गर्नुपर्छ।
'आइएफआरमा उपकरणले काम गर्ने हुँदा जहाज/हेलिकप्टर बादलभित्र पस्दा पनि समस्या आउँदैन,' प्राधिकरणका ती कर्मचारीले भने।
तर हामीकहाँ हेलिकप्टर भिएफआरबाट मात्र उडान भइरहेकाले ससानो कुरामा पनि विशेष ध्यान दिनुपर्ने उनले बताए।
प्राधिकरण महानिर्देशक अधिकारीले बिहीबारको बैठकमा भनेअनुसार, भिएफआर नियम नमानेर बादलभित्र वा आँखाले नदेखेको ठाउँमा हेलिकप्टर छिराउनु प्रतिबन्धित हो। भिएफआरले तोकेका नियम उल्लंघन गर्दा सुरक्षामा चुनौती हुन्छ।