अचेल अर्गानिक र नेपाली मौलिक स्वादका परिकार खोज्नेहरू थुप्रै हुन्छन्। अझ काठमाडौं उपत्यकामा बस्नेहरू जो थोरै फुर्सद लिएर खानपिनमा रमाउन चाहन्छन्, यस्तै ठाउँको खोजी गर्छन्।
मानिसहरूको यस्तै चाहना बुझेर विष्णुप्रसाद सापकोटाले भक्तपुरको पलाँसेमा खोलेका छन् 'दाउरा चुलो'।
यो रेस्टुरेन्ट काठमाडौंबाट करिब बीस किलोमिटर दुरीमा छ। नामजस्तै दाउरा चुलोको संरचनामा ग्रामीण शैली झल्किन्छ। बाँस र स्टिलको संयोजनमा संरचना बनेको छ। बाहिरपट्टि गाउँघरमा हुनेजस्तै माटोको चुलो छ। यसको डिजाइन विष्णुले नै गरेका हुन्।
'रेस्टुरेन्टले खुवाउने विशेष परिकार यही चुलोमा दाउरा बालेर पाक्छन्। त्यसैले यहाँको स्वाद अर्गानिक छ,' विष्णुले भने, 'दाउरा चुलोको मुख्य आकर्षण नै मौलिक नेपाली स्वादको खाना हो।'
पाहुना आकर्षित गर्न उनले मेनुमा प्रिमियम र स्पेसल खानाको सेट भनेर राखेका छन्।
प्रिमियम खाना 'थाली सेट' हो जसको एक हजार रूपैयाँ पर्छ। यसमा दाल, भात, तरकारी, खसीको पक्कु, लोकल कुखुराको पक्कु, फिस (माछा) फ्राई र कालिज करी (तरकारी) हुन्छ।
स्पेसल खाना ढिँडो सेट एक हजार दुई सय रूपैयाँ पर्छ।
'थाली सेट र ढिँडो सेट यहाँका विशेष परिकार हुन्। मासु र फापरको ढिँडो ग्राहकको रोजाइमा पर्छ,' विष्णुले भने।
सामान्य खाना सेट भने तीन सय रूपैयाँबाट सुरू हुन्छ। यसमा दाल, भातसँगै माछा, खसीको मासु, कालिज र लोकल कुखुराको मासु पाइन्छ। सस्तो र मिठो हुने भएकाले यो सेट पनि धेरैको रोजाइमा रहेको उनले बताए।
खाजामा कालिज, बँदेल, लोकल भाले र खसी-बोकाको मासुको परिकार पाइन्छ। बँदेलको परिकार सात थरीको तयार हुन्छ; सेकुवा, पोलेको, पोलेर साँधेको, तास, बोइल्ड, तावा र फ्राई। कालिजको पक्कु र करी पाइन्छ। त्यस्तै लोकल भालेको मासु पोलेको, पोलेर साँधेको, सेकुवा, पक्कु, करी र पांग्रा पाइन्छ। हाँसको छोइला र ट्राउट माछा पनि छ।
'यहाँ राजमार्गमा यात्रा गर्नेहरू आउनुहुन्छ,' विष्णुले भने, 'दिनभर बसेर विभिन्न परिकार खाँदै रमाउनकै लागि पनि धेरै ग्राहक आउनुहुन्छ।'
काभ्रेको मण्डन देउपुरका स्थायी बासिन्दा उनले पनौती र साँगामा कालिज र कुखुरा पालेका छन्। त्यहीँबाट रेस्टुरेन्टमा ल्याउँछन्, बाहिर बेच्छन् पनि। खसी र बोका भने बजार र गाउँबाट किन्छन्। सागसब्जी स्थानीय एक कृषि फार्मबाट ल्याउँछन्।
दाउरा चुलो रेस्टुरेन्ट र कुखुरा-कालिज फार्म उनले 'पलाँसे एग्रो टुरिजम' नामको कम्पनी अन्तर्गत चलाएका छन्। दुवैतिर गरी हाल १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
रेस्टुरेन्ट सुरू गर्नुअघि विष्णु विदेशमा उच्च शिक्षा पढ्न जान चाहने विद्यार्थीका लागि कन्सल्टेन्सी कम्पनी चलाउँथे। विशेषगरी बेलायत पठाउने उनको कन्सल्टेन्सीको व्यवसाय ठिकै चलेको थियो।
उनका अनुसार २०६५ सालतिर बेलायत सरकारले एकैपटक पाँच सयभन्दा बढी क्याम्पस बन्द गरिदियो। त्यसबाट व्यवसायमा असर पर्यो। केही पैसा पनि डुब्यो। त्यसपछि उनी कन्सल्टेन्सी छोडेर रेस्टुरेन्ट व्यवसायमा लागे।
'स्वदेशमा व्यवसाय गर्छु, थोरै भए पनि रोजगारी सिर्जना गर्छु भन्ने सोचले रेस्टुरेन्टतिर मोडिएँ,' उनले भने, 'केही अनुभव थिएन तर पर्यटनलाई कृषिसँग जोडेर रेस्टुरेन्ट चलाउने सोचले अघि बढेँ।'
आठ वर्षअघि उनले काठमाडौंको चाबहिलमा 'दाउरा चुलो' खोले। सहरवासीलाई दाउराको चुलोमा पकाएको अर्गानिक स्वाद खुवाउने उद्देश्य थियो। काम सुरू भयो तर सहरमा दाउरा बाल्दा धुवाँको समस्या भयो। कालिज र कुखुरा पाल्ने ठाउँ पनि पाएनन्। त्यही कारण थोरै समयमै उनले त्यो रेस्टुरेन्ट बेचे।
अर्को ठाउँ खोज्दै जाँदा काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिर जाने रूटको पलाँसे उनलाई उपयुक्त लाग्यो। उनले कोरोना महामारीकै समयमा काम अघि बढाए।
'रेस्टुरेन्ट सुरू गर्न दुई करोड १५ लाख रूपैयाँ लगानी पर्यो,' उनले भने, 'मेरा साथी लक्ष्मण कुइँकेलको पनि लगानी छ।'
यसरी पलाँसेमा २०७८ असोजमा दाउरा चुलो खुलेको हो। दुई रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा दुई तलाको संरचना छ। एक पटकमा १५० जनाले सेवा पाउन सक्छन्। पार्किङ र ससाना कार्यक्रमका लागि हल पनि छ। क्याम्प फायर गर्ने र बालबालिका खेल्न पाउने सुविधा छ।
सुरू गरेको करिब तीन वर्षमा दाउरा चुलो धेरैको रोजाइमा परेको विष्णुको भनाइ छ। सुकुटे, नमोबुद्ध, पलाञ्चोक भगवती, डोलेश्वर, आशापुरी र कैलाशनाथ (शिवमन्दिर) घुमेर आउनेका लागि र काठमाडौंबाट बाहिर जानेहरूका लागि खाजा र खाना खाने गन्तव्य बनेको उनी बताउँछन्।
'अहिले त यहीँ खाना-खाजा खान मात्र आउनेहरू पनि धेरै हुनुहुन्छ,' विष्णुले भने, 'यो रेस्टुरेन्टले छोटो समयमै खुसी दिएको छ।'
उनले अब दाउरा चुलो बिपी राजमार्गको खुर्कोट आसपासमा विस्तार गर्ने सोचेका छन्।
'कृषिलाई पर्यटनसँग जोडेर आफ्नो उत्पादन आफै खपत गर्ने मेरो ध्येय हो। भविष्यमा तारे होटलसम्म पुग्ने लक्ष्य छ,' विष्णुले भने।