थाइल्यान्डको बैंककदेखि काठमाडौंसम्म टुरिस्ट बस सञ्चालनको तयारी थालिएको छ।
नेपाल टुरिस्ट बस एसोसिएसनले सडकमार्ग हुँदै नेपाल आउन चाहने पर्यटकलाई लक्षित गर्दै बैंकक-म्यानमार-भारत-काठमाडौं बस चलाउने तयारीसहित अघि बढेको हो।
यसका लागि एसोसिएसनले बैंककमा सबैजसो पर्यटन व्यवसायीसँग छलफल गरिसकेको छ। सबैतिरबाट सकारात्मक प्रतिक्रिया लिएपछि सडक सञ्जालमार्फत अन्तर्देशलाई जोड्न थालिएको एसोसिएसनका अध्यक्ष कृष्ण आचार्यले बताए।
'हामीले सडकमार्फत अन्तरदेश जोड्नलाई एक वर्षदेखि कोसिस गरिरहेका छौं। निजीक्षेत्र र दूतावाससँग पटक-पटक छलफल भइसकेको छ,' उनले सेतोपाटीसँग भने, 'सरकारले कुटनीतिक पहल गरिदिने हो भने छिट्टै बस गुड्छन्।'
यो रूटमा टुरिस्ट बस गुडेपछि सडकमार्ग हुँदै दुई देश जोड्ने यो पहिलो गन्तव्य हुनेछ। हालसम्म नेपालबाट बाह्य मुलुक जोड्ने सडकको विस्तार भएको छैन। जसकारण पनि यो गन्तव्य सडकमार्फत नेपाल आउन चाहने पर्यटकको आकर्षणमा पर्ने अध्यक्ष आचार्यले बताए।
उनकाअनुसार बैंकक-काठमाडौंको दुरी करिब चार हजार किलोमिटर रहनेछ।
बैंकक-म्यानमार-भारत हुँदै नेपालको काँकडभिट्टा नाका प्रवेश हुनेछ। यहाँसम्मको दुरी तीन हजार तीन सय ७५ किलोमिटर रहेको उनी बताउँछन्। काँकडभिट्टाबाट चार सय ५० किलोमिटर दुरीमा काठमाडौं आइपुगिनेछ।
'बाहिरको हाइवे राम्रो भएकाले बैंककबाट करिब २५ देखि २८ घन्टामा काँकडभिट्टा आइपुगिन्छ,' उनले थप भने, 'काँकडभिट्टाबाट काठमाडौं आइपुग्न केही समय लाग्ला। समग्रमा हेर्दा यो यात्राका लागि दुई दिनको समय लाग्नेछ।'
बस सञ्चालनका लागि भारत र बैंककतर्फ कुनै समस्या नरहेको उनले बताए। तर, म्यानमारमा आन्तरिक कारणले केही जटिलता देखिएको बताउँदै उनले भने, 'यसका लागि सरकारको पहल भयो भने छिट्टै यो रूटमा बस गुड्छन्।'
अन्तर्देशीय सडकमा गुड्ने गाडी नयाँ र सुविधा सम्पन्न हुने अध्यक्ष आचार्यले बताए। एक देशबाट अर्को देशमा सडक सञ्जाल जोड्दा दुबै देशको बराबरी अपनत्व हुने गरी पहिलो चरणमा दुई/दुई वटा नयाँ बस चल्नेछन्। यी बसहरू भोल्भो, मर्सिडिजलगायत लक्जरी हुनेछन्।
लामो दुरीमा यात्रा गर्ने र पर्यटकलाई लक्षित गरिने यी बसहरूमा अत्याधुनिक सेवा सुविधा हुन्छन्।
'पर्यटक लक्षित यी बसहरू नयाँ मोडलका लक्जरी हुनेछन्। जहाँ इन्डोर सर्भिसहरू पाउन सकिन्छ,' उनले भने, 'यात्रा लामो हुने भएकाले पर्यटकलाई थकाइको अनुभुति हुन दिनु भएन।'
यसरी अन्तर्देशीय सडक सञ्जाललाई जोड्न सकेमा पर्यटक भित्र्याउन पनि ठूलो सहयोग पुग्ने उनी बताउँछन्।
पछिल्लो समय हवाइ भाडादर महँगिदै गएको छ। नेपाल भ्रमणमा पर्यटकका लागि हवाइ उडानबाहेक अन्य विकल्प छैन। यो अवस्थामा सडक सञ्जाललाई जोड्दा सरकारको लक्ष्यभन्दा बढी पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।
हाल थाइल्यान्डबाट मासिक पाँचदेखि १० हजार पर्यटक र भारतबाट मासिक ४० देखि ५० हजार पर्यटक भ्रमणमा आउने गरेका छन्। उनका अनुसार सडक जोडिन तीनै मुलुकबाट भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुनेछ।
सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। साथै सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटक दशकका रूपमा घोषणा गरेको छ। सन् २०३२ सम्म पुग्दा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको कार्य योजना छ।
'यी मुलुकहरूमा सडक सञ्जाल जोडिन साथ १६ लाख होइन २० लाखबढी पर्यटक भित्र्याउन सकिन्छ,' अध्यक्ष आचार्यले भने, 'सजिलै यात्रा गर्न हवाईको विकल्पमा धेरै पर्यटकले सडक रोज्नेछन्।'
एसोसिएसनले एक वर्षअघिदेखि अन्तर्देशीय सडक सञ्जालको सम्भाव्यता अध्ययन थालेको थियो। सोही अध्ययनले सम्भव देखाएपछि एसोसिएसनले पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा बसमार्फत जोड्न लागेको हो।
सरकारले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा 'अन्तर्देशीय रोड कनेक्टिभिटी' लाई प्राथमिकता दिने बताएको थियो। यसले थप राहत मिलेको र चाँडै यी रूटलाई जोड्दै टुरिस्ट बस गुड्ने अध्यक्ष आचार्यले बताए।