बुधबार बिहान त्रिभुवन विमानस्थलमा पोखरा उडेको सौर्य एयरको नाइनएन- एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटना भयो। उक्त जहाजमा पाइलट र को-पाइलट सहित १९ जना सवार थिए।
जसमध्ये १८ जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पाइलट मनीष शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
सौर्यको उक्त उडान बिहान १०:०५ बजेको थियो। तर उडान डिले भएपछि ११:११ बजे उडेको थियो। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वमा दुर्घटना भएको विमानस्थल कार्यालयले जनाएको छ। दुर्घटना भएको उक्त जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको थियो।
तर जहाजमा सवारमध्ये सबै सौर्यका प्राविधक मात्र नभएको पाइएको छ। दुर्घटनामा मृत्यु भएकामध्ये परिवार पनि परेका छन्।
एयरलाइन्सका प्राविधिक मनुराज शर्मासँगै उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्मा पनि थिए।
एयरलाइन्सले सबैलाई ‘फ्री फ्लाइट’मा लगेको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार फ्री फ्लाइटमा उक्त उडानका लागि आवश्यक प्राविधिक कर्मचारी मात्र जान पाउने नियम छ। यस्तो उडानमा पाइलट, को-पाइलट र प्राविधिक कर्मचारी जान पाउँछन्।
‘जो त्यहाँ गएर जहाज मर्मतमा प्रत्यक्ष संलग्न हुन्छन् उनीहरू मात्र जान पाउँछन्,’ सूचना अधिकारी भुलले भने, 'नियमअनुसार पनि यस्तो उडानमा अन्य यात्रुका लागि टिकट काट्न मिल्दैन।'
तर सौर्यको जहाजमा कर्मचारीका परिवारका सदस्यहरू कसरी गए भन्नेबारे एयरलाइन्सले अनुसन्धान गर्नेछ।
साथै उनीहरूको बीमा के गर्ने भन्नेबारे पनि सम्बन्धित एयरलाइन्सले नै निर्णय गर्ने प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्।
'सामान्यतया फ्री फ्लाइटमा जाने कर्मचारीको बीमा गरिएको हुन्छ,' उनले थप भने, 'यसमा परिवार पनि भएको भएकाले अब सम्बन्धित वायुसेवाले अध्ययन गरेर निर्णय गर्नेछ।'