सरकारले वैशाख १ गतेबाट काठमाडौंको पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग चौबीसै घन्टा खुला गर्यो। सबै व्यवसायलाई समेटेर यो व्यवस्था ल्याए पनि हालसम्म कार्यान्वयन भएको छैन।
अहिले पनि ठमेल र दरबारमार्गका सबैजसो व्यवसाय पुरानै समयमा खुल्छन् र उही समयमा बन्द हुन्छन्। चौबीसै घन्टा बजार खोल्न पाउँदा पनि यहाँ रात्रिकालीन व्यवसाय छैन। चहलपहल छैन। व्यवसायीहरूमा उत्साह पनि देखिँदैन।
हामीले यसबारे व्यवसायीहरूसँग कुराकानी गर्यौं।
ठमेलमा २२ वर्षदेखि पस्मिना व्यवसाय गर्दै आएका भरत कायस्थले बार र क्लब धेरै भएको यो क्षेत्रमा रातभरि व्यवसाय खोल्न सहज नभएको बताए।
'यसले त झन् झैझगडा र चोरी जस्ता विकृति बढ्छ,' उनले भने, 'त्यसमाथि अहिले दिनमै त व्यापार छैन, रातमा को आउँछ किनमेल गर्न र पसल खोल्नु?'
पर्यटकीय याममा व्यापार केही बढे पनि अरू बेला सुस्त भएको कायस्थले बताए। कोरोनापछि ठमेलको व्यापार पहिलेजसरी उक्सिन नसकेको उनी बताउँछन्।
त्यसैले उनी अहिले पनि पहिलेझैं बिहान ९ बजे पसल खोल्छन् र रातको ९ बजे बन्द गर्छन्। रातभर सबै व्यवसाय खोल्ने कुरामा उनी सहमत पनि छैनन्।
ठमेल पर्यटन विकास परिषद र सरकारले यसरी चौबीसै घन्टा खुलाउने निर्णय गर्दा व्यवसायीहरूसँग छलफल नगरेको उनले बताए।
'केही व्यवसायसँग छलफल भयो होला तर त्यसमा सबै सहभागी थिएनन्,' कायस्थले थप भने, 'यो हाम्रो माग पनि होइन।'
अर्की व्यवसायी शान्ति अर्याल पनि सरकारले अध्ययन नै नगरी यस्तो निर्णय गरेको बताउँछिन्।
'ठमेलमा राति मादक पदार्थ पिउने र हल्ला गर्दै हिँड्नेहरूको समूह हुन्छ। बाटोमा हिँड्न त डर लाग्छ। सरकारले केही नबुझी व्यवसाय खोल्ने निर्णय गरिदियो,' शान्तिले भनिन्।
रातभरि व्यवसाय खुल्ने भनेपछि त्यहीअनुसार सुरक्षा व्यवस्था हुनुपर्ने उनको भनाइ छ। सुरक्षाका नाममा ठमेलका केही सडक र गल्लीमा सिसिटिभी क्यामरा मात्र जडान गरिएको तर यसले विकृति कम नगरेको उनले बताइन्।
'नेपालमा रात्रिकालीन व्यवसाय (होटल, पब, क्लब लगायत) बाहेक अरू कुनै पनि व्यवसाय राति खोल्ने व्यवस्था थिएन। यो पहिलो प्रयास हो,' अर्यालले भनिन्, 'तर अध्ययन नगरी यस्तो निर्णय गरेर कहाँ चल्छ? कुनै पसल राति खुल्दैनन्।'
राति व्यवसाय नखुल्नुमा सुरक्षा व्यवस्था चुस्त नहुनु नै पहिलो कारण भएको उनी बताउँछिन्।
कतिपय व्यवसायीले सिजनका बेला राति अबेरसम्म पसल खोल्दा उसैलाई जोखिम हुने उनले बताइन्।
'केही भइहाल्यो भने वरपरका प्रहरी प्रशासनले पनि सहयोग गर्दैनन्। सुरक्षाको ग्यारेन्टी नभइ कसरी पसल खोल्नु,' उनले भनिन्, 'यो व्यवस्था हाम्रा लागि होइन। डान्सबार र क्लबहरूलाई हो।'
यो व्यवस्थाले होटल, रेस्टुरेन्ट, क्लब जस्ता रात्रिकालीन व्यवसायी भने उत्साहित छन्।
'यो व्यवस्थाले धेरै आनन्द भएको छ,' ठेमलस्थित फ्याट डक ग्रिल र वाइन रूफटपका सञ्चालक राज खनालले भने, 'पहिले ढिलो हुनासाथ सुरक्षाकर्मी आएर बन्द गर्न दबाब दिन्थे। अहिले जति बेलासम्म पनि खोल्न पाइएको छ। रातको समयमा होटल आइपुग्ने पर्यटकलाई पनि सहज भएको छ। अरू देशमा पर्यटकीय केन्द्रहरूमा यत्तिको सहजता हुन्छ। हामीले ढिलो गर्यौं तर राम्रो व्यवस्था भयो। पर्यटकका लागि पनि राम्रो सन्देश पुगेको छ।'
नाइट क्लब एलओडी (लड अफ द ड्रिंक्स) का निर्देशक भुपेन कुँवर पनि अहिले स्वतन्त्र भएर क्लब चलाउन पाएको बताउँछन्।
'बन्द गर्न कसैको दबाब छैन,' उनले भने, 'हामीले चाहेको पनि यही थियो।'
सोचेजस्तो व्यवसाय भने नभएको उनी बताउँछन्। चौबीसै घन्टा व्यवसाय चलाउन दिने भएपछि व्यवसाय बढ्ला र कर्मचारी थप्नुपर्ला भन्ने अपेक्षा उनको थियो। अहिलेसम्म अपेक्षाअनुसार नभएको उनी बताउँछन्।
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले सबै कुरा प्रभावकारी रूपमा कार्यान्वयन हुन समय लाग्ने बताए।
व्यवसायीले आफ्नो व्यवसाय खोल्न चाहेको अवस्थामा जति बेलासम्म पनि खोल्न पाउनुपर्छ भनेर यो व्यवस्था ल्याइएको उनले बताए।
व्यवस्थापनको पाटोमा काम गरिरहेको र प्रभावकारी ढंगले सबै व्यवसाय चल्न अझै ६ महिनादेखि एक वर्ष लाग्ने उनको भनाइ छ। नेपालमा रातको समयमा किनमेल गर्ने बानी नभएकाले पनि तत्काल यो प्रभावकारी नदेखिएको उनले बताए।
'अहिले राति चल्ने व्यवसायहरू राम्रो चलेका छन्। बिस्तारै अरू व्यवसाय पनि चल्छन् भन्ने आशा छ,' शर्माले भने, 'यसका लागि के गर्न सकिन्छ हेरेर, व्यवसायीको माग सम्बोधन गर्दै परिषदले गर्न सक्ने सबै गर्नेछ। अर्को एक वर्षमा सबै व्यवसायीले रातभर व्यवसाय गर्ने वातावरण बनिसक्छ।'
दरबारमार्गमा पनि व्यवसायीले पुरानै समय अनुसार व्यवसाय चलाइरहेका छन्। सरकारले चौबीसै घन्टा खुला गर्ने व्यवस्था गरे पनि राति सुनसान हुँदा यो व्यवस्था तत्काल सम्भव नरहेको दरबारमार्गका व्यवसायीको भनाइ छ।