बहुप्रतिक्षित प्रतिस्पर्धात्मक पाककला रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ को निर्देशकमा अमन प्रताप अधिकारी अनुबन्धित भएको धर्म पिक्चर्सले जानकारी दिएको छ।
उनले रियालिटी शो हिमालय रोडिज, को बन्छ करोडपति?, ऐना, कृपा अनप्लगड लगायतका शो सफलतापूर्वक निर्देशन गरिसकेका छन्।
उनले पोएट आइडल नामक विश्वकै पहिलो कवितात्मक रियालिटी शोको निर्माण तथा निर्देशन गरेका छन्।
निर्देशक अधिकारीले निर्देशन पाककला रियालिटी शोमार्फत् नेपाली खाना तथा पाककलाको परम्पराको आधुनिकीकरण हुने अपेक्षा गरिएको छ।
शोमा अधिकारीको आबद्धताले शोको गुणस्तर वृद्धि हुने विश्वास लिइएको छ।
नेपालको पहिलो व्यावसायिक शेफहरूको पाककला प्रतियोगिताले परम्परागत एवं आधुनिकतालाई प्रतिनिधित्व गर्ने कुशल शेफ चयन गरिनेछ।
यो रिटालिटी शो आगामी सेप्टेम्बरमा छाँयाकन सुरू हुनेछ भने अक्टोबरदेखि प्रसारण सुरू हुनेछ।
डिजिटल वालेट खल्ती यस शो को रजिष्ट्रेसन तथा भोटिङ पार्टनरको रूपमा आबद्ध भएको पनि शेफ नेपालले घोषणा गरेको छ।
अब खल्ती एपबाट पनि सहभागी हुनका लागी आवेदन दिन सकिने छ। आवेदन जुन महिनाको अन्त्यसम्मका लागि खुला राखिएको छ।
विशेष गरी डेमी शेफ दि पार्टि (DCDP) भन्दा माथिका शेफहरु सहभागी हुन सक्ने छन्।
कमर्सियल किचनमा ५ वर्षभन्दा बढी समय काम गरेको अनुभव अनिवार्य गरिएको छ। खल्ती एप नभएको खण्डमा शेफ नेपालको वेबसाइट www.chefnepal.com मार्फत पनि आवेदन दिन सकिने छ।
प्रतियोगिताका लागि १०० शेफहरूको आवेदन लिइनेछ। हालसम्म १३ देशमा प्रोफेसनल शेफका रूपमा स्थापित ५० भन्दा बढी आवेदन छनोट भइसकेका छन्।