यतिबेला देशभर गर्मी बढेको छ। काठमाडौंमा शनिबार हालसम्मकै उच्च तापक्रम थियो।
काठमाडौंवासीहरू गर्मी छल्न होटल तथा रेस्टुरेन्टका स्वीमिङ पुलसँगै पानीका स्रोततिर पुग्न थालेका छन्। काठमाडौं आसपास सफा नदी र खोला त छैनन्, तर साना झरना छन् जसले शरीर र आँखा दुबैलाई शितलता दिन्छन्।
हामीले यहाँ त्यस्तै केही ठाउँबारे जानकारी दिएका छौं जहाँ प्रकृतिसँग रमाउँदै पानीको मजा लिन सकिन्छ। काठमाडौंबाट नजिकै रहेका यी ठाउँ एक दिनमै पुगेर फर्किन वा बास बस्ने गरी जान सकिन्छ।
रानी झरना/टुडी झरना
काठमाडौंबाट २५ किलोमिटर दुरीमा रहेको नगरकोटको रानी झरना पछिल्लो समय युवापुस्ताको रोजाइमा छ। काठमाडौंबाट भक्तपुर हुँदै कमलविनायक र नगरकोट जाने बाटोमा पर्छ यो ठाउँ। मुख्य सडकबाट झन्डै आधा घन्टाको पैदल यात्रामा रानी दह/झरना पुगिन्छ।
यहाँ गर्मीमा मात्र होइन, अरू बेला पनि शनिबार धेरै भिडभाड हुन्छ। भक्तपुरका केही क्षेत्रमा यहीको पानी प्रशोधन गरेर लैजाने भएकाले नगरपालिकाले अहिले यो झरनामा पौडिन निषेध गरेको छ। तर पानी खेल्दै फोटो र भिडिओ खिच्न पाइन्छ।
यही यात्राको अर्को आकर्षण हो टुडी झरना। यो झरना नगरकोटस्थित जलपादेवी मन्दिरबाट केही पर छ।
तीनधारे झरना
तीनधारे झरनालाई अचेल बाहुबली झरना पनि भन्न थालिएको छ। काभ्रेको रोशी नगरपालिकास्थित काफलडाँडामा रहेको तीनधारे झरना कोभिडयता लोकप्रिय भएको हो। यो काठमाडौंबाट ६५ किलोमिटर टाढा छ। काठमाडौंबाट काफलडाँडासम्म सार्वजनिक यातायातमा जान सकिन्छ। त्यसपछि हिँडेर जानुपर्छ।
निजी सवारी साधनमा जाने हो भने झरना नजिकैसम्म पुगिन्छ। रात बस्ने हो भने पनि आसपासमा होमस्टेहरू छन्।
मोहिनी झरना
काठमाडौंबाट ५० किलोमिटर दुरीमा रहेको अर्को झरना हो मोहिनी।
काठमाडौंबाट कुलेखानीसम्म सार्वजनिक यातायातमा जान सकिन्छ। त्यहाँबाट करिब एक घन्टाको पैदल यात्रामा मोहिनी झरना पुगिन्छ। प्राकृतिक झरनाको रमाइलोसँगै रात बस्नेका लागि क्याम्पिङको सुविधा छ।
मोहिनी झरना जाँदा कुलेखानी ड्याममा बोटिङ र मोटरबोटको मज्जा पनि लिन सकिन्छ।
फुङफुङ झरना
काठमाडौंबाट २८ किलोमिटर दुरीमा छ फुङफुङ झरना। नुवाकोटमा रहेको फुङफुङ झरना जान माछापोखरीबाट सार्वजनिक यातायात पाइन्छ। आफ्नै गाडी भए रानीपौवाबाट हिँड्नुपर्छ।
फुङफुङ झरना पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रविन्दु बनेको छ। यही झरनामा अघिल्लो वर्ष क्यानोनिङ गाइड तालिम पनि दिइएको थियो।
तीनतले झरना
तीनतले झरना बेथानचोकको च्याम्राङबेशीमा पर्छ। काठमाडौंबाट करिब ५५ किलोमिटर पार गरेपछि यो झरना पुगिन्छ।
सुन्दरीजल झरना
काठमाडौंको सुन्दरीजल हाइकिङका लागि प्रसिद्ध छ। काठमाडौंबाट १५ किलोमिटर दुरीमा रहेको सुन्दरीजल शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि हो। हरिया जंगल, पानीको मुहान र झरना सुन्दरीजलको आकर्षण हुन्।