भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन्।
दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरूआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताए।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए।
उनकाअनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन्। उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुविधा देखिएको बताए।
दाहालकाअनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन्। यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ।
मन्त्री दाहालकाअनुसार डाइभिङ लाइसेन्सको समस्या हल भएको छ।
उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताए।
अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उनको भनाइ छ।
मन्त्री दाहालले भने, ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन्। उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन्। यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रूपमा करिडोरलाई विकास गर्दछौं। जसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ। संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं।’
अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने उनले बताए।
साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उनको भनाइ छ। मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरूसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको उनले बताए। —न्युज एजेन्सी नेपाल